Skip to content


आज मलाई अलिकति आफ्नै बारेमा बोल्न मन लाग्यो । र, बोलेँ ………………….

नातावाद, कृपावाद र चाकडीवादको अगाडि निष्ठावाद, इमान्दारवाद र कर्तव्यपरायणवादको केही जोर नचल्ने रहेछ । यसको सिकार म आफै भएको छु ।

२०३८ कार्तिकमा सरकारी सेवामा प्रवेश गरेर करिव १७ वर्ष गृह मन्त्रालय अन्तरगत, करिव २ वर्ष स्वास्थ्य अन्तरगत र हाल निर्वाचन आयोग अन्तरगत १५ औँ बर्ष चलिरहेको छ । यिनै निकायहरुमा मेरो जीवनका महत्वपूर्ण ३४ बसन्त पार भएका छन् । । कमाउ अड्डाहरू पनि हुन्छन् भन्छन् तर आफूलाई कहिल्यै थाहा भएन ।

सुगम र घर पायक कहिल्यै बस्न पाइएन । बढुवाको पालो पनि कहिल्यै आएन । पालो आउनै लाग्दा सधै रमाना बुझियो । दुर्गमको जागिर र अफिसको कार्यबोझले शैक्षिक उन्नति गर्न सकिएन । २४ घ नआइदिएको भए सुव्वा मै रिटायर्ड हुनुपर्थ्यो ।

३४ वर्षको जागिरे जीवनमा देशका हुम्ला जुम्ला जस्ता अति कठिन दुर्गम हिमाली र यस्तै पहाडी जिल्लामा दोहोरीएर तेहेरिएर खट्नु पर्‍यो । बिदेश भ्रमणमा आफूभन्दा पछिका अति कनिष्ठ सहकर्मीहरूले समेत ४/५ पटकसम्म पालो पाउँदा आफूले एक पटक पनि पाइएन । नजिकैको भारत पनि आफ्नो लागि अष्ट्रेलिया र अमेरिका जत्तिकै भयो । भरखरै जागिर सुरु गरेका साथीहरूले बिदेश भ्रमणमा खिचेका फोटोहरूले फेसबुकका वालहरू भरे ।

अहिलेसम्म निर्वाचन सम्बन्धी अभिमुखिकरण तालिमहरू बाहेक अरु गतिला तालिमको लागि मनोनयनमा परिएन । ३४ वर्षको जागिरे जीवनमा कहिल्यै पुरस्कार र पदकको सिफारिसमा परिएन बरु २०६२ को नगर निर्वाचन २०६४ को हिन्दू मुस्लिम दंगा जस्ता जोखिमको बेला कपिलवस्तु र टीकापुर(कैलाली)मा खटाइयो ।

धन्य हो बिधाता! उच्च ओहदामा पुगेका व्यक्तिहरु विवेकी, दूरदर्शी र समदर्शी हुन्छन् भन्ने सुनेको थिएँ तर ति सव बेकारका फाल्तु कुरा मात्र सावित भए । प्रोत्साहित गर्ने र हौस्याउने काम कुनै हाकिमबाट भएन । सधै कठिन र जोखिमसँग आत्मसात गर्नु पर्ने गरी निर्देशित गरियो । अरु त अरु घरपायक र सुगमको जागिर चाख्‍नै पाइएन ।

यी सबै पीडाहरू हुनुको पछाडि केही कारणहरू छन् । ती हुन्-

१ आफूलाई तोकिएको जिम्मेवारी प्रति समर्पित भएर लाग्नु तर भ्रष्ट हुन नसक्नु
२ कसैको चाकडी गर्न नजानु
३ कुनै पनि उच्च -ओहदामा आफ्नो नाता सम्बन्ध भित्रको मान्छे नहुनु
४ कहिल्यै कसैलाई कुनै किसिमको जिन्सी नगदी नजराना नचढाउनु
५ कुनै पनि राजनीतिक दलको कार्यकर्ता बन्न नसक्नु

मेरो यो कथा पढ्ने सबै मित्रहरूलाई मेरो के सुझाव छ भने तपाईहरू म जस्तो मुर्ख नहुनु होला । स्वाभिमानले मात्र केही नहुँदो रहेछ । जागिरमा उन्नति प्रगति पदक पुरस्कार चाहने हो भने चाकडी गर्नै पर्ने रहेछ । भ्रष्ट हुनै पर्ने रहेछ (नत्र हाकिमले नजराना कहाँबाट पाउछन् ?) नजराना टक्र्याउनै पर्ने रहेछ । राजनीतिक दलको खाँटी कार्यकर्ता बन्नै पर्ने रहेछ, अनि गोरु बेचेको साइनो खोजेरै भएपनि उच्च ओहदाका अधिकारीको भाइ भतिजो भान्जो वा सालो हुनै पर्ने रहेछ । म जस्तो निम्छरो जतिसुकै निख्खरा भएपनि व्यर्थ रहेछ । समय छँदै होस पुर्‍याउनु होला । आजलाई यत्तिमात्र बोलेँ । बाँकी फेरि ।

8 thoughts on “आफ्नै कथा”

  1. हाम्रो समाजको दुर्भाग्य नै
    हाम्रो समाजको दुर्भाग्य नै यस्तो छ । तर एउटा कुरा चाहिं ‘उनी’हरूले गर्न नसक्ने कुरा गर्नसक्नुभएको छ । छाती फुलाएर, सगौरव माथिका अनुच्छेदहरू लेखी सबैको अगाडि खुल्ला देखिन सक्नुभएको छ । हैन र? मूख्य कुरा त, आफूले चाहे जसरी र स्वाभिमानीपूर्वक बाँच्न सकियो कि सकिएन भनेर आफैंले आफैंलाई मूल्याङ्कन गर्न सक्नु नै त हो नि, हैन ?

    1. गोपीलाल कँडेल

      सतिले सरापेको देश ।
      स्वाभिमानी र देशभक्त काजी भिम मल्ललाई अपराधी घोषित गरी मृत्युदण्ड दिँदा उनकी धर्म पत्‍नीले ” नेपाल दरवारमा कसैको पनि विवेक नरहोस्” भनेर श्राप दिई सति गएकी थिईन् रे । त्यसैले यो देशको दरवारलाई सतिको श्राप परेको छ र त्यहाँका शासक प्रशासकहरु विवेक शुन्य हुन्छन् । अविवेकीहरुबाट अरु के नै आशा गर्न सकिन्छ र ?

  2. गोपीलाल कँडेल

    दुर्भाग्य
    स्वाभिमानी र देशभक्त काजी भिम मल्ललाई अपराधी घोषित गरी मृत्युदण्ड दिँदा उनकी धर्म पत्‍नीले ” नेपाल दरवारमा कसैको पनि विवेक नरहोस्” भनेर श्राप दिई सति गएकी थिईन् रे । त्यसैले यो देशको दरवारलाई सतिको श्राप परेको छ र त्यहाँका शासक प्रशासकहरु विवेक शुन्य हुन्छन् । अविवेकीहरुबाट अरु के नै आशा गर्न सकिन्छ र ?

  3. Man6e po galat ta !
    Des ta anupam 6.
    Des chalaune po kharab ta !
    Bibekko ta kami chhaina khali naitikata mareko 6

  4. कडेलजीको गोहीको आसु मात्र हो
    कडेलजीको गोहीको आसु मात्र हो । निर्वाचनमै मस्त कमाएपछि किन कमाउ ठाउमा जानु परो र । सुब्बा हुदै सोर्स र फोर्स लगाएर अधिकृतलाई धपाउने र उनि भएको ठाउमा आउनै नदिएर कामु हाकिम भएर बसेका उनी । यिनको फुर्ति कमको हुन्छ र आफूलाइ मन्त्रालयको सचिव भन्दा कम ठान्दैनन् उनी । २४ घ समायोजन भयो रोजेर सोर्स लगाएर फेरि निर्वाचनकै हाकिम हुन पुगे उनी । निर्वाचन आयोगले मतदाता परिचयपत्र बनाउन प्रयो गरेको ल्यापटप ससुराली लगायत कति आफन्तलाइ फटाउन लगाएर पुराना भएपछि ल्याएर बुझाए । पुरस्कार दिनुपर्ने रे ? मुखियाबाट सुरु गरेको जागीर अधिकृत भइएको छ नपढीकन पानि बढुवाबाट त्यस भन्दा ठूलो पुरस्कार के दिनु राज्यले ।

    1. अस्वस्थ प्रतिक्रिया र पूर्वाग्रह ।
      तपाई जो भए पनि मलाई चिन्नुहुँदो रहेछ । सायद सरकारी कारिन्दो नै हुनुहुन्छ होला । तर आफ्नो परिचय नै लुकाएर यस्तो तथ्यहिन र निराधार प्रतिकृया दिनुको कुनै औचित्य देखिएन । तथ्यमा आधारित र यथार्थ प्रतिकृया, खण्डन, आलोचना र सुझावलाई सबैले स्वागत गर्ने गर्छन् । स्वस्थ प्रतिक्रियाको निम्ति लुक्नु पर्दैन, यसले पूर्वाग्रहीको आभास दिएको छ । खानोस, खुवाउनोस्, चाकडी गर्नोस् मेरो कुनै बिरोध अवरोध छैन । तर यस्तो बिरोधको निम्ति बिरोध गर्नेहरु प्रति मेरो कुनै भन्नु छैन । धन्यबाद ।

  5. गोपीलालजीको निर्भिकता स्तुत्य
    गोपीलालजीको निर्भिकता स्तुत्य छ। भ्रष्ट माैलाउने र सज्जन बहुलाउन बाध्य पारिने देश सायद सति श्रापित भएरै होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *