हार हो यो, जित हो यो जिन्दगी
स्वच्छ माया प्रीत हो यो जिन्दगी
हाँस्छ कैले रुन्छ कैले आत्तिदै
घाम पानी शित हो यो जिन्दगी
आँसु झारी बस्छ एक्लै गाउँदै
वेदनाको गीत हो यो जिन्दगी
चाहनाले पार्छ साह्रै कष्टमा
रोज बढ्ने धित हो यो जिन्दगी
बाँच्नु पर्ने रैछ बोकी सम्झना
लाग्छ कालातित हो यो जिन्दगी
गर्नु सेवा पिल्सिएका जीवको
औषधी हो, हित हो यो जिन्दगी
(बहरे रमल मुसद्दस महजूफ)
-कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका
