‘रमेश विकलको नाम सुन्नु भा’छ ?’ हालैको दिन अस्ट्रेलियाली पदयात्रीहरूसँग इन्द्रावती किनार पुग्दा स्थानीय बलराम नेपालले भनेका थिए- ‘उहाँले अविरल बग्दछ इन्द्रावती लेख्नुभएको ऊ त्यही घरमा बसेर हो ।’
बलरामले औंल्याएको घर खेतको बीचमा अरू दुइटा स-साना झुप्राबीच ठिंग उभिएको थियो । माटोको गारो, खरको छानो र धूले आँगन । चावहिल आरुबारीबाट सुसुरालीको पुख्यौली घर खोज्दै आउँदा रमेश विकल १५ दिन यही घरमा बसेका रहेछन् । पञ्चायतको अनुदार समय स्थानीय सामान्तहरूले माझी समुदायमाथि गरेको उत्पीडनको कथा उनले यहीँबाट नियालेका थिए ।
‘हामीलाई पछि मात्रै था भयो’ बलरामले सुनाए- ‘उहाँले ‘अविरल बग्दछ इन्द्रावती’ लेख्नुअघि माझी गाउँको भित्री अनुसन्धान गरिसक्नु भा’रैछ ।’ कुरा गर्दै अघि बढिरहँदा बाटो छेउ भटमास कुटिरहेकी बूढी आमैले हामीतिर आँखा तेस्याइन् । ‘किताब लेख्ने मान्छेको कुरा गर्नु भा ?’ ती बूढी आमै एकछिन थामिइन् र भनिन्- ‘हो हो, मैले पनि भेटेकी छु । टीभीमा त फिलिम नै आयो नि । सुटिङ यही गाउँमुन्तिर भएको हो ।’ आमै चलचित्रकर्मी बद्री अधिकारीले निर्देशन गरेको टेलिसिरियल ‘अविरल बग्दछ…’ को कुरातिर मोडिइन् । तिनी त्यही बाटोछेउ उभिएकी थिइन्, जुन बाटो भएर साहित्यकार रमेश विकल धेरैपटक माझीगाउँ झरेका थिए । ‘यो पञ्चेतकालको कुरा हो नानी’ उनले भनिन्- ‘पारि बाँडेगाउँका काजी -तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य नेत्रविक्रम थापा) को ठूलो राज थियो । यो उनकै पालाको कुरा हो ।’ पुस्तकमा हवेलीको चर्चा निकै छ । अबोध माझी युवती लालगेडीलाई थुनेर इज्जत लुटेको हवेली । सोझा माझीहरू आफू भोकै बसेर काजीलाई फलफूल पुर्याउने त्यो आँगन । अनि बन्दुक बोकेर छाती फुलाउँदै सिकार खेल्ने निहँुमा वनतिर तरुनी खोज्न निस्कने सानो काजीको त्यो हवेली । माझीहरूको पसिना पिएर हाँसेको त्यो दरबार । भुमा, सोबिते र खिनौरीहरूविरुद्ध षड्यन्त्रका तानाबाना बुन्ने थलो । ‘अहिले हवेली छ त ?’ सहयात्री भक्त स्याङतानले जिज्ञासा राखे । ‘खै नानी’ बूढी बोलिन्- ‘माओवादी आएपछि काजीहरू हवेली छाडेर सहर गए भन्थे । आँपको त ठूलो बगैंचा नै छ नि ।’ जे होस्, हवेली छ । रमेश विकललाई चर्चित कृति लेख्ने परिवेश प्रदान गर्ने हवेली । स्थानीय समान्तवादको प्रतीक । पाँच वर्षअघि मेलम्ची डुल्न जाँदा सिन्धुपाल्चोकका विद्यार्थी नेता विष्णुमणि आचार्यले बसको झ्यालबाटै बाँडेगाउँतिर औंल्याएका थिए- ‘ऊ त्यही हो काजीको हवेली । तर अहिले सुनसान छ ।’ बूढी आमैले हवेलीबारे थप बोल्न चाहिनन् । विकललाई काठमाडौमा बिरामीले च्यापेको छ भन्ने पनि उनले सुनेकी थिइनन् । अचम्म के भने काभ्रेको चण्डेनी मण्डन गाविसमा पर्ने त्यो माझी गाउँवासी विकल र उनको कृतिको नामसँग भने अनौठो तरिकाले गर्व गर्दारहेछन् । यिनै गाउँवासीको सत्य घटना टिपेर विकलले कृति लेखेका थिए । अछामबाट सिन्धुपाल्चोक हुँदै १३ पुस्ताअघि गोकर्ण आरुबारी भित्रिएका चालिसे पुस्ताका विकलसँग यो गाउँसितको ससुराली सम्बन्ध नै कृति लेखनको सेतु थियो । बाटोमा उभिएर कुराकानी भइरहँदा दुई दर्जन अस्ट्रेलियाली पदयात्रीहरू धमाधम माझी गाउँस्थित विन्दबासिनी निमाविको भत्केको गारो टालिरहेका थिए । हेलम्बु घुम्न आएका पदयात्रीहरू आफ्नो निजी खर्च कटाएर डेढ वर्षअघि भत्किएको माझी गाउँको स्कुल टाल्न तम्सेका रहेछन् । ‘यति टाल्नलाई विदेशी नै आउनुपथ्र्यो त ?’ भक्त स्याङतानको जिज्ञासामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम नेपालले भने- ‘गाउँलेलाई बुझाउनै गार्हो छ । खैरेहरू आएपछि मात्र बल्ल माटो तान्न र पानी बोक्न सघाउन थाले ।’ ‘अबचाहिँ केही हुन्छ कि’ भन्ने भावमा उनले पसिना पुछे । यहीबेला विद्यालयको आँगनमा मोटो र पुड्को ज्यानको हेडमास्टर देखिए । उनी माझी समुदायका थिए । उनको अनुहार देख्नासाथ ‘अविरल बग्दछ इन्द्रावती’ मा मास्टरको अभिनय गर्ने कलाकार शेखर चापागाइँ सम्झें, जसको भूमिका माझीगाउँमा जागरण ल्याउनुहुन्छ । पछि काजी खलकले थाहा पाएपछि उनी सहर लखेटिन्छन् । ‘यही तल हो नि, सुटिङ भएको’ हेडमास्टर बोले- ‘भरे बस्नुहुन्छ भने सबेरै इन्द्रावती किनार जाउँला ।’ हेडमास्टरले सदाशयता त प्रकट गरे तर योसँगै रक्सी गन्ध पनि मिसियो । हेडमास्टर, स्कुल, अनि रक्सीको गन्ध । फेरि किताबभित्रका मास्टर सम्झे, जो गाउँमा शिक्षामार्फत क्रान्तिकारी परिवर्तन चाहन्छन् ।
