Skip to content

अतालिएँ प्रवासले


अतालिएँ प्रवासले साथी
मनै मर्यो उदासले साथी

मडारिदै गए सयौँ पीडा
खिसी गरे विलासले साथी

कथा भए अतित ती अहिले
बिदा लिए मिठासले साथी

निरन्तरै खपें यहाँ दु:ख
सुकिसकें म प्यासले साथी

निसासिएँ भएर कैदी झैं
दगाधरे निकासले साथी

न गाँस भो न वास नै आफ्नो
भुले सधैँ कपासले साथी

छरीबरी सरी भए चाहा
लग्यो खुसी बतासले साथी

(विश्राम :- ४ र ८ अक्षरमा)
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *