Skip to content

निर्णय (लघुकथा)


कुनै समय तीर्थ यात्रामा निस्केको हाँसको जोडी हिंड्दा हिंड्दै कुनै निर्जन, सुनसान र अत्यन्तै उजाड मरुभूमिमा पुग्दा रात परेछ र एउटा सानो रुख मुन्तिर हाँसको जोडीले रात कटाउने निर्णय गरेछन् । रातमा एउटा लाटोकोसेरो (उल्लु) आएर त्यै रुखमा बसेर रातभर चिच्याएर हाँसको जोडीलाई निदाउनै दिएन ।

पोथी हाँस (पत्नी) दुखी भएको देखेर भाले हाँस (पति)ले सम्झाउँदै आफ्नी पत्नीलाई भनेछ:-आजको रात जसोतसो बिताऔं, बिहान सबेरै यो ठाउँ छोडौंला । यो ठाउँ यतिबिधी उजाड, उराठ र निर्जन हुनाको कारण त यै लाटोकोसेरो रैछ, यस्तो दुष्ट पंक्षी बसेर चिच्याउने स्थानमा को आएर बसोस् र हरियाली समाज बसोस् त ?

लाटोकोसेरोले यो कुराकानी सुन्यो । बिहान उसले आफ्नो खराब आदतका लागि माफी माग्यो ।
हाँसको जोडी त्यहाँबाट हिंड्नै लागेको थियो । त्यसैबेला लाटोकोसेरो जोडले चिच्याउँदै रुन थाल्यो र हाँसले आफ्नी पत्नी (पोथी हाँस) चोरेर लैजान लागेको भन्दै गुहार माग्यो । आफ्नी पत्नीमाथि लाटोकोसेरोले दाबी गरेको देखेर हाँस जिल्ल पर्यो ।
आसपासका गाउँबाट भद्र भलाद्मी र पञ्च आए, हाँस र लाटोकोसेरो दुवैले पोथी हाँस आ-आफ्नी पत्नी भएको दाबी गरे । भद्र भलाद्मी सहितको पञ्चायतले दुवै पक्षको कुरा सुन्यो । पञ्चायत र भलाद्मीहरूलाई लाटोकोसेरो झुठ बोलेको कुरा बुझ्न समय लागेन । तैपनि सोंचे-‘यो हाँस त आफ्नी पत्नी लिएर एकछिन पछि यो ठाउँबाट जानेछ तर लाटोकोसेरो त यही समाजमा बस्छ र हामीलाई लाटोकोसेरो चाहिन्छ ।’ त्यसैले झुठ बोलेको भएपनि लाटोकोसेरोको पक्षमा समाजले निर्णय गर्छ र हाँसलाई तुरुन्त त्यो गाउँ छोड्ने निर्देशन दिन्छ ।

समाजले गलत फैसला गरेर आफ्नी पत्नी अर्कालाई सुम्पिनु परेसी हाँस भारी मनले रुँदै बाटो लाग्छ । उतिबेलै हाँसलाई रोक्दै लाटोकोसेरो बोल्छ:-‘रोकिनुस् मित्र ।’

मेरी पत्नी त खोस्यौ अब के, मलाई नि मार्न चाहन्छौ?:-हाँसले भन्यो ।

‘यो पोथी हाँस मेरी होइनन् तपाईँकी हुन् हिंजो पनि, आज पनि र भोलि पनि’-लाटोकोसेरो बोल्यो-‘तपाईंले राती भन्नुभएको थियो यो ठाउँ यस्तो लाटोकोसेरो बस्ने भएकाले उजाड, उराठ र निर्जन भएको भन्नु भो । अहँ होइन, यो ठाउँ त सधैं लाटोकोसेरोको पक्षमा गलत निर्णय सुनाउने यस्ता पाखन्डी बिद्वानहरूका कारण यति डरलाग्दो र उराठीलो भएको हो । तपाईँ आफ्नी पोथी लिएर जानुस् ।’

अजित क्षेत्री

3 thoughts on “निर्णय (लघुकथा)”

  1. use of story
    Dear Ajit Ji,

    Can I use this story in our upcoming conservation booklet related with owls? We will use this story by giving your name.

    Raju Acharya

    1. Reply
      Its ok.u can mail me,,,ajitchhetri1@gmail.com
      Facebook:-www.facebook.com/chhetri ajit
      Twitter:-@ajit_chhetri
      Pls kindly send me published piece.

Leave a Reply

Your email address will not be published. Required fields are marked *