Skip to content

हराएको प्रेमी

KalpanaRai-05


हो, ऊ हराएको छ
औंशीमा जून जस्तै
ऊ हराएको छ
कुहिरोमा काग जस्तै
ऊ हराएको छ
हावामा सुगन्ध जस्तै …

छोटो जीवनको लामो यात्रा गर्दै जाँदा
हिजै मात्र ऊसँग परिचय भएको थियो
अन्तस्करणका तिता मिठा भावना साटिएको थियो
मानौ काकाकुलले स्वच्छ पानीको दह भेटेको थियो
र चाहन्थ्यो अतृप्त प्यास मेट्नलाई …
प्रेम रुपी प्यास,
र त, सधैँ भन्ने गर्थ्यो …

“प्रेम भनेको पानी जस्तै स्वच्छ र निर्मल हुनु पर्छ ”
जसमा कुनै प्रकारको मिसावट हुनु हुँदैन
कुनै भ्रम र संका हुनुहुँदैन
कुनै घात हुनुहुदैन ।

होला त नि !भन्दै उनैको सुत्रमा प्रेमयात्रा तय गरेको थिएँ
उसैको त्यो पाइलामा आफ्नो पाइला सार्दै थिएँ
उसैको स्वासबाट धड्कन धड्काउदै थिएँ
मानौ परजीवि बन्दै थिएँ
आँखा भएर पनि अन्धो हुँदै थिएँ
एउटै चाहना थियो,
उनको निर्दोष आँखाबाट सपना देख्नु
उसैको आँखाबाट सपना बुन्नु
बिडम्बना, आज एक्कासि…

सपना मात्र होइन
आज आँखा सहित लिएर गुमनाम भएछ
ऊ हराएको छ…
सदा सदाको लागि …
हो, ऊ हराएको छ
औंशीमा जून जस्तै
ऊ हराएको छ
कुहिरोमा काग जस्तै
ऊ हराएको छ
हावामा सुगन्ध जस्तै …

सुन्छु, आफ्नो सुन्दरता बेच्दैछ अरे
दुनियालाई लोभ्याउदै छ अरे
आफूतिर आकर्षित गर्दैछ अरे
आफूलाई देखाएर
दुनियालाई आफ्नो बनाउदैछ अरे
तर मबाट सदाको लागि हराएको छ
सदा-सदाको लागि …

कल्पना राई “खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

1 thought on “हराएको प्रेमी”

  1. च्वच्व च्व । बिचरा । कल्पना
    च्वच्व च्व । बिचरा । कल्पना छोरी सारै दुखद र मम्मश्पर्शी कविता लेखेकाेमा बधाइ । यस्तो अव्था कसैलाइ पनि नअाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *