Skip to content

मुस्कानको बढोत्तरी (लघु निबन्ध)


गाउँघरमा लुम्रे नामले चिनिएको ऊ कमलो मनको छ । भरदिन सहरमा पसिना बेच्छ । दिन सिद्धिनासाथ घर फर्कन्छ । पत्नीले दिएको रुखोसुखो खान्छ । विस्तरामा पल्टन्छ । गरिबीले पोल्न थाल्छ । विचारहरू युद्धमैदानमा उत्रन्छन् । शरीर झन भारी हुन्छ । मन अस्थिर हुन्छ । कहिल्यै अघाउँजी जीवन नभोगी वित्ने हो कि भन्ने त्रासले तर्सन्छ । निक्कै बेरको गलफतीपश्चात् मन स्थिर बनाउँछ । र, सुनसान रातलाई अँगालो हालेर आनन्दमा डुब्छ ।

भालेको डाकोसँगै उठ्छ । घरायसी कामकाज फस्र्यौट गर्छ । त्यसपछि भने सहर पुग्ने रीतिलाई पुनरावृत्ति दिन्छ । तलब पाएको दिन चाहिेँ थोरै मुस्कुराउँछ । गरम पकेट छाम्दै छाप्रोभित्र छिर्छ । उसकी पत्नी पनि फिस्स हाँस्छिन् ।

बच्चाहरूको मुहारमा समेत हरियाली नाच्न थाल्छ ।

लुम्रे साथीहरूको साथको प्यारो छ । यदाकदा मुस्कान बढोत्तरीमा ऊ मधुशाला पुग्छ । त्यहाँ पुग्दा जिम्मेवारी भूल्दै जान्छ । पहिला साथीहरूको पकेट रित्तिदै जान्छ । पछि ऊ स्वय म रित्तिन्छ । बेसुरपन बढ्दै जान्छ । उधारो थपिँदै जान्छ । साहुनी टाढिँदै जान्छे । रात छिप्पिँदै जाँदा ऊ सटर बन्द गर्छे र आफ्नो निवासस्थानतर्फ लम्कन्छे ।

लुम्रे पनि हल्लिँदै र लर्बरिँदै घर पुग्छ । पत्नीले सातो लिन्छिन् । ऊ विल्कुलै डग्दैन । युद्धमैदानको दुर्योधनको रूपमा खरोसाथ उभिन्छ । भिडन्त केही बेर चल्छ । जोईपोइको महाभारतले निष्कर्ष नपाउँदै थिलथिलो शरीरलाई निद्रादेवीको शरणमा त्यसै छाडिदिन्छ । भोलिपल्ट ब्यूँझँदा उठ्नै नसक्ने गरी शरीर दुखेको भेट्छ ।

ऊ लाजले घोसे मुन्टो लगाएको लगाई गर्छ । श्रीमती चेतावनीको आवाज निकाल्छिन्–“यस पटकलाई केही भन्दिनँ । फेरि ठाडो घाँटी लगाउने हो भने चाहिँ म छाडेर माइत हिँड्छु ।” ऊ आँखाले नै जवाफ फर्काउँछ–“प्यारी ! मलाई अँझ लज्जित नपार । कान पक्रेँ । मुस्कान बढोत्तरीको खेलमा म अब कहिल्यै लाग्दै लाग्दिनँ ।”

शिक्षक मासिक २०७२ चैत

नन्दलाल आचार्य
तपेश्वरी–१, उदयपुर ।
हाल : श्रीमहावीर मावि, विषहरिया–४, सप्तरी ।

1 thought on “मुस्कानको बढोत्तरी (लघु निबन्ध)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *