उसले भन्यो रे, मैले पिउँछु र गजल लेख्छु
के थाहा उसलाई, मुटु सिउँछु र गजल लेख्छु
मार्न त मलाई यहाँ उद्यत छन् मान्छेहरू
मरेरै पनि भोगाईमा जिउँछु र गजल लेख्छु
पाइलै पिच्छे धराप राखेका छन् आफन्तैले
काँडामा पाउ राखेर हिड्छु र गजल लेख्छु
कोही खोज्छन् सारथी, कोही खोज्छन् लौरी
म त दुःखसँग एक्लै भीड्छु र गजल लेख्छु
आफ्नै कर्म दुखिया छ, अर्कालाई दोष दिन्न
आफ्नो छाती आफैले पिट्छु र गजल लेख्छु
