अतालिएँ प्रवासले साथी
मनै मर्यो उदासले साथी
मडारिदै गए सयौँ पीडा
खिसी गरे विलासले साथी
कथा भए अतित ती अहिले
बिदा लिए मिठासले साथी
निरन्तरै खपें यहाँ दु:ख
सुकिसकें म प्यासले साथी
निसासिएँ भएर कैदी झैं
दगाधरे निकासले साथी
न गाँस भो न वास नै आफ्नो
भुले सधैँ कपासले साथी
छरीबरी सरी भए चाहा
लग्यो खुसी बतासले साथी
(विश्राम :- ४ र ८ अक्षरमा)
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
