‘आयो—आयो’ वचन सुनियो काल जस्तै करायो
सारा मान्छे तन र मनमा त्रासदीले डरायो
आतङ्कैको विरह भविता गर्जना गीत गायो
होशै गुम्यो उथलपुथलै, शत्रु भूकम्प आयो
सातो भाग्यो पर पर कता शान्ति खोस्यो उसैले
लेखाजोखा धन र जनको गर्न सक्ला कसैले ?
यस्तो बेला शमन कसरी गर्नु आत्मा धुएर
बाँच्ने होला भन त कसरी आँसु आँखा रुएर !
आफ्नै कोठा असुरक्षित भो नष्ट छानो खसेर
आफ्नो भन्ने घर त डर भो आड खोज्दै बसेर
कोकोहोलो डगर—बगरै शोक,पीडा, विनाश
कस्तो ठूलो प्रकृति प्रलयै भव्य भत्के विकास
नब्बेभन्दा अँझ गहकिलो, बाबु पैँतालिसैको
हाम्रा बाजे अमर वयका भोग्न पाए व्यथा यो
ह्वात्तै आयो अतिथि जन यो भेष जोगी भएर
स्वात्तै पार्यो धन र जन जो गर्नु गर्यो बिगार
विज्ञानैले खबरै नगरी मस्त आयो कहाली
भूकम्पैले रन र वनमा खेल्नु खेल्यो बयेली
सारा मान्छे विचलित भए घाउ खाटा नबस्ने
भाग्यो टाढा, मन महलमा शान्ति भित्रै नपस्ने ।
रामविक्रम थापा
कृष्णगर्त, खोटाङ (९७५३००४३६०)
