विहानीको आगमनसँगै
एकहुल भँगेराहरू चाँचाँ र चुँचुँगर्दै
मेरो झ्यालमा ठोक्किन आइपुग्छन्
लहरिएका मनीप्लान्टमा लुकामारी खेल्छन्
निरन्तर मलाई
उनीहरूको खेल हेर्न बाध्य पार्छन्
एउटा न्यानो विहानी
म भँगेराहरूको चर्तिकला हेरेरै बिताउँछु
थोरै चारो फालेर
तिनीहरूलाई आफूतिर बोलाउँछु
तर उनीहरूलाई मतिर हेर्ने फुर्सदै छैन
उनीहरू सिन्का र प्वाँख ओसार्नमै व्यस्त छन्
अहो ! घर त सबैलाई चाहिने रहेछ
घामपानी ओतिने छानो जरुरी नै रहेछ
एकजुट भएर भँगेराहरूले घर बनाएको म नियालिरहन्छु
आः आः भनी उनीहरूलाई म चारा फालिरहन्छु
मैले पो ध्यान नै दिइनछु
आफू आफ्नै सुसे धन्दामा मग्न भएछु
भँगेराहरूले त कहिले कहिले घर बनाइसकेछन्
भँगेराको परिवारै त्यहाँ बास पनि बसिसकेछन्
कसोकसो मलाई इर्श्या लागेर आयो स-साना भँगेराहरूसँग
भँगेराले त घर बनाउन सक्छन् भने मैले किन नसक्नु ?
आफैसँग मैले गरेको प्रश्नमाथि प्रतिप्रश्न बनेर
मेरी जीवनसँगिनीका मौन आँखाहरूले मलाई सोधिरहेका थिए,
“त्यसो भए हाम्रो पनि घर बनाउन सुरु गर्ने होइन त ?”
-इन्द्रकुमार श्रेष्र्ठ सरित्
तरहरा (सुन्सरी)
हालः काठमाडौं
