Skip to content

वसन्तको रात


प्रकृतिमा नाङ्गिएर उभिएका कंकाल रुखहरू
डाली डालीमा मुना पलाउदै छन
आँगनीमा राखिएको निर्जीव गमला
छाती भरी पुरानै बिरुवा उमार्न अभ्यस्त छिन
पश्चिम भएर बहने पवन हिजो आज
पूर्वतिरबाट भएको प्रतित हुन्छ
फगत एउटा मेरो मन अनकन्टारमा त्यतै कतै छट्पटिरहेछ
माया फुलाउन नसकेर
विश्वास चुलाउन नसकेर
सायद,
मधुरो प्रेमको प्रतिविम्ब भुलाउन नसकेर
आँशुका आहालमा छट्पटिरहेछ
यो मन ………

आत्मा पनि निस्सार रित्तो रित्तो भएको छ
मन्दिरको देउता हराए जस्तो,
एकतमासले अत्यासको घण्टा बारबार बजिरहेछ
टंग………टंग………टंग………
दुरदुरसम्म मनको आवाज गुन्जयमान छन
सुस्त सुस्त उतै पो हराएर जान्छ
फर्की आउन्न फेरि
बन्द खाममा प्रियसीको सन्देश
फर्की आउन्न फेरि
हिक्क,हिक्क बाडुल्कि पनि
सायद बिर्सिएछ क्यार
सायद समयले कोल्टे फेरेछ क्यार
म पो मृत सागर जस्तो उत्तानो परेर नाङ्गो आकाश लियालिरहेछु ……
एउटा आँखै डिलबाट हराएको आकृति खोज्दै
काल्पनिक पिरामिड ठड्याएर
याद,सम्झना,अतित ताजा राख्न तल्लिन छु
यदाकदा,
आँशुका आहालमा अँझै पनि छट्पटिरहेछ,
यो मन………

हतासिएको हृदयलाई
थुम्थुम्यौदै आफैले ढाडस दिन्छु
हो,
गल्ती मेरै थियो,
शत प्रतिशत गल्ती मेरै थियो
ढुंगा माथि प्रीत वर्षाएर
भित्रैसम्म रुझ्यो होला सम्झनु गल्ती मेरै थियो
अस्मिता अर्पण गरेर
अँश्रुधारा तर्पण गरेर
विश्वासको पुष्प गुच्छा चढाउनु
गल्ती मेरै थियो,
बगरको होस कि शिखर टुप्पाको
चिल्लो होस कि कुँदिएको
आखिर ढुंगा केवल ढुंगा नै हुन्छ
फगत आफ्नै मनलाई अन्धाकारमा राख्नु गल्ती मेरै थियो गल्ती मेरै थियो………

कल्पना राई “खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *