Skip to content

आँशु पिएर बाच्ने गायक : अरूण थापा

MohanRajBaralMoon


आज साउन ५ गते आजैको दिन वि.सं. २०५६ सालमा नेपाली सुगम सङ्गीतप्रेमीहरूले स्वर्गीय गायक एवम संगीतकार अरूण थापालाई गुमाएको दिन । आज सुगम सङ्गीतप्रेमीहरू १७औं अरूण थापा स्मृति दिवस मनाउँदैछन् । भने उनी संस्थापक सदस्य रहेको पोखरेली युवा सांस्कृतिक परिवारले पनि आज “अरुण थापा स्मृति कार्यक्रम’ गर्दैछ ।

वि.सं.२००९ साल माघ ११ गते बाबु गञ्जुप्रसाद थापा र आमा शान्ति थापामगरको प्रथम सन्तानको रूपमा अरुण थापममगरको जन्म भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो । स्कुल तहको शिक्षा दार्जलिङमा लिए पनि २०२८ सालमा जेपी हाइस्कुल ठमेलबाट उनले प्रवेशिका उत्तीर्ण गरेका थिए ।

आफ्ना बाबु पोखरामा नेपाल बैंकको क्षेत्रीय प्रबन्धक भएर आएपछि बाबुसँगै बि.सं.२०३० सालमा पोखरा आएका अरुण थापा पोखराको गैह्रापाटनस्थित फिस्टेल हस्पिटल छेउमा रहेको बैड्ढको आवासगृहमा बस्थे भने उच्च शिक्षा अध्ययन गर्न पोखराको पृथ्वी नारायण क्याम्पस भर्ना भएका थिए । त्यसबेला क्याम्पसका सानो ठूलो जमघटमा उनी गाउन सुरु गरिहाल्थे ।

कर्णप्रिय स्वरका धनी अरुण छोटो समयमै थोरै गीत गाएर प्रसिद्धि कमाउने गायकमा पर्छन् । उनीले बि.सं. २०३२मा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेका थिए । त्यही वर्ष उनले विक्रम गुरुङको रचना र ओमविक्रम विष्टको संगीतमा पहिलोपल्ट “कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुनू’ गीत गाएका थिए । यो गीतका संगीतकार रहेका ओमविक्रम विष्ट गायक थापाको मित पनि थिए । तर यस गीतले खासै चर्चामा कमाऊन सकेन ।

मूलतः वियोगका गीत गायका थापाले प्रेमिकाको लोभलाग्दो वर्णन भएको र आफू योग्य प्रेमिरहेको भावनाले ओतपोत भएको गीतकार राजेन्द्र रिजालको शब्द रहेको ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ, नदीहरूमा तिमी पवित्र गंगा हौ’जुन गीत बि.सं.२०३४तिर राम थापाको संगीतमा गायका थिए । यो गीत बिबिसी वर्ल्ड सर्र्भिसद्वारा सन २००३मा गरिएको सर्वेक्षणमा विश्वका दश उत्कृष्ट गीतहरूमा ७ औ स्थानमा परेको थियो । रहेको यो गीत अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गीत हो ।

त्यस्तै बि.सं.२०३६मा “जति माया लाए पनि” गीतकार विनोद गौचन र गायक अरूण थापाले एकै बसाईमा थापाले गीतार बजाउदै गर्दा त्यही लयमा गौचनले रचेको मानिन्छ । यो गीत उनीले पोखरोको पृथ्वी नारायण क्यामपसमा पनि गाउने थिए । यो सांगेतिक कोशेली नै अरूण थापालाई गायक तथा संगीतकार र बिनोद गौचनलाई गीतकारको रूपमा चिनाउने कोशेढुड्गा साबित भयो । अनि उनी श्रोताका ढुकढुकी बन्न थाले ।

भावुक स्वभावका उनीको प्रेमजीवन पनि उत्तिकै चर्चामा आउँछ । भनिन्छ यिनीले क्याम्पसको विशेष कार्यक्रम माझ मोहम्मद रफीको “मेरा जीवन कोरा कागज…’ गाएर प्रेमिकालाई पनि मोहित बनाएका थिए रे । फेरि पोखरा बसाईमा उनले धेरै गीत गाउनुमा सबैभन्दा बढी योगदान उनकी प्रेमिका रहेको बुझिन्छ । प्रेम टुसो मौलाएपछि प्रेमिका स्वयंले राखेको प्रस्तावलाई स्वीकादै प्रेमिकालाई भगाएर काठमाडौं लिएर आए ।

उनकी प्रेमिका नेवार थरकी थिइन् । परिवारले जात भातको कुरा गरेर प्रेम टुटाइदिएर यो जोडीलाई छुटाएर उनीको प्रेमिकालाई अन्यत्र बिहे गराइदिएपछि अरुणको जीवनमा औंसी पर्‍यो । यिनीहरू बिचको प्रेमको दुखद् अन्त्य भयो । थापालाई जिन्दगीले सुनसान बाटोमा एक्लै हिँड्न विवश बनायो । उनले आफूभित्रको मानवीय संवेदना, प्रेमिकासँगको बिछोडको पीडाको ब्यवस्थापन रक्सीले भरिएको गिलासबाट गर्न खोजे र आफूलाई रक्सीको नसामै दिनरात डुबाए । नशाको डुबानमा यी लागु पदार्थ दुर्र्व्यसनी पनि भए ।

“साझको जूनसँग”, “भुलु भुलु लाग्यो मलाई”, “बितेका मेरा तिता मिठा”, “चोट के हो व्यथा के हो”, “अरुसँग नजोख मलाई”, “जिन्दगी के छ र आखिर”, “तिमी हेर्छौ भने”, “न पोखिने न जोखिने”, “आँखाको निद खोशी लाने”, “यो मनको के भर हुन्छ”, “भुलेका कथा”, “जिन्दगीकाका यात्राहरू”, “लाग्न थाल्यो जीवनमा”, “नपोखिने नजोखिने”, आदि लगायतका प्रेम-विछोडको घाउलाई मलम लगाउन वियोगान्तक गीत गाएका थिए भने नवराज कार्कीको रचनाको “करोडौं मुटुहरूको एउटै ढुकढुकी नेपाल” राष्ट्रिय भावनाले भरिपूर्ण गीतमा गायक सरोज गोपाल, बाबा राणासँगै स्वर दिएका थिए ।

उनले गाएका अधिकांश गीत चर्चित, कर्णप्रिय र वियोगान्तले भरिपूर्ण छन् । आफूले जस्तो जीवन बिताए त्यस्तै भावना भएका गीतहरू गाए । उनका समकक्षी तथा त्यो जमानाका चर्चित गीतकार विनोद गौचन, बिक्रम गुरुङ, राजेन्द्र रिजाल, किशोर गुरुङ, भुषण खरेलले उनको पीडा मिसिएका गीतहरू लेखिदिए । पहिलो वैवाहिक जीवनमा अकल्पनीय दुखद् चोट भोगेका थापाको दोस्रो विवाहसमेत सफल नभएपछि उनी जीवनदेखि निराश हुन पुगे । संगीत र नशा उनको लागि पर्यायवाची हुदै गयो । अधिक लागूपदार्थ सेवनका कारण कलेजोमा हेपाटाइटिस “बी’को संक्रमणबाट पीडित भएका थिए । जीवनको पछिल्लो समय उनी लागु पदार्थको नशाको संसारमा नराम्रोसग फसे, निस्कनै नसक्ने गरी । यही नशाले उनलाई जेलको चिसो छिडीदेखि मृत्युको मुखसम्म पुर्‍यायो ।

यसरी निराशाको भुमरीमा लागुऔषध दुर्र्व्यसनी बनेका उनीलाई यस अभियोगमा २०४५ सालमा पक्राउ परेर एक वर्षभन्दा बढी जेल जीवन पनि राखिएको थियो । त्यसपछि उनले यो कुलतलाई छाड्नै सकेनन् । जीवनको अन्तिमकाल खण्ड चरम आर्थिक सड्ढट र एकान्तवासमा बिताउँदै अन्ततः सबैलाई आफ्ना कर्णप्रिय गीतसंगीत छाडेर उनी आजकै दिन २०५६मा सुटक्क बिदा भए । यसरी प्रेम र जीवनसँग हारेका गायक थापाले गीतकार एवंम संगीतकार शुक गुरुङको गीत “दोष कसैलाई दिन चाहन्न, पिउने छु बरू आफ्नै आँशु” गाएर आफ्नो आँशुनै मायाको चिनो सम्झाएको बताए । सायद उनीको यही गीतले आफ्नो जीवन अल्पायु हुनु कसैको दोष हैन भन्ने सन्देश प्रवाह गराए ।

फेरि साच्चै नै यो कुलत भन्ने कुरा पनि अचम्मको हुने रहेछ । कसलाई पनि छाडदैन । विश्वप्रसिद्ध गायक/संगीतकारहरू जिम्मी हेन्डरिक, एसी/डिसीको बोन स्कट, एमि वाइनहाउस, ह्वाईटनी हस्टन, लगायतका हस्तीहरू पनि नशाले नै अल्पायु जीवन व्यथित गरेर संसारबाटै चाडै नै बिदा भएका थिए । सायद हामीले आज हाम्रो कालजयी, मर्मस्पर्शी गायक अरूण थापा नशामा नफसेको भए श्रद्धाञ्जली साटो आज हामी उनका नयाँ नयाँ कर्णप्रिय गीतहरू सुनिरहेका हुन्थ्यौ । आफू यस धरतीबाट बिदा भएर हामीलाई धेरै राम्रा कर्णप्रिय गीतहरू छाडेर जाने उहाँको आजको यस पुण्यतिथिमा सुगम सङ्गीतप्रेमीहरूको तर्फबाट हार्दिक श्रद्धाञ्जली ।

(सन्दर्भ अरूण थापा स्मृति १७औं दिवस)

मोहन राज बराल ‘मुन’

Leave a Reply

Your email address will not be published. Required fields are marked *