Skip to content

प्राकृतिक पीडातङ्क


भत्किएर खण्डहर सपनाहरू
थन्किएर योजनाका अलपत्र फाइलहरू
किंकर्तव्यविमूढ दोबाटोको यात्री
बस्ने बासको उठीबास भएको बेला
हिँड्ने बाटो भत्किएको यो क्षण
ज्ञान र विज्ञानको पहुँच बाहिर
विजुली चम्काइकै सारमा
कुन देवताले सुन्न र भन्न सक्यो
कुन देवताले थुन्न र छेक्न सक्यो
देवता स्वयम् पीडित भएको यो बेला
ढलेनन् मात्र घरहरू
थुप्रै तनहरू ढलेका छन्
छियाछिया, विक्षिप्त भएर
लाखौँ मनहरू ढलेका छन्
उडेनन् मात्र छानाहरू
हजारौँ आत्माहरू उडेका छन्
बगेनन् मात्र पहाडहरू
सहस्र खुसीहरू बगेका छन्,

पीडा दिएर प्रकृति
हामीलाई चेतनाको पाठ सिकाउँछ
भोग्नु भोगाएर हाम्रो प्रकृति
होशियारीको शङ्खघोष गराउँछ
सहनु छ हामी आफैँले
विपत, प्रकोप र त्रासदीहरू
सजीव हुनुको यही नाताले,

पीडाको हिमाल पगाल्नु छ
आँसुको पोखरी सुकाउँनु छ
अरुले त मात्र मलम लगाउँने न हुन्
निको पार्नु छ आफ्नो घाउ आफैँले
अरुले त माटो पन्साउँने मात्र हुन्
खन्नु छ आफ्नो बाटो आफैँले
र हिँड्नु छ लामो भविष्य यात्रा ।

रामविक्रम थापा
कृष्णगर्त, खोटाङ
मो.नं. ९७५३००४३६०

Leave a Reply

Your email address will not be published. Required fields are marked *