कालो दिन अर्थात् बैशाख बाह्रलाई सम्झिएर

BibekDulalChhetri-07


हेर्दा हेर्दै ढल्यो
आस्थाको धरहरा,
च्याप्दा च्याप्दै अड्कियो
बच्चासितै बच्चाको तोतेबोली,
सम्हालिन खोज्दा खोज्दै पानी जस्तै पोखिए
सपनाका मुहान मान्छेहरू ।

प्रत्युतरमा कोलाहल शिवाय केही थिएन
निर्जीवतामा टेकेर मृत्यू एकनाश मुश्कुराइरह्यो
नीरव सन्नटालाई सुम्सुम्याउदै आकाशमा उल्टो जून
उताबाट यता सर्यो, यताबाट उता सर्यो
तर सुल्टो कहिल्यै भएन ।

लेखाजोखा गर्नुको ताकत कसैमा थिएन
अन्योलता, त्रास र भयले बिगुल फुकेर
आँगन, पीडिहरूमा अट्टाहास गरिरहे
महाशुन्यबाट माहा निद्रामा
बालक, बृद्ध, तन्देरी, तरुनी, सुत्केरी, धनी गरीव
आ – आफ्नो जीवनका भिन्न भिन्न पात्रहरू
कहिल्यै नफर्कने बाचा साथ बिदा भए ।

बाचेकालाई गास बास कपास निम्ति पनि
युद्द जित्नुभन्दा कम थिएन
मरेका र जिउदा घाइतेहरूको लशकरको पालो पर्खेर
अस्पताल व्यग्रतामा डुबिरह्यो
अभाव, रोदन र आशु मान्छेको मन भित्र र बाहिर
मुहारमा झुलिरह्यो ।

यो कुनै किम्बदन्ती या सपना थिएन मित्र
यो त थियो प्रकृतिको सबैभन्दा ठुलो क्रुरता
मेरो देशमा आएको कालो दिन
अर्थात् बैशाख बार्ह दुइहजार बहतर को महाभूकम्प।

अस्तु ।

दमक, झापा
हाल, अबुधाबी, यु ए ई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *