म अहिले शून्यतामा, रिक्ततामा, असाधारण अभावमा, भौतिक कुरा छोडौं मानसिक कुराको समेत अतुलनीय खोक्रोपनमा बसिरहेको छु । म बाँचेको नै छु । प्रमाण के भने म अहिले कलम लिएर पाठक समक्ष आइरहेको छु, म खाइरहेछु, बसिरहेछु, सुतिरहेछु, फेरि दिनदिनै ब्युँझिपनि रहेछु । मलाई मसित काम पर्नेदेखि मलाई चिन्नेसम्म मानिसहरू बोलाउने गर्दछन्, कहिलेकाहीँ मसित कुरा पनि गर्दछन्, आवश्यक भए केही लेनदेन पनि गर्छन् । मेरो मान राखिदिन भेट्दा र छुट्टिंदा मलाई अभिवादन पनि गर्छन् । कयैन मानिसहरू, विशेष गरी पत्रपत्रिका र विशेषाङ्क वा ग्रन्थ संग्रहका सम्पादकहरू मलाई कुनै विषयमा लेख रचनाहरू दिन अनुरोध पनि गर्छन् । अनि कतिबेला म ठान्छु, म केही विचार पनि गर्ने गर्छस त्यस्तै पर्दा ती विचारलाई बोलेर वा लेखेर पनि व्यक्त गर्ने गर्छु त्यसैगरी कुनै बेला म कुनै काम पनि गरिरहेको हुन्छु त कहिल्यै कसैले मलाई प्रेम र सद्भावनापूर्वक मैले गर्न सक्ने कुनै सानो ठूलो कामको मद्दत मागेको खण्डमा म आफ्नो सेवा अर्पण गर्न पनि तयार हुन्छु । यसरी म समाजको एउटा अति सामान्य कामकाजी मानिस भएपनि किन होला म बारम्बार शून्यताको बोध गर्ने गर्छु रिक्ततामा हराउँछु, असाधारण अभाव अनुभव गर्दै उजाड उजाड मनस्थितिमा ओर्लन पुग्छु । यता छाम्छु, उता छाम्छु र त्यसको कारण पत्ता लगाई त्यसको निराकरणको उपाय पत्ता लगाउन उत्कट इच्छा राख्छु तर त्यसैबेला मेरो दिमाग पूरै टालिएजस्तो हुन्छ, कुनै कुनै कुरा पनि सुझदैन । हडबडी, आत्मलघुता, किर्ंकर्त्तव्यविमूढता र हतासाले एक्कै पल्ट पाँच तलाको छानोबाट तल सडकमा बजारिउँला झैं हुन्छु । म कसैगरेपनि त्यसको पञ्जाबाट उम्कन पाउन्न । म साँच्चै एक्लो पर्छु मानिसको तीन थुप्रोको बीचमा आफू उभिएको छु भनेपनि मलाई कसैको सहारा प्राप्त हुन्छ जस्तो लाग्दैन । चर्कोसित उठ्दै गरेको घामको अगाडि शीतको थोपाले बाफिनु परेझैं म मनमनै बाफमय बन्छु । म एक शब्द बोल्ने त के कुरा एक अक्षर सोच्न सम्म नसकेर त्यसैत्यसै टोलाएर उभिएको हुन्छु ।
यस्तो मनस्थिति कतिबेला र कसरी आउँछ भन्ने कुरा पनि थाहा हुन्न । जुनबेला पनि आउन सक्छ । मानौ यसले कसैको डर, भर, अनुमति, सामाजिक औपचारिकता, वा प्रेमपूर्ण आदानप्रदान गरेर मात्र मकहाँ आउनु पर्छ भन्ने उसलाई जरुरी लाग्दैन । ऊ म निदाइरहेको बेला पनि मलाई पूरै उर्ठाई आउन सक्छ । अथवा एकान्तमा कोठामा बसेर केही काम गर्ने योजना गर्दागर्दै पनि त्यसको आगमन हुन सक्छ । मानौं त्यो माथि छतबाट पनि मकहाँ पस्न सक्छ र तल छिंडीबाट पनि छेडेर आउन सक्छ । दायाँ बायाँ झयालढोका जुनसुकै ठाउँबाट पनि ऊ आउन सक्छ । खाली मैले तयार मात्र भएर बस्नुपर्छ र म उसमाथि कुनै प्रभाव पार्न सक्दिन । मेरा निम्ति यो एउटा जादू हो र उसको नाटकबाट म उम्कनै पाउन्न । उसले मलाई यसरी नचाएको देख्दा म झन् वाल्ल पर्छु तर ऊ मेरा निम्ति भूत जस्तै त्रासदी बन्छ । मैले मानौं चलहल सम्म पनि गर्नुहुन्न । यसका विरुद्ध सोच्न पनि हुन्न । उसैलाई हर समय सम्झिरहनु पर्छ । मानौं म उसको दास हूँ र मैले चूँसम्म गर्नुपनि ठूलो अपराध हो ।

कुनैबेला जब म उसतिर हेरेर ओच्छ्यानमा चित पर्छु एकदम विचारमा गतिशून्य हुन्छु । म केही सोचविचार गर्न नसकी यसै अत्यन्त गलित अनुभव गरी लुटुक्क निदाउन पनि सक्छु अथवा ठूलो छटपटी परी कुनै उपाय नसुझी शून्यतामा टोलाएर पनि बस्छु । र कुनै बेला जब म कुनै उपाय पाउन्न त्यसबाट पिण्ड छुटाउन भन्छुः ल, तँ मलाई जे जे गर्न मन लाग्छ गर् । तर म चाहिं त्यत्तिकै बसिदिन्छु । म केही केही पनि गर्दै गर्दिन । अनि म एउटा अररो दाउरा जस्तो भएर उभिन्छु वा बस्छु । म केही कुराको पनि मतलवै राख्दिन । त्यसबेला त्यस शून्यताले मलाई यान्त्रिक रूपले जे जे गराउन सक्छ गराउँछ । तर त्यसमा मेरो खुसले कुनै सहभागिता हुन्न, मनले, वचनले र कर्मले पनि । त्यस्तो बेला ऊ मलाई भुत्ल्याउन खोज्छ तर म उसलाई कुनै मतलव नराखी आफ्नै सुरमा हुन्छु र धेरै धेरै बेरसम्म यस अवस्थामा बसेपछि अन्तमा ऊ हार खान्छ र मलाई छोडेर जान्छ । कहाँ जान्छ – के गर्छ – कसरी गर्छ – त्यो पनि म केही जान्दिन । म यतिमात्र जान्दछु, ऊ मलाई उसको इच्छा अनुसार मनमानीपूर्ण व्यवहार गर्नुबाहेक अरु केही गर्न सक्दैन र म त्यसको कुनै कार्यलाई पनि स्वीकार गर्दिन । अनि ऊ आफैं लाचार भएझैं पछिपछि हट्दै एक समयमा म बाट मानौं अन्तरध्यान हुन्छ । अनि म आफूमै आइपुग्छु । म आफूलाई देख्छु, छुन्छु, अनुभव गर्छु म अलिकति चल्न चटपटाउन पनि थाल्छु । यसरी म आफैं बौरिन्छु ।
बौरिनासाथ मलाई आफ्नो दैनिक जीवन र त्यसका कैयन अपरिहार्य कार्यहरूको सम्झना हुन्छ । म बिहान जति सुकै बेला उठुँ म आफ्नो प्रातः कर्म सम्झन्छु र त्यसमा व्यस्त रहन्छु । अनि पछि यसो सम्झनालाई बोलाई छलफल गर्छु आज दिनभरिमा मैले कहाँ कहाँ जानु छ – ककसलाई भेट्नु छ – के कस्ता कामहरू सम्पन्न गर्नु छ – मेरा सबभन्दा प्रमुख कर्तव्यका क्षेत्रहरू कुन कुन हुन् – प्राथमिकताका क्षेत्रहरू के के हुन् – मेरा साधन, स्रोत, शक्ति र सीमाहरू के के हुन् – अनि म क्रमशः ती कार्यहरूमा संलग्न हुन्छु र साँझ घर फर्केपछि पुनः म सान्ध्य कर्ममा लागेर आफ्नो पेट पूजा गर्छु अनि सुत्नु अघि यसको हिसाब किताब गर्छु बिहानदेखि मेरा योजनाहरू के के थिए र अहिले सम्ममा ती के कति पूरा भए र हुन नसकेकाहरूको कारण के हो –
यसै सन्दर्भमा मसित मेरा प्रिय साथीभाइहरूसित भेट हुन्छ र प्रेम र आत्मीयताको साथै केही शिक्षाप्रद प्रेरणाप्रद र जीवनलाई बल प्रदान हुने सोचहरू पनि प्राप्त हुन्छन् । अनि कुनै पनि सानो ठूलो काम गर्ने सिलसिलामा कहिले बुद्धहरूसित भेट हुन्छ त कहिले एकाध दैत्यहरूसित पनि तर अधिकांश त कि बुद्धत्वतिर उक्लँदै गरेकासित आदानप्रदान हुन्छ कि भने कैयन आदतका आधारभूत आवश्यकता पनि पूरा गर्न बाँकी व्यथितजनहरूसित हात मिलाउने काम हुन्छ । एकाध त्यस्ता सज्जनसित पनि भेट हुन्छ जो म जस्तै बारम्बार ठूलो शून्यता, रिक्तता र असाधारण अभावबाट प्रताडित भई रुन मात्र नसकेका हुन्छन् र मसित भेट हुँदा अनायासै आफ्नो बिलौना सुनाउन हतारिएका हुन्छन् ।

