ल यो कुश लिनोस
यो टपरीमा सय दिनुस
दुनाह पचास दिनुस
यो सब तिम्रा बाले पाउछन
उता पनि निकै महङगी छ रे
दश रुपैयाले त के पो लाउछन ।
नर्कमा परेका भए खानु पर्ला
स्वर्गमा भए डिस्कोमा जानु पर्ला
मेनका उबर्शीले नाइटो देखाउलान
तिम्रा बाले नाइटोमा पैसो हाले पो
इन्द्रले मेहिफिल चलाउलान ।
यो कुश लेऊ
गाई हो यो
गाइको नै दाम देऊ
तिम्रा बालाई भैंसी होइन
गाइको दुद चाहिन्छ
त्यहा पनि चोख्याउन
गाइकै गहुत खाइन्छ
घोडा दान हात्ती दानको सट्टा
सके कार दान गर
न भए मोटार साइकल दान गर
त्यो पनि सकिदैन भने
साइकल एक थान गर
त्यहा पनि हात्ती घोडाभन्दा
मोटर गाडी नै चाहिन्छ रे
घास पातभन्दा सजिलै
पेट्रोल नै पाइन्छ रे ।
सुरुवाल भोटि फाल
प्यान्ट, हाफ प्यान्ट हाल
सक्छौ भने भोट्का बोटल हाल
बुढो भएर मरे पनि
सब जवान भइे जाने हो
यहाँ पो क्षत्री बाहुनका कुरा
इन्द्रलोकमा त
सबैले सोमरस खाने हो
भोटका दियौ भने
तिम्रा बाले पनि इन्द्रलाई
उपहार लगी जालान
इन्द्रजीले पनि
मृत्यलोकमा बनाएको सोमरस
कास्तो हुन्छ भनी खालान ।
सक्छौ भने सुनकै
सकदैननौ भने
राम्रै काठको
शैया दान गर
घैया दान गर
मन खोलेर गर
धन खोलेर गर
आखिर यो सम्पत्ति
तिम्रै बाले कमाको हो
नखाइ नलाई
बिचराले जमाको हो
दान धर्म जे गर्छौ
तिम्रा बाले पाउलान
नत्र भन्द्या छु
तिम्रा बाउ रिशाएर
भुत बनेर आउँलान ।
प्रेम ओली
