आस्था मिल्दैमा के हुन्छ र ?


मसित एउटा अनौठो स्वभाव छ । केही कुरा नलुकाउने आफ्नो बारे जो कोहीलाई परिचय भैसकेपछि सबै कुरा भनिदिने । कतिपय मानिसमा अँझ धेरैमा नै भनौ आफ्नो बारे अरूलाई सितिमिति नखुलाउने बानी हुन्छ । मेरो बाबा आमाको देन नै हुनुपर्छ, मैले आजसम्म ढाटन जानीन र यो उमेरसम्म कसैलाई केही नढाटेर जिन्दगी काट्दै आएको छु । मलाई सादगी स्वभाव ल्याई दिनु भएकोमा म आजन्म मेरा आदरणीय आमा बाबा प्रति हृदयदेखि नै नतमस्तक रहनेछु ।

समृद्धिलाई विवाह अघि नै आफ्नो बारे सबै कुरा बताएको थिए । उनीले आफ्ना आफन्तद्वारा मेरो खोजी नीति गरेको थाहा छैन । तर पछि मसित दाम्पत्य जीवनमा आएपछि केही ढाट्नुभएको रहेनछ भनेर प्रष्ट्र पारिन् । समृद्धि र मेरो विवाह भएको पाचौ वर्षमा चल्दै थियो । अहिले हामीसित बासका मुना जस्ता दुई बच्चाहरू थिए । म पढेर नि बेरोजगार जस्तै थिए । यसैले समृद्धिसितको सल्लाहले नै मैले दमक शहरको कुनै एक घरमा कोठा लिएर ट्युशन कक्षाहरू शुरू गरेको थिए । एस एल सी को फाइनल परीक्षा आउन लागेको थियो । एस एल सी दिने विद्यार्थीको समुह तीन चार थिए । म बिहान सबेरै गाउबाट शहर निस्कन्थे । पहिलो दोश्रो तेश्रो शेसनमा क्रमश बाह्र चौध र सोह्र विद्यार्थीहरू थिए । पहिलो प्रियड सात देखि दश बजेसम्मको थियो, यो ग्रुपमा आकाश, तनु, रमिला, गजला, लिला, रमेश, दिनबन्धु, आस्था लगायत बार्ह विद्यार्थी थिए । आस्था बाहेक सबै जना पढिसकेपछि हतार गरेर जान्थे । आस्था चाहि मलाई अली बुझाएर पढाउनु न विशाल सर भन्थी । यसैले उसको अनुरोध र जिज्ञासा बमोजिम म अलि समय दिएर आस्थालाई आधा घण्टा बढी नै मेहेनत गराउथे।

मेरो समय यसरी नै ट्युशन घर गर्दै गुज्रिरहेको थियो । म साबिक झैँ ट्युशन सकाएर हिड्न लागेको थिए । सबै गएपछि आस्थाको एक्स्ट्रा क्लास पनि सिद्दिएको थियो, आस्थाले भनी -” सर हजुर नरिसाउने भए एउटा कुरा सोधौ?”

“ल भूमिका नबाँधिकन छिटो भन,” मैले उसलाई भने।

उसले सोधी, ” हजुरको विवाह भएको छ कि छैन ?”

मलाई झनक्क रिस उठ्यो, मैले आफ्नो रिस नदेखारै उसलाई उत्तर दिएँ, “धत् लाटी, पढाइमा ध्यान लगाऊ, किन चाहियो यी सबै कुरा तिमीलाई !”

उसले पुन भनी – “सर भन्नु न प्लिज !”

आस्थाको धृष्टता देखेर मैले भनेँ, “म एक विवाहित पुरुष हुँ, मलाई माया गर्ने समृद्धि नामकी तिम्री गुरुआमा र प्रज्वल, प्रमिता नामका तिम्रा दुई भाइ बहिनीहरू छन् मसित ।”

मेरो जवाफमा, “धन्यवाद सर” भनेर ऊ त्यो दिन छुट्टिई मसित ।

ट्युसन पढाउने काम पनि सिद्धियो । फलत सबै विद्यार्थीले राम्रै डिभिजन ल्याएर पास भए । सबै जना पास भएकोमा मलाई खुशी लाग्यो । सबैलाई मैले बधाई पनि दिए । अब त ती विद्यार्थीहरूसित भेट नभएको निकै वर्ष भएको थियो ।

म एकदिन दमक बजारको तल्लो चोकमा मोटरसाइकलमा यसै टहलिरहेको थिए । यत्तिकैमा कालो चस्मा, कलेजी रङ्गको कुर्ता सुरुवाल, हिल लगाएकी युवतीले मलाई मोटर साइकल रोक्नुस् भनेर इशारा गरी । म को होला भनेर अलमल्लमा परेँ ।

उसले चस्मा खोल्दै मुस्कुराएर भनी -“विशाल सर ! म आस्था हजुरले ट्युसन पढाएकी विद्यार्थी ।”

मैले उसलाई चिनेको जनाउस्वरूप आफ्नो टाउको हल्लाइदिएँ । उसले सोधी, “सर हजुर के गर्दै हुनुहुन्छ ?”

मैले भनेँ, “तिमीलाई थाहा छदै छ नि, त्यही ट्युशन सेन्टर, आयो गयो ।”

आस्था बोली -“ल म हजुरलाई सहयोग गर्छु नि ।”

म पुन अलमलमा परे । मा द्विविधायुक्त हुदै मैले प्रतीप्रस् गरेँ, “अली खुलस्त भनन आश्था के भनेको हो यो ?”

अनि आस्थाले काठमाण्डौबाट अग्रेजी विषय लिएर बि एड सकेको, अलि दिन दमकमै उसकी दिदीकोमा रहने र फुर्सद केही दिन भएकाले मलाई ट्युसनमा सहयोग गर्ने कुरा एकै सासमा खुलस्त पारी ।

मलाई आस्था बारे केही भन्नु छैन । उ हिजो दुख पाएकी पहाडबाट झरेर दिदीमा बसेर पढेकी केटी हो । मैले एउटा अविभावक जस्तै जिम्मेवारी हिजो दिएथेँ र आज पनि त्यो बोध ममा छ । यही कुरा मनन गरेर मैले भनेँ, “प्लिज आस्था ! जिद्दी नगर, म आफै पढाइ हाल्छु नि ।”

मेरो कुरा सुनेपछि केही दिन ऊ केही समय मेरो सामुमा देखा परिन । मैले शोचे ऊ सायद उच्च शिक्षा अध्ययनको लागि भ्याली रमना भै होली । तर एकदिन पुन ऊ मेरो ट्यूसन कक्षा सिद्दिए लगतै मसित बाटोमा भेटिई ।

“म आज गुरुआमाले बनाएको खाना खाने, भाइ बहिनीलाई पनि हेर्छु सर,” भनेर जिद्दी गर्न थाली । मेरो केही शीप नलागेर उसलाई लिएर मेरो गाउ भालुखुंडी गएँ ।

समृद्धि र नानीहरूसित आस्थाको परिचय भयो । उसले समृद्धिले बनाएको खाना औधि मिठो मानेर खाई । आस्थाले कुरै कुरामा समृद्धिलाई भनी, “गुरुआमा विशाल सर त साह्रै मजाको हुनुहुन्छ, बुझ्ने पनि, वहा जस्तो सहयात्री पाउनु हजुरको अहो भाग्य हो, उहासित म हमेशा बोलिरहन्छु हजुरलाई कुनै आपति त छैन नि !”

खै मलाई के भयो कुन्नि आस्थाको पछिल्लो वाक्यले बिचैमा बोल्न पुगेँ, “भयो भयो आस्था गफ टुंग्याउ, उता तिम्री दिदी बाटो हेर्दै हुनुहुन्छ होला ।”

समृद्धिले निशंकोच आस्थाको बचाउ गर्दै भनिन्, “बोल्न दिनु न त हजुर ! आस्था बहिनीलाई । आस्था बहिनी, मैले मेरो बुढोलाई राम्ररी चिनेको छु । वहाको फरासिलो बानीलाई अरूले अलि बेग्लै सोच्छन्, तर सधै परिवारप्रति उत्तरदायी र उदार हुनुहुन्छ । म यो पनि भन्छु कि वहाँसित आस्था मिल्दैमा के हुन्छ र ?”

समृद्धिको सारपूर्ण वाक्यांशले आस्था लज्जित हुदै चुप लागी । म आस्थालाई लिएर उसको दिदीकोमा पुर्याएर फर्कँदैछु, अनि फर्कदा मैले आफ्नी आस्थालाई सम्झेँ । उनको मप्रतिको विश्वासलाई कतै झर्न नदिने प्रण गरे । मेरो रफ्तारको बाटो क्रमशः हाइस्कुल, पाम्मीचोक, खरखरे, मिलडाडा, मगरगाउ हुदै मेरो घर नेरै पुगेको छु । यतिखेर म मेरो घरको आँगनमा छु मेरी समृद्धि र नानीहरू घर माथिदेखि मलाई नै हेरिरहेछन । मेरो कानमा भने अँझै पनि मेरी समृद्धिको उही वाक्यांश बार-बार आइरहेको प्रतित हुन्छ, “आस्था मिल्दैमा के हुन्छ र ?”

अस्तु :
लेखक : विवेक दुलाल क्षेत्री “दमक ”
स्थायी ठेगाना : दमक, झापा
हाल : अबुधाबी, यु ए ई
[email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *