Skip to content


ताराहरूको टहटहले मलाई लोभ्याउँछ
जूनको उज्यालोले मलाई शीतल दिन्छ
त्यसैले ताराको उज्यालोसँगसँगै म युगौंयुग हिंड्न सक्छु
जूनसँगको, तारासँगको अटुट नाता म मन पराउँछु
जून र तारासँगको न्यानो सन्निधिलाई
म धेरै धरै आत्मीयतापूर्वक अँगाल्छु

उज्यालो छेक्ने बादललाई म पटक्कै देखी सहन्न
अँध्यारोको साम्राज्य म स्वीकार्नै सक्तीन
असन्तुष्टि व्यक्त गर्छु
लाठो उज्याउँछु
गर्छु म निरन्तर बिरोध
अनि अँध्यारोलाई भगाउँन
आव्हान गर्छु म उज्यालोको ।

घामको उज्यालोलाई गरेर स्वागत
म फूलको मुस्कान मुस्कुराउँछु
नयाँ बिहानीको स्वागत गर्छु
हिंड्छु म नयाँ यात्रामा
त्यसैले त एउटा पूरै रात
म प्रतीक्षा गर्छु बिहान झुल्किने
उज्यालो अनि न्यानो घामको ।

च्यातिदिन मन लाग्छ
उज्यालो छेक्ने बादलरुपी पर्दा
सहमति कहिल्यै हुन्न मेरो
उज्यालोलाई कैदी बनाउने कुटिल चालप्रति
किनभने विहानीको उज्यालो
प्रत्येक घर घरमा पुग्न पाउँनु पर्छ
जीवन र जगतको अँध्यारो हटाउँन
उज्यालो नवीन चेतना र प्रगतिको संवाहक बनेर
प्रत्येक मनहरूमा पुग्न पाउँनु पर्छ
प्रत्येक घरहरूमा पुग्न पाउँनु पर्छ ।

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
तरहरा (सुन्सरी),
हालः मण्डिखाटार, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *