ईश्वर ‘त्रास’ मात्र हो । त्रासकै रुपमा आजसम्म ऊ जीवित छ । अदृश्य, अमूक शक्तिका नाममा हरेकको मस्तिष्क भित्र भय बनेर राज गरेको छ उसले । अफवाह फैलाएर कमजोर मान्छेहरूमाथि शासन जमाइरहन ईश्वर जन्माएका हुन् शासकहरूले । निर्जीव प्रतीकमा अमुक शक्तिको भ्रम फिँजाएर उत्पन्न गराइएको त्रासमा जीवनभर रुमल्लिन बाध्य छ मान्छे । रिझाएपछि केही पाउने आस गर्नु स्वाभाविक हो । त्यो आस नै आस्थामा परिणत भएको छ र ईश्वर आश्थाका नाममा नाचिरहेको छ । नरिझाए विद्रोह गर्छ भन्ने भयले सधैं पुजिन्छ ईश्वरलाई । आराधना, पूजा र भक्तिले शक्ति आफ्नो बसमा राख्न सकिन्छ भन्ने भ्रममा सधैं घुँडा टेकाइरहने अचूक औषधी पिलाएकाछन्,चेतनाको विजारोपण भएदेखि नै, ठेकेदारहरूले । यो घोर ‘‘व्याकमेलिङ’’ हो ।

‘धर्म’ ईश्वरसँग जोडिँदैन । ईश्वर अलग हो, धर्म अलग हो । अस्तित्वमा रहेका हरेक वस्तुको धर्म फरक फरक हुन्छ । एउटै वस्तुका अनेक धर्म पनि हुन्छन् । पानीको धर्म प्यास मेटाउनु हो, ओरालोतिर बग्नु हो, फोहोर सफा गर्नु, पखाल्नु वा बगाउनु आदि हो । आगोको धर्म न्यानो छर्नु, तताउनु, डढाउन, पोल्नु आदि हो । त्यस्तै…अलग वस्तुको अलग अलग धर्म ।
धर्म कुनै अमूक ईश्वरले निर्माण गरेर पालन पोषणका लागि मान्छेसामु पठाइदिएको हुँदैन । धर्मका निर्माता मान्छे स्वय म हुन् । धेरैलाई मान्य हुने, बुझाउँदा विश्वास गर्न सकिने वाणी वा विचारहरूलाई ऊभन्दा कमजोर विश्लेषण क्षमता भएकाहरूले सही मानी पछ्याउनाले विचार प्रदायकहरू धर्म निर्माता बनेका हुन् र कालान्तरमा जबरजस्त ईश्वर ।

कुरा रहृयो हिन्दू सनातन धर्मको । सनातन भनेको पनि इतिहास थाहा नभएको भनेको मात्र हो । थाहा नहुन पाउँछ किनकि कार्वन टेष्ट विधि यसमा लागु हुँदैन र प्रमाण पनि नस्ट भैसकेका हुन्छन् । श्रुतिबाट ग्रन्थ बनाइएका हुन् तर बाणी भने ग्रन्थकारका पूर्वजहरूका हुन् जसका प्रमाणहरू ग्रन्थकारले भेट्न सकेन वा नष्ट भैसकेका थिए । जब कुरा जादु वा चमत्कारका आउँछन् तव अभ्यास र कलाको संयोजनको आउँछ । थाहा नपाउनेले कम्प्युटरलाई पनि ईश्वरको बरदान मान्नु स्वाभाविक हो किनकि तिव्बतमा भुकम्म जाँदा गुम्राहमा रहेका दलाइलामाले पनि ईश्वरीय चमत्कार नै भनेथे तर युरोपियनहरूको प्रष्टिकरण पछि मात्र प्राकृतिक घटना भन्नेमा विश्वस्त रहे । हामी सबै एकै ड्याङ्का मुला हौं ।

धर्मलाई ईश्वरसँग जोडेर संसारले सदियौंदेखि हामी सबैमाथि व्लाक्मेलिङ गरिरहेछ । धर्म र ईश्वरको एउटै क्याप्सुल बनाएर, आमा बाबुकै रसायनद्वारा उसको शरीरका कण कणमा घुसाएर, जन्मसिद्ध स्टाम्प हानेर संसारमा पदार्पण गराइरहेछ मान्छेलाई । यो व्लाक्मेलिङको सृङ्खला सञ्चालन गर्ने फरक फरक धर्मका फरक फरकखाले ठेकेदारहरू छन् । कुनै धेरै चतुर छन् जो विज्ञानलाई पनि अध्यात्म भित्र छिराएर भौतिक उन्नतिको गतिसँगै आध्यात्मिक परिवर्तनको गतिलाई पनि साथसाथै दौडाइरहेछन् । उनीहरू धेरै मजबुत, व्यापक र प्रभावशाली छन् । कोही भौतिक विकासलाई तिरस्कार गरेर अध्यात्मलाई अलग्गै एक जड परम्पराको रुपमा सञ्चालन गरिरहेछन् । उनीहरूभने क्रमिकरुपमा कमजोर र साँगुरो घेराभित्र सीमित हुँदै गइरहेछन् । धर्म पनि एउटा कम्पनी जस्तै रहेछ जो सञ्चालक वा ठेकेदारको कला कौसल र चेतना अनुसार सफल वा असफल दुवै हुन सक्तोरहेछ ।

हिन्दू धर्मका ठेकेदार भनाइएका मठाधिस–पीठाधिस, पण्डित–पुरोहितहरूले समयको गतिसँगै धार्मिक गतिविधिहरूलाई पनि आधुनिकीकरण गर्दै लैजानु पर्ने हो । सिर्जनात्मक र व्यवहारिक बनाउँदै जानुपर्ने हो । तर आजसम्म यिनीहरूले यस्ता सोच विचारहरू कहिल्यै पनि तपाईं हामी सामु राखेको थाहा छैन । शास्त्रहरूलाई समयसापेक्ष चल्न सक्ने गरी परिमार्जन गर्ने तर्फ कुनै अभियान चलाएको थाहा छैन । कर्मकाण्डीय ब्रम्हणहरूले शास्त्रहरूको कार्यान्वयन गराउन जनसमक्ष जाँदा उत्पन्न भएका, भोगेका समस्याहरूलाई एकत्रित गरी माथिल्लो निकायमा पठाउने र माथिल्लो निकायले त्यसमा व्यापक छलफल र अनुसन्धान गरी पाठ्यक्रम परिमार्जन गरेझैं परिमार्जन गरी पुन: लागु गराउन तल्लो निकायका– भजन लेख्ने, पूराण सुनाउने, गरुण भन्ने पण्डित र श्राद्ध पूजापाठ गराउने व्राम्हणलाई तालिम प्रशिक्षण आदिको व्यवस्था गरेको थाहा छैन ।

एउटा कुनै ऐन, कानून वा विधान पनि विज्ञहरूको व्यापक अनुसन्धान, तर्क र छलफल पछि बहुमतले पारित गरी लालमोहोर लागेपछि मात्र लागु हुन्छ । फेरि महिना वा वर्ष नपुग्दै पुन:परिमार्जनको आवश्यक्ता पर्छ र गरिन्छ पनि । तर, समाजका हरेक आँख्ला आँख्लामा कसिएका धर्मका जुइनाहरू चाहिँ कुनै परिमार्जन विनानै हजारौं हजार वर्षसम्म निरन्तर थाम्न सक्छन् ? टिक्न सक्छन् ? मकाउँदैनन् ती ? खुकुलिँदैनन् ती ? धर्मका मन्त्रहरू ईश्वरले बनाई दिएकाका हुन् भनेर ईश्वरको शिरमा दोष जति खन्याइदिएर आफूलाई १००८, १०८, कुन्नि कति कति महाराज, महामण्डलेश्वर आदि नामाकरण गराउने, दास युगका कविला नायकहरूलाई झैं जता गयो उतै शिंहासन बोकाएर पुर्याए पछि मात्र आफू सवार हुने, पाल्की सजाउँदै र चम्बर हम्काउँदै लैनानु–ल्याउनु पर्ने, आफूलाई भगवानको दूत घोषणा गराई आफूले नुहाएको फोहोरी पानी अमृत जलको रुप भन्दै भक्त(दास)लाई प्याउने, आफूले खाएर छोडेको थालको जुठो भातलाई प्रसाद भन्दै दैनिक रुपमा भक्तहरूलाई बाँडेर खान लगाउने, दस हात परबाटै लम्पसार परेर ढोग्न लगाउने, इत्यादि जस्ता घोर आपराधिक कृयाकलापहरू गर्न गराउन छोडेको छैन समाजमा आजसम्म पनि । हिन्दू सनातन धर्मलाई मनखुसी सम्प्रदायहरूमा विभाजन गरी साम्प्रदायिक सङ्कीर्णताको घेरा भित्र हाल्दै शान्तिसाथ चलिरहेको परिवारका सदस्यहरूलाई हरतरहले भड्काएर नाना थरीका सम्प्रदायमा मिसाई एक सदस्यले छोएको अर्कोले नखाने, एउटा हिँडेको बाटोमा अर्काले छुइछिटा हाल्ने, बाबु छोरा, लोग्ने स्वास्नी, आमा छोरी विचमा नै हानाहान काटाकाटको स्थिति पैदागराउने खेलहरू खेलाइएको यथार्थता भोगिरहेछ समाजले अहिले पनि ।

हाम्रो हिन्दू समाज भित्रको धरातलीय यथार्थता यतिमात्र अवश्य होइन । भित्र पस्तैजाँदा योभन्दा लाजमर्दा र अति अन्यायपूर्ण सयौं क्रियाकलापहरू आँखै अगाडि असरल्ल देख्न सक्छौं । अब भन्नुहोस् यस्ता क्रियाकलापहरूले धर्मलाई बलियो बनाउँदै लगेको छ कि कमजोर ? अरु धर्महरू घुसपैठ गर्दै आएका हुन् कि हामी भित्रको अतिवादलाई थाम्न नसकेर हाम्रा सदस्यहरू पलायन हुँदैगएका हुन् ? हाम्रा कमजोरीहरू केलाएर सत्रुदलले आक्रमण गर्नु स्वाभाविक हो तर आफ्ना आङ्को भैंसी नदेखी अर्काका आङ्को जुम्रोमाथि खिल्ली उडाउँदा परिणाम कस्तो हात पर्ला ?
सरसफाइ गरेन भने सुनका हैन मोतीकै दाँत ठोके पनि दुई दिनमै घिनलाग्दा हुन्छन् । ननुहाई हिँड्नाले एम्पल कम्पनीका मालिक स्टिभ जब्स पनि जहाँ तहीँ घृणाका पात्र बनेका थिए तर हजारौं वर्षसम्म ननुहाउँदा पनि धर्मचाहिँ फोहोरी हुँदैन त ? ठँस् ठँसी गन्हाउैदैन ? पक्कै पनि गन्हाउँछ र गन्हाएकै कारण आज नेपालमा कुशल नेतृत्वदायी भूमिकाबाट पाखा लाग्दैगएको हो, यसमा दुई मत छैन ।

हिन्दू अतिवादी मठाधिस पीठाधिस तथा साम्प्रदायिक विभाजनकारीहरूले भौतिकरुपमा निरङ्कुस राजा महाराजाहरूको भूमिका वा स्थानमा आफूलाई उभ्याएर आध्यात्मिक रुपमा भगवानका सच्चा दूत घोषित गरी सर्बसाधारण जनतालाई आफ्ना भक्त(दास) बनाए र रातदिन आफ्ना सेवा सुश्रुसामा लगाए । धर्मका नाममा आर्थिक, सामाजिक, साँस्कृतिक, राजनैतिक आदि सबै क्षेत्रमा अनैतिक खेलहरू खेले । वैज्ञानिक, विकासात्मक तथा सिर्जनात्मक कार्यहरूमा एकजुट गराउनुको सट्टा आँखा चिम्लिएर, नाङ्गा हातहरू आकाशतिर फैलाएर हरिकिर्तन भज्नतर्फ समाजलाई धकेल्दै गए । यस्तो अकर्मण्यताले क्रमिकरुपमा हिन्दूकम्पनी(हिन्दू समाज) अवनतिको बाटो तर्फ अघि बड्दै गयो तर विश्वका अन्य चलाख कम्पनीका ठेकेदारहरूभने त्यसको ठिक विपरित: आँखा खोलेर, हात गोडा र मस्तिष्कलाई उत्पादनमुखी श्रमकालागि अहोरात्र चलाएर अगाडि बढ्दै गए । प्रतिफल स्वरुप आज उनीहरू मानवीय विकास सुचकाङ्कको अतिउच्च स्थानमा छन् र हामीहरू अति न्यून स्थानमा । के अब यी आपराधिक ठेकेदारहरूमा उपरर्युक्त विषयहरूमाथि चेतना जागृत होला र सिङ्गो समाजको कायापलटका लागि धर्मका प्रत्येक पाउ पाउमा र आफ्ना गतिविधहरूमा सकारात्मक परिवर्तनहरू ल्याउलान् त ? महाराजहरूले कदापि ल्याउने छैनन् । किनकि आफ्नो खुट्टामा आफैं बन्चरो हानेर चन्द्रसमशेर बन्न दुनियाको कोही पनि सुविधाभोगी तयार छैन र यो सिद्धार्थ गौतमको युग पनि होइन ।

तर,हिन्दू धर्मलाई साँञ्चै शुद्द बनाउने हो भने चाहिँ मनुको जन्म पछिको सम्पूर्ण इतिहासलाई सम्पूर्ण हिन्दूवादीहरूको एउटै महासम्मलेलनको एउटै घोषणापत्रद्वारा खारेज गर्नुपर्छ र मनु अगाडिका ग्रन्थहरूलाई शिर्षस्थानमा राखी अहिले बगिरहेको समय, दौडिरहेको विश्वपरिवेश अनुकुलको मानव मस्तिष्कसँग प्रतिश्पर्धा गर्न सक्ने, अँझ यो जालोलाई समेत दचभबप तजचयगनज गर्न सक्ने बहुआयामिक धार्मिक विधानको निर्माण गरी कार्यान्वयनमा ल्याउनु पर्छ । यसो गरिसकेपछि विचमा जन्माइएका सम्पूर्ण कपोकल्पित, भ्रामक, दानमुखी, बाम्हणवादी शास्त्रहरूलाई नष्ट गर्दै तिनीहरूको प्रयोगले उत्पन्न गरेका सबै नकारात्मक परिणामहरू प्रति क्षमा याचना गर्नु पर्छ । अब मात्र हामी : १. सत्य, निष्ठा, त्याग, समर्पण आदिको वास्तिविक प्रयोगको युगमा पुनस्र्थापित हुन पुग्छौं । २. महिलाहरूलाई देवीको रुपमा सम्मान गरिएको वा गरिने युगमा पुन: प्रवेश गर्न सक्छौं । ३. करोडौं ऋषीमनहरू जन्माउन सक्छौं । ४. सबै मानव मनहरूलाई आत्मसम्मानका साथ जिउने आधारहरू तयार गर्न सक्छौं ५. मानवीय विकास र सम्मृद्धिलाई पहिलो स्थानमा राखी एउटा गौरवमय इतिहासको निर्माण गर्न सक्छौं ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *