आम्दानी घटेको छ । महंगीले आकाश पाताल एक पारेको छ । भूकम्पले आम्दानी सुकायो । आम्दानीमै लागेको नाकाबन्दीले खर्च मात्र बढ्ने गरायो । जीवन नै उकुसमुकुस पारेको छ । दु:ख वारि ल्याएको छ । सुख जति नदी पारि तारेको छ ।
प्यारी ! घरदेखि टाढा डेरा थापेको छु । आजका कोपिला र भोलिका मुलुकका मेरुदण्डलाई बलियो बनाउन जुटेको छु । यसैबेला डेराको मूल्य थपिएको छ । पानीको भाउ बढेको छ । बिजुलीको दररेट समेत थपिँदै गएको छ । हातमा सुको पर्न चार–चार महिना कुर्नुपर्ने वाध्यता भोग्नुपरेको छ ।
यस्तो विषम परिस्थितिमा तिम्रो आगमन त्रासदी खेल बन्छ । यो पनि चाहियो र त्यो पनि भए हुन्थ्यो भन्ने मागको थुप्रो लाग्ने भय हुन्छ । तिम्रो अनुपस्थिति अँझ कहालीलाग्दो भइदिन्छ । जुनसुकै दिन मागको लामो फेहरिस्त प्रस्तुत हुने त्रास जिउँदै रहन्छ ।
कर्म क्षेत्रभन्दा बढी ध्यान गृहक्षेत्रमा अल्झन्छ । यसबाट नैतिक भ्रष्टाचारमा स्वय म फँसेको भान हुन्छ । तिम्रो हरेक बोलीको दाम चुकाउन गाह्रो भएको छ । तिम्रो मनस्थितिलाई सन्तुष्ट पार्दापार्दै जागिरे जीवनको अनुशासन धरापमा परेको छ ।
प्यारी ! कहिलेकाहीँ मेरो स्थानमा उभिएर हेर त ! चाराना कमाएर बाराना खर्च कसरी गर्ने ? भुँइमा पर्नै नपाएको तिम्रो बोलीलाई कसरी हरतरहले उत्तीर्ण गराउने ?
शिक्षक मासिक २०७२ चैत
नन्दलाल आचार्य
तपेश्वरी–१, उदयपुर ।
हाल : श्रीमहावीर मावि, विषहरिया–४, सप्तरी ।
मो नं. ९८४२८२९२०६
