अमुर्त बोध जो मुटुको पिंधमा हुन्छ
जति निकालेर फाल्न खोजौ
भोकाएको जुका जस्तै आँतमा टाँस्सिरहन्छ
र चुसिरहन्छ
खुशीको परागहरू
हर्षका पलहरू
उमंगका अमृत रसहरू
कदाचित यसैलाई डर भनिन्छ

आज भालेको डाँकसँगै उठेर घर धन्दा गरें
घर, गोठ, बस्तु भाव, चुला चौका के गरिन?
सबै सबै कर्म र धर्मको साथ पुरा गरें
तथापी,
डाडुले हत्केलामा तिरिक्क झोल राखी चाख्दा
तिहुनमा नून चर्को भएछ
हँसले ठाउँ छोड्यो
अब के भन्ने हुन घरका सदस्यहरूले?
जो, ओछ्यान छोडेर सिधै भान्छा पस्छन
जो, आठ घण्टे जागिरे छन
जो, खटनको भरमा पेट भर्न पल्केका छन
अब के भन्ने हुन्?
कदाचित यसैलाई डर भनिन्छ

स्वामी नारायण कार्यलयबाट थाकेर आउनुहुन्छ
बाटैबाट कोट र टाई खोलेर
सर्टको आधा उधि टाँक खोली भ्याएर
गृह प्रवेश गर्नुहुन्छ
आग्रह होइन, खटन गर्नुहुन्छ
“एक कप चिया ल्याउ”
मालिक बिनाको बेसहारा कुकुर
जो, आदेश पाउने बितिकै पुच्छर हल्लाउछ
मतलब चिया पेस गर्छु
मनमा अनेक संकोच भरेर
कतै, चिनी बढी भयो कि?
चिनी लागेन पो कि?
होइन, होइन दुध कम भयो कि?
धन्य भएँ!
आज आकाश गर्जेन
मनको बादल मडारिएर
धर्ती रुझ्नु परेन ……

आज, पश्चिमबाट आभा छरिएको कारण त!
सयनमा पल्टेपछि चाल पाएँ
स्वामी नारानको छट्पटी देखेर
आँखाको नानीमा खट्पटी देखेर
तिर्खाएको भनौ कि भोकाएको?
जे भनौ, उहा पूर्ण हुन चाहनु हुन्थ्यो
तृप्त हुन चाहनु हुन्थ्यो
अनि मस्त निदाउन चाहनु हुन्थ्यो
म बुझ्न सक्थें, स्वामी नारानको मनोभाव ……
र त, सुम्पि दिएँ…
रजस्वालाको पीडाले प्रताडित यो देह उहालाई……
किन कि,
मलाई सुन्नु थिएन सौता हाल्ने धम्कि,
मलाई सुन्नु थिएन मेरो कमजोरी,
मलाई सुन्नु थिएन नाना भाती अपजस,
र,
सुन्नु थिएन मेरो त्याग र प्रेममाथि अविश्वास
कदाचित यही नै डर हो ……

कल्पना राई
मिति 2015/07/16
ठेगाना बिहीन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “नारी र डर”

  1. सुन्दर लेख
    एउटी नारी को वेदनालाई एउटा, एउटा शब्द,शब्द जोडेर नारी जीवन को दुख को प्यासलाई शब्दरुपी पानी घट्घटी पिलाए दिनुभए छ अति सुन्दर लेख कल्पनाजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *