Skip to content


२००२ सालमा भरत शमशेर त्रिचन्द्र कलेजमा बीएको तेस्रो वर्षमा पढ्दै थिए । २००७ साल आउन निकै दिन बाँकी थियो । शक्तिशाली कमाण्डिङ् जेनरल बबरशमशेरका नाति भरत उसै बेलादेखि जुझारु स्वभावका थिए । ‘शारदा’मा लेख लेखेर बालकृष्ण, लेखनाथहरू जस्ता हस्तीको भाषालाई गिज्याउने र ‘निरीह’ बोधविक्रम (अधिकारी)को दन्त्यकथाको भाषालाई सर्‍हाउंदै ‘हामी कता -‘ भन्ने लेख लेख्ने ‘विद्रोही’ भैसकेका थिए ।

तिनै भरत समशेरको कलेजको परीक्षाको एउटा कापी मपुपु-मा आई बसेको छ निकै वर्षदेखि । त्यो कापी मपुपु-लाई दिने व्यक्ति, ‘सम’ नभैसकेका, बालकृष्ण समशेर हुन् । त्यस वर्षको बीए तृतीय वर्षको ‘नेपाली’ पत्रको कापी जाँच्ने काम बालकृष्ण समशेरले पाएका रहेछन् । अरू कापी त उनले कलेजमै बुझाए होलान् तर यो एउटा कापी आफैसंग राखेछन् । त्यो किन हो उनै जानुन्, तर अनुमान लगाउन सकिन्छ । उनले भरत समशेरका विचारहरू केही ‘क्रान्तिकारी’ लागेर डाइरेक्टर जनरल साहेब, भरतकै पिता मृगेन्द्र समशेरलाई देखाउन राखेको हुनुपर्छ । राणाकालमा त्यस्तो उर्दी नै हुन्थ्यो- विद्यार्थीहरू ‘क्रान्तिकारी’ विचारका देखिए ‘माथि’ जाहेर गर्नुपर्दथ्यो । यो मेरो अनुमानै हो- समलाई त्यो कापीको विचार अलि क्रान्तिकारी लाग्यो होला भन्ने । भरतशमशेरले भगवान् कृष्णका बारेमा केही कडा कुरा लेखेका देखेर उनलाई ‘डर’ लागेको हुँदो हो । आफैले ‘प्रहृलाद’ नाटकमा हिरण्यकशिपुलाई मार्ने नृसिंहावतार विष्णु नभएर खम्बा ढली किचिएर कशिपु मरेको देखाउंदा श्री ३ को र धर्माधिकार गुरुज्यूहरुको खप्की खाइसकेका थिए बालकृष्ण स्वयमले पनि । त्यसैले जङ्गीलाठ बबर समशेरका नाति भरतसमशेरले (अथवा राणा पारिवारिक नाम पनाति हजूरले) लेखेको त्यस्तो देख्ता उनको सातो गएको हुनुपर्छ । साँच्चै उनले त्यो परीक्षा-कापी मृगेन्द्रशमशेरलाई देखाउने हिम्मत गरे कि गरेनन् मलाई थाहा छैन । २०३२ साल भदौ ३० गते त्यो कापी मपुपु-मा समजीले मलाई जिम्मा दिंदा पनि त्यो कुरा केही भनेका थिएनन् । तर अन्दाज गर्न सकिन्छ त्यो कापी उनले देखाएनन् । उनलाई लाग्यो होला राणाकालको धर्मभीरु परिवेशमा भरतशमशेरको त्यो कृष्ण-विरोधी लेखले प्रचार पाएको भए केही ‘अनर्थ’ नभई रहने थिएन । केही वर्षघि मात्र (चक्रपाणी-पुत्र) लक्ष्मीनन्दन चालिसेले त्यस्तै परीक्षाका कापीमा पृथ्वीनारायण शाहको प्रशंसा गर्दै ‘नामर्द राणाहरू’ लेखेको देखी तर्सेर मृगेन्द्र समशेरलाई देखाउँदा त्यत्रो पहरो गर्जेको उनले बिर्सेका थिएनन् । त्यो कापी मृगेन्द्र समशेरबाट माथि उक्लंदैउक्लदै श्री३ का हजूरमा पुगेर गरीब व्राहमणपुत्र जेल परेका र त्यसैबाट मरेका दृश्य पनि उनले सम्झे होलान् अनि लक्ष्मीनन्दन-काण्ड नदोहरियोस् भनेर बालकृष्ण शमशेरले त्यो कापी सुटुक्क गोप्यै राखे होलान् भन्ने ‘अन्दाज’ गर्न गार्‍हो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *