पैसा-
यो नभई जीवन पटक्कै चल्दैन
समय त जेनतेन चल्न सक्छ टुकटुकटुकटुक
तर यसको अभावमा
समयले मानिसलाई धेरै पछाडि छाडिदिन्छ ।
भोक यसैले मेटाउँछ
तिर्खामा तृप्ति यही बनिदिन्छ
आङको न्यानो त यो बन्ने नै भयो
भौतिक सुबिधा यसैले दिन्छ
सामाजिक प्रतिष्ठाको
यो भरपर्दो माध्यम भैदिन्छ
अभरमा भर यही हुन्छ
समयको साथी पनि यही हो
यो भए हाँसो किन्न पाइन्छ
सम्बन्ध किन्न पाइन्छ
रङ्गहीन संसार
यसैले रङ्गीन बनाउन सकिन्छ ।
खल्तीमा यसको बास भए
त्यसैत्यसै नशामा जोश, जाँगर र हिम्मत दौडिन्छ
यसको कुनै जात हुन्न, धर्म हुन्न
यसलाई जसले मुठ्ठीमा राख्न सक्छ
यो त्यसकै हुन्छ ।
खाद्यान्न दिन्छ, स्वास्थ्य किन्छ
जीवन यसैले जोगाउँछ
तर जीवन यसैले लिन्छ पनि ।
पैसा!
यसले सबैथोक किने पनि स्नेह किन्न सक्दैन
अभिनय किन्न सक्ला, तर
अपनत्व किन्न सक्दैन
विश्वास किन्न सक्दैन
न्यायप्रेमी जनताको अदम्य साहस
संसारै उथलपुथल पार्ने जनक्रान्ति
यसले चाहेर पनि किन्न सक्दैन
पौबञ्जारहरूले यसको जङ्गल नै बनाए तापनि
देश र देशभक्ति यसले किमार्थ किन्न सक्दैन
तरहरा (सुन्सरी)
हालः काठमाडौं