जे होस्, यसरी जब म दृष्टि पाउँछु, काम पाउँछु, लक्ष देख्छु र कर्तव्य बोध गर्छ ुत्यसबेला त्यो शून्यता, रिक्तता र अभावबोध मेरा सामु पटक्कै देखा पर्दैन । कहिलेकाहीं त म उ माथि साटो फेर्ने कल्पना गर्छु ऊ अहिले म कहाँ आउँदो हो र मलाइ मदारीले बानरलाई नचाउन खोजेझैं नचाउन खोज्दो हो अनि म पनि एकदुइ कुरा गर्थें । सवाल जवाफ गर्थें, उसलाई पक्रन्थें, र्‍याखर्‍याख्ती पार्ने थिएँ । तर त्यस्तो बेला त ऊ म कहाँ किन आउँथ्यो – मैले आइज भनेपनि नआउने, यसो निम्तो दिन खोजेपनि छलीछली निम्तो पत्रसम्म पनि नबुझने र अनि उसले मलाई यस अघि बेलाबेलामा जति दुःख दियो र मेरो मनको आधारभूत शान्ति नै भङ्ग गरिदियो त्यसको विषयमा उसले के भन्ने – उसले खूव गर्दो हो , भलादमी भएर आत्मआलोचना गर्दो हो र मलाई अनेक मीठामीठा बचनको उपहार दिई मैले केही भन्नै नपाउँदै सुइँकुच्चा ठोक्दो हो ।……तर म आफूसित चाहिं एउटै कुरा सोध्ने गर्छु कुरा त ठीकै हो । त्यसले मलाई हमला नगरेको बेलामा त सबै कुरा सामान्य जस्तै छ, ठीकै छ तर फेरि उसले भोलि पनि हिजोजस्तो गरी हमला गर्दैन भन्ने कुनै ग्यारेण्टी छ – म अहिले पनि ठान्छु त्यसको ग्यारेन्टी त छैन, साँच्चै साँच्चै छैन ।

त्यसो भए फेरि प्रश्न उठ्छ के गर्ने त – भोलि फेरि त्यो शून्यताले त्यसैगरी दुःख दिने गर्‍यो भने के गर्ने – ठीक छ, फेरि पहिलेकै जस्तो लामो दुःख तकलिफ भइसकेपछि मेरो मन ठाउँमा आइदियो भने त ठीकै छ तर आएन भने अथवा आएपछि ती क्षणहरू जब म उसको हमलाबाट आक्रान्त भई एकदम किंकर्त्तव्यविमूढ हुन्छु र झण्डैझण्डै मेरो मानसिक शान्ति नै भङ्ग होला भन्ने सम्मको डर हुन्छ, त्यतिबेलाको ओखती के – तिमीले सुनेका छौ, जानेका छौ, पढेका छौ – कस्तो बेला धैर्य गर्नुपर्छ, जे जस्तो आइपरेपनि हुनसम्म शान्तिभाव लिनुपर्छ, यो एकछिनको हुरी आँधी हो र केही समयपछि यो आफैं कम हुन्छ र हराउँछ, अनि त्रि्रो शक्तिको, आत्मविश्वासको, स्मृतिको उपायको र क्रियाशीलताको उदय हुन्छ, तिमीले स्वतः आस्वस्तता र आनन्दको, भयरहितताको बोध गर्र्छौ । तर मेरो डराएको र त्यसै डरमा लटपटिन बानी परेको मन केही गरे पनि चित्त बुझाउन्न त्यस किसिमको धैर्य र शान्ति लिन सकिन्छ भन्ने कुरामा ।

त्यसैले म ठान्छु, यो एउटा मेरो आधारभूत समस्या हो, कमसेकम यस वर्तमानका निम्ति । अर्थात्, बरोबर मैले हठात् आफ्नो मनको शान्ति, एकाग्रता, कर्तव्यबोध र स्वमार्ग दर्शनबाट स्खलित भैरहनु पर्छ र जबसम्म म त्यसको एक चक्रबाट पार हुन्न तबसम्म मलाई कुनै सुख शान्ति हुन्न । मलाई मैले जतिसुकै सदुपदेश गरेपनि र तैंले यसरी डर मान्नु हुन्न भनेपनि मेरो ढुक्कुरको मुटुजस्तो मन कुनै हालतमा मान्नेवाला छैन । मानौं यस्तो समेत लाग्छः मेरो मन जव त्यसरी हठात् आफ्नो केन्द्रीय स्वयंभू स्थानबाट चिप्लिएर अशान्ति , आपदविपद, अन्यौलको आँधिबेरी र होसै उडाउने उत्पातको फेलापर्छ, ऊ जानी नजानी त्यसैको एक अंश बनी त्यसैमा रमाउन समेत थाल्छ । त्यस रमाइमा अवर्णनीय पीडा छ, प्रताडना छ, सास्ती र सूली छ तर किनकि मेरो मन अर्को मनस्थिति खडा गरी त्यसबाट फुत्किन सक्दैन त्यसैले ऊ त्यसैको स्वाभाविक अंश बनेर घुम्न थाल्छ । त्यस घुमाइमा उसलाई एकातिर रिँगटा छुटीरहेको हुन्छ र अर्कोतिर कतिबेला यस बेदनाबाट मुक्ति पाउँ भन्ने पनि लागिरहेको हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *