ओइ भूकम्प
तेरा बाजेले नब्बे सालमा
हाम्रा बाजेका बत्तीसै बङ्गारा झारे
तेरा बाले पैतालिस सालमा
हाम्रा बालाई पार्नु थर्कमान पारे
तैँले त झन् यसपालि
हामीलाई पार्नुसम्म धरापमा पारिस्
हजारौँ हाम्रा प्रियजनहरूलाई
मार्नुसम्म मारिस्
हाम्रो सगरमाथालाई नै तैंले तीन इन्च सारिस् ।
खलकै मिलेर तिमीहरूले
हामीलाई हल्लाउनुसम्म हल्लायौ
हाम्रा घर उखेलेरै छाड्न लाउनुसम्म बल लायौ
मै हुँ भन्ने धरहरालाई भुइँमा थचार्यौ
कत्रा कत्रा पहाडलाई खोलामा पछार्यौ
तेत्रा तेत्रा महलवासीहरूलाई
पालमा घचार्यौ ।
होइन ए भूकम्प !
हाम्ले तेरी बहिनी भगाका थिम कि
बाउ अपहरन गरेका थिम
यसरी घर भत्काइ भत्काइ
तिनीहरूलाई खोज्दैछस
खुरुक्कन आफ्नो बाटो नतताएर
फर्की फर्की के सोच्दैछस ?
हामीले तेरो बारीको काँक्रो चोर्या थिम
किबुइँगलको फर्सी फोर्या थिम ?
यसरी ढुक्कै डेरा जमाएर बदला लिदैछस
त्यसै त कति दुःखको यो देश
झन दुःख दिदैछस !
माओवादीले सेल्टर सारेको जस्तो
घरी गोर्खा घरी सिन्धुली
हेडक्वाटर सार्दैछ्स
अभैm साँढेले झै जिउ हल्लाएर
डरामर्दो पार्दैछ्स
ओइ भूकम्प
बिनासित्त यसरी
मान्छेलाई नै किन मार्दैछ्स?
हेर भूकम्प
जे भयो भयो
अब उतै उतै गर्केस
उतै उतै लर्केस
यता फर्कदै नफर्केस
बरु तेरो हात पाउँ ढोक्छौं
ढोग्दा पनि मानिनस भने
एम्बुस राखेर हुन्छ कि
बम राखेर हुन्छ
त आउने समय र बाटो पत्ता लगाएर
तेरा खप्परमै ठोक्छौ
यती गर्दा पनि तैले टेरिनस भने
बासको घर हालेर भए पनि
तेरो बिनास रोक्छौ रोक्छौ ।
यति कुरा सुनेपछि
भूकम्प एक छिन गुडगुडायो
मसँग भुटभुटायो
आफैले खनेको खाल्टोमा आफै पर्छौ
भूकम्पले मान् छे मार्यो भन्दै
खाली हाम्रो बदनाम मात्र गर्छौ
पाचतले घर मैले बना हो ?
नौ तले दरबार मैले बना हो ?
बाजेले पनि पाठ सिकाकै हुन
बाले पनि करामत देखाकै हुन
अभैm पनि तिम्रो बुद्धि पलाएन भने
फेरि पनि आउछु
अस्ति त दिउसो आए
अब त झन भुक्काएर आउछु ।
प्रेम ओली

धेरै राम्रो । बधाइ प्रेम
धेरै राम्रो । बधाइ प्रेम अाेलीजी ।
हो त। पाँच तल्ले घर कल्ले
हो त। पाँच तल्ले घर कल्ले बनायो। हिले माटोमा महल कल्ले ठडायो।