(१)
माँ कसम, लिपु लेक हाम्रै हो
दार्चुलाको, पश्चिम भेग हाम्रै हो
न पत्याए हेर न, पश्चिम काँकडामा
किल्लामै लेखिएको, दस्ताबेज हाम्रै हो
२०७२ असार २७ (नेपालगन्ज)
(२)
महँगो भो नून भन्थ्यौं, सुन सस्तिदैछ
अप्ठेरोमा लगाएको, गुन सस्तिदैछ
औँसीपछि आउँछ भन्दै, आसमान हेर्थे रपो
पुर्नेभरि देखिनाले, जून सस्तिँदै
२०७१ कात्तिक २२ (नेपालगन्ज)
(३)
मैले सोधे तिम्ले कतै, घरबार जोड्या छौ कि ?
उल्टै सोधिन् तिम्ले पनि, प्यार तोड्या छौ कि ?
कुरा बुझ्न फेरि सोधे, आधार खोज्या छौ कि ?
मौका छोप्दै उनले भनिन्, यार छोड्या छौ कि ?
२०७१ मंसिर ६ (नेपालगन्ज)
(४)
खबर दिन पाइन दिदी, नरिसाउनु ल
दरका सामान ल्याइन दिदी, नरिसाउनु ल
आउँछ कि भाइ भन्दै बाटो, हेर्दै हौली है ?
माइती लिन आइन दिदी, नरिसाउनु ल
बाढीले घर पूरै ढाक्यो, अन्नपात सबै कुहे
बोलाउन गइन दिदी, नरिसाउनु ल
२०७१ भदौ ११ (नेपालगन्ज)
(५)
अस्मिता त्यो लुटिसक्यो, कठै ! लिपुलेक
मेरै भन्न चुकीसक्यो, कठै ! लिपुलेक
सीमानामै पर्खिएरै, बसेकै थि ऊ
अश्रुधारा सुकीसक्यो, कठै ! लिपुलेक
२०७२ जेठ ३१ (नेपालगन्ज)
(६)
सुन सस्तियो भन्छौ, नून सस्ताएर देखाऊ
पश्चिममा हैन पूर्वमा, घाम अस्ताएर देखाऊ
तब मात्रै गर्छु म तिम्रो, बहादुरीको कदर
सिता टिप्नेलाई भातले, मस्ताएर देखाऊ
२०७१ असोज ४ (नेपालगन्ज)
(७)
सपनीका हरेक रातमा, देख्छु लिपुलेक
गफिएका हरेक बातमा, देख्छु लिपुलेक
माटो मेरो खोसी लिँदा, चयन छैन हृदयमा
त्यसैले त प्याला मातमा, देख्छु लिपुलेक
२०७२ असार ८ (नेपालगन्ज)
(८)
भगवान् कसम, सीमा मिचिएको बेला
झुक्नै सक्दैन, मन थिचिएको बेला
आत्मा भक्कानिँदा, थाम्न खोज्छु
तर सक्दैन, दार्चुला किचिएको बेला
२०७२ असार २५ (नेपालगन्ज)
पुष्पराज जोशी ‘पुकार’
धनगढी–४, कैलाली
हाल: नेपालगन्ज
(कार्यरत संस्था नेपाल रिपब्लिक मिडिया प्रालिको पश्चिम संस्करण नागरिक पश्चिमेलीको (समाचार सम्पादन डेक्स प्रमुख) नेपालगन्ज )
प्रकाशित कृति : शब्द छाल मुक्तक सङ्ग्रह –२०७१
प्रकाशोन्मुख कृति: नि:शब्द मुक्तक सङ्ग्रह
