Skip to content


काम खोज्दै हिँड्ने क्रममा एक युवक शहरको एउटा फर्निचर उधोगमा पुगेछ । उधोगका साहुले उसलाई जंगलका राम्रा र सुरिला रुखहरू काटेर ढलाउने काममा लगाउन राजी भएछन् । त्यसका लागि एउटा बन्चरो युवकको हातमा राखिदिंदै साहुले भनेछन्- एकहप्ता तिम्रो काम हेर्छु, राम्रो काम गर्न सक्यौ भने तिम्रो नोकरी पक्का ।

युवक बन्चरो लिएर जंगल गयो । खुब मेहनत गर्यो र पहिलो दिनमा १२ रुख ढाल्यो । ऊ खुब खुसी भयो । दोस्रो दिन पनि उसले खुब मेहनत गर्यो र ११ रुख ढाल्यो । तेस्रो दिन अँझै मेहनत गर्यो तर दिनभरमा उसले केवल १० वटा मात्र रुख ढाल्न सक्यो । एव म रीतले युवकले मेहनत गर्दै गयो तर हरेक दिन अघिल्लो दिनभन्दा कम रुख ढाल्न सक्यो । सातौँ दिनमा त उसले दिनभरमा एउटा मात्रै रुख ढाल्न सक्यो । हात परेको नोकरी पनि छुट्ने पिरले रन्थनिदै ऊ उधोगका मालिकको अघिल्तिर गयो र दुवै हात जोड्दै भन्यो- माफ पाउँ हजुर, सायद म कमजोर भएछु कि, उत्तिकै मेहनत हरेक दिन गर्दा पनि रुख काट्ने काममा म दिनदिनै असफल हुँदै गएको छु ।

उधोगका मालिकले मुस्कुराउँदै युवकलाई सोधे- के तिमीले यी दिनहरूमा बन्चरोको धार उद्यायौ (तिखार्यौ) ?

म हरेक दिन काम मात्रै गर्न लागें, धार तिख्याउने मौकै मिलेन र त्यता ध्यान पनि गएन- युवकले जवाब दियो ।

हो, गल्ती यहीँ भयो तिम्रो । धेरै काम गर्ने ध्याउन्नमा तिम्ले बन्चरोको धारलाई कहिल्यै ध्यान दिएनौ ।

तिमीले रुख त हेर्यौ बन्चरो कहिल्यै हेरेनौ ।

जीवन पनि यस्तै हो, हरेक पटक सम्बन्धका धारहरूमा पाइन् लगाऊ । अनि मात्र सफल हुनेछौ तिमी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *