सर्वत दान

धार्मिक स्वभाव भएको परिवार थियो श्रेष्ठज्यूको । चाडपर्वहरुमा पूजापाठ दान दक्षिणा भोजन आदि गराउने चलन थियो उनको । उनी भन्दा पनि उनका श्रीमती धर्मकर्ममा सारै एकाग्र भएर लागेकी हुन्थिन् । अक्षय तृतीयाको पर्वमा मन्दिरनेरका विद्यालयका आवासीय वटुकहरुलाई सातु सर्वत खुवाउने उनको विचार भयो । उनी धन र मनमा पनि उदार थिइन् । सर्वत मात्र होइन छाता र जुता पनि दान गर्ने उनको सोच भयो । यसैले सर्वत सातु खुवाउने र छाता जुत्ताहरु दान दिने बन्दोवस्तका साथ दिउसो घाम लागेको र तिर्खाएको मौका पारेर विद्यालयतिर गइन् ।
विद्यालयका बुटुकहरुलाई सर्वत खुवाउनेको भिड जस्तै रहेछ । कसैले छाता, कसैले रेनकोट त कसैले पानी खाने बाल्टीको दान भइरहेको रहेछ । श्रीमती श्रेष्ठले पनि पुरोहितको मन्त्रोच्चारणका साथ संकल्प गरेर आफूले बटुकरुलाई दान गर्न ल्याएको बन्दोवस्तीका सामानहरु सबै बटुकहरुलाई दान दिइन् साथै खाममा हालेर उदारताका साथ दक्षिणा पनि गरिन् । सर्वत दान गरेर उनी आत्मसन्तुष्ट भइन् । सन्तोकको भाव उनका अनुहारमा देखियो ।
बटुकहरुलाई उपरीमाथि थुपरी भयो । सर्वत ता अघि नै अघाएर अलओल्ले भइसकेको रहेछ । कसैले यसो जुठोसम्म हाले र नदेख्ने गरी घोप्ट्याए । कसैले मुखै लगाएनन् । कसैले नयाँ नयाँ बहाना पारे ।
श्रीमती श्रेष्ठ आत्मसन्तुष्टी लिएर घरतिर फर्किंदै थिइन् । मन्दिरनिर आउँदा उनले देखिन् एक भिखारीलाई जसको थाप्लो खुइलिएको र खालि थियो । घामले डढेको थियो । सायद उसले घाम पानीमा छाता देखेको पनि थिएन होला । उसका साथमा एउटा भर्खरको पिप्सो पनि थियो जो मध्य घाममा “पानी पानी” भनेर कराइरहेको थियो । त्यस भिखारीका अघि ओछ्याइएको थोत्रो बोरामा पर्ने गरी श्रीमती श्रेष्ठले सानो पोलिथिनमा ल्याएको एक मुठ्ठी चामलमध्येबाट केही मन्साइन् । चानचुने पैसामध्ये एक रुपियाँ फालिदिइन् । भिखारीका आँखा अर्कातिर थिए । त्यसै बेला श्रीमती श्रेष्ठले मन्साएका चामल परेवाको हुल आएर रित्यायो । उनले फालेको एक रुपियाँ मात्र बोरामा टल्किइरह्यो, उनी भने अर्काृे भिखारीलाई चारो छरेझैं गरी छरेर अघि बढिरहिन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *