Skip to content

क्रस फायर: वेब फिक्सन्


मानिस कहिले काँहि पछुताउँछ । आफ्नो कर्तव्यबाट च्युत हुन्छ । जानेर वा नजानेर । त्यसले कसैलाई नराम्रो गरोस् भन्ने मनसाय नभए पनि गल्ती हुन्छ । सफलताको नजिकै पुगेकाहरूलाई सोच्न समय हुन्न । मनमा उठेको पहिलो कामलाई नै पहिलो कर्तव्य सोच्छ । त्यही भयो गएको गृष्ममा ।

हातमा क्यानन्को सि-१०० क्यामेरा बोकेको छु । दाँयाकुममा कुनै फाल्तु कविको जस्तो फाटिनसकेको कपडाको झोला झुण्डाएको छु । त्यसभित्र केही थान नोट बुक, कलम, कण्डमका प्याकेट, ३ ४ चुरोट बाँकी भएको मार्लबोरोको प्याकेट, २ ओटा क्यासेट, र सोध्नु पर्ने प्रश्नको लामो धरो । म त्यही धरो पटक पटक पढ्दै थिएँ ताकि प्रश्न सोध्दा क्रमागत शैली कमसेकम नटुटोस् । म बाहिरबाट हेर्दा अहिले जस्तो देखिए पनि भित्रबाट आफूलाई व्यवसायिक फिल्ममेकर हुँ भन्ने सोच्न सक्छु । म आफनो डकुमेन्ट्री बनाउन निस्किएको हुँ । चाहेर पनि आफैसँग गर्न भुलेका सबै प्रश्नको उत्तर आज म सोध्ने छु । कति अचम्म छ हैन । आफ्नै लागि आफैसँग प्रश्न गर्नु ।

घर अगाडि सुनसान छ । प्रायशः हुने जस्तो । तुलसीको मठ छ तर तुलसीका बिरुवा छरिएका छैनन् । म कहिले नै पुजारी थिएँ र ! नचाहेर केही गर्न सकिन्न् । म धर्मात्मा बन्न सकिन त्यसैले पनि मलाई तुलसीको बेर्ना सार्ने दिन याद रहेन होला । म आत्मज्ञानी बन्न खोज्छु । पिंढी लिपिएको छ । म यस्तो काम गर्न रुचाउन्न थिएँ । कोठा मिलाउने, बिछ्यौना मिलाउने, कम्युटरका फाइलहरूलाई बर्णानुक्रममा राख्ने यी यस्ता काम मबाट सोच्नै सकिन्न थियो । म बदलिएको थिएँ ।

म कोठाभित्र छिर्छु । सधैं जस्तो कोठामा प्रार्थना हुँदैछ । म आफ्नै लागि आफैले प्रार्थना गरिरहेछु आफ्नै फोटोको अगाडि शिर झुकाएर । मैले म आएको देखें । कस्तो टन्टा ! आफैले आफैलाई आफ्नै कोठामा बस्न अनुमतिदिनु पर्ने । म ऊभिरहें । अनुमति बिना आफ्नै दाएर नाघ्नु असोभनीय लाग्यो । मेरो प्रार्थना सकिएपछि मैले आफुलाई बस्ने अनुमति दिएँ । मैले क्यामेरा निकालेर टेबलमा राखें ।

मैले भने – म लामै कुरा गर्छु आफुसँग ।

उसले खपटा परेको गाला सुमसुमायो । सायद हुन्छ भन्न खोजेको होला ।

कोठाको भुमण्डलमा जिज्ञासाहरूले कावा खान थाले । जीवन निकै असामायिक छ । म यस्तो समय देखिरहेको थिएँ कि आफैले आफैसँग इमान्दार बन्न प्रयास गरिरहेको थिएँ । म कुरामा दर्शन मिसाएर बोलिरहेको थिएँ । मेरो रुचिको सबैभन्दा पहिलो प्राथमिकता त्यही हुन्थो । मेरो पहिलो प्रश्न राख्नुभन्दा पहिले उसले भन्यो । तिमी त्यस्ता उत्तेजित प्रश्नहरू गर्ने छैनौ ताकि मैले तिमीलाई कुराको बिचमा उठाएर भगाउनु परोस् । यो उसको शर्त थियो । उसले आफू शतर्क हुँदाहुँदै संसारले आफूलाई मान्यता नदिएको र आफ्नो उपस्थितिलाई एक्लो झैं ठानेको कुरा बाताउँदा म भावुक बनें । म आफैलाई पारङगत सोच्छु त्यस्तै ऊ पनि सोच्छ । घटनाको वास्तविकतामा छिर्नुभन्दा पहिले म ऊसँग हौसला बनाई राख्न यताउतिका कुरा गर्छु । मानौ कुनै व्यवसायिक बेश्याले जस्तो उत्तेजित पारिरहेको थिएँ । ऊ चुरोट सल्काउँछ र ख्याउटे गाला फेरि सुमसुमाउँछ । दाँया गल्लीको छेवमा झुन्डिएको वेल क्नानभासमा भ्रुँडको चित्र छ । गर्भभित्र विकास हुँदै गैरहेको ईमब्रोय । ‘त्यो मेरो चित्र हो । मेरी आमाले मेरो जन्मभन्दा पहिले बनाएकी । त्यति खेर पनि मेरा गाला चिर्पट जस्तै थिए ।’ बिरोलो रोएको आवाज सुनिन्छ ।

ऊ फेरि भन्छ, ‘यो बिरालो त्यत्तिकै अलच्छिनी छ जति मेरी आमा थिइन ।’

एकैछिन कुरा बदलेर ऊ फेरि त्यही कुरामा फर्कन्छ, ‘उनका आँखाहरू डरलाग्दा थिए । पड्किनै थालेका ब्रिटिस ह्यायाण्ड ग्रिनेड जस्ता । तर उनी मलाई प्रेम गर्थिन । उनको धुँवा गन्हाउँने पछ्यौरामा म लुटपुटिएको अँझै सम्झन्छु । म उसको आँखामा फोकल लेन्थलाई पुर्याउँछु । आँशु खस्नै थाले जस्तो ताल जमेको थियो । उसको ओठ थरथराउन थाले । म काँप्छु । ट्राइपोड काँप्छ । फोकल पोइन्ट उसको ओठबाट हटाउँछु । म आफैलाई गर्ने सोचेका प्रश्नहरू म बिर्सन्छु । त्यसमाथि त्यो बिरालो फेरि रुन्छ । ऊ मुड्कीले काठको टेबलमा हात बजार्छ । बिरालो पालीमा हाम फालेर बेपत्ता भाग्छ । घडीको डायलभित्र म घुमिरहेको सुईहरू हेर्छु । मैले आफैसँग आँखा जुधाउने हिम्मत गर्न नचाहेर त्यसो गरेको होला । तर ऊ एकैछिनमा सम्यम देखिन्छ र मुड्की उघार्छ । हत्तकेलाहरू एक अर्कामा रगड्छ । म एकाएक फेरि काँप्न थाल्छु । बिचारहरूको घर्षणबाट मस्तिष्क भतभत पोलिरहेको थियो । नचाहाँदा नचाहँदै मुखबाट फुत्त प्रश्न निस्कियो । मानौं अपरिपक्व स्खलन जस्तो ।

‘समयमा सिद्धान्त लागु हुँदैनन्?’ यो प्रश्न पुर्ननिश्चित थिएन ।

उसले भन्यो, ‘यदि समय निश्चित हुँदो हो त मेरी आमाले पनि समय पाउँथिन बिनम्रता सिक्न ।’ उसले त्यसमै जोड्यो । ‘कति दिन टिक्न सक्छन् र ज्वालामुखी जस्ता आँखाहारु । उनका आँखाहरू फुटे । बाँसघारीमा बाँस पड्किँदा निस्कने आवाजमा विश्वास गर्नै पर्छ । ती आवाज कुनै अ्याटोमिक बमले निकाल्नेभन्दा कम थिएनन् । त्यसदिन उनका असन्तुसष्टिहरू पड्किए । वेदनाहरू पड्किए । सकसहरू पड्किए ।’ यसो भनिरहँदा उसको स्वरमा बिस्तार थपिंदै थियो । मानौं घण्टाघरमा समय-संकेत दिन बेस्मारि घण्टाहरू हल्लिदैँ छन् ।

‘सब खरानी …’ ऊ थच्च चोयाको मेचमा बस्न पुग्यो ।

म क्यामेराको लेन्स कोठा भरि घुमाउँछु ताकि उसले झट्ट सम्हालिने समय पाओस् ।

‘चित्कार पनि गुञ्जन छोड्छ प्रतिध्वनि हुने ठाउँ सकियपछि ।’ उसको आशय जे सुकै होस् तर मैले आफ्नै अनुमान लगाँय र त्यसैसँग क्रमानुसार प्रश्न होस भनेर यस्तो सोधें ।
प्रेममा बेमेल नै हत्याको उपज बन्यो, त्यसो भए ?

यसको जवाफको प्रतिक्षा मैले गरिरहिन र सोधें । ‘त्यसपछि माछा राख्ने टोकरीमा राखेर फ्याकेको सत्य हो ?’

यसको जवाफ उसले भित्तामा झुन्डाएको भ्रुँणपछि माछा टोकरी राखेर देख्यो मानौं हामी सिंहको मुख मिलाउने पज्जल खेल खेल्दै थियौं । यसपटकक मुड्की बजार्ने पालो मेरो थियो । मैले काठको टेबलमा मुड्की बजारें । उसैगरी ट्राइपोडको खुट्टा हल्लियो । मैले क्यामेरा ढल्नुभन्दा पहिले त्यसलाई सम्हाली हालें ।

क्यामेराको भ्यु फाइन्डरमा …..

भर्खरै मिलाएको पज्जलको गर्भिणी सिंहले एउटा बच्चाको जन्म दिएकी छ । उसको समुख्ख म उभिएको छु । एउटा केटा आफ्नै फोटो अगाडि उभिएर प्रार्थना गरिरहेको छ । भुईको माटो रगताम्मे छ र डकुमेन्ट्रीको अन्त्यमा क्रसफायरको आवाज रेकर्ड भएको छ ।

http://writingnepal.com/articles/क्रस-फायर-वेब-फिक्सन्-।-लघु-कथा/966425

Leave a Reply

Your email address will not be published. Required fields are marked *