Skip to content


आँखाले तन्तनी
सौन्दर्य पिएर
मातेको छ यो मन
रातभरि बर्बराउँछ
म निदाउन सक्तिन ।
शटर तानेर परेलीको
आँखा बन्द गर्न खोज्छु
मनभरिको कसिङ्गरले
आँखा बिझाउँछ ।

पानी बगिरहन्छ निरन्तर
बग्दै बग्दै आउँछ
बग्दै बग्दै जान्छ
खोलोमात्र जहाँको त्यहीँ
खोलो बग्न सक्तैन
केवल सुक्न सक्छ
मेगावाट छैन खोलामा
बाढीको विनासमात्र छ
दुई किनारलाई साक्षी राखेर
पानी बग्दै बग्दै आउँछ
पानी बग्दै बग्दै जान्छ
कसैलाई फुर्सद छैन
एकैछिन किनारमा गइबस्ने
कत्ती नयाँ पानी बगीआयो होला ?
कत्ती नयाँ पानी बगीगयो होला ?
माथि–माथि हिमालबाट
पर–पर समुद्रतिर !
सपना देख्नेगरी
निदाउँन पाए पनि त हुन्थ्यो नि !
खुट्टाले नपुराएका ठाउँमा
सपनाले पुर्याउँछ ।
तर खोइ त
सपनाको पनि कुनै टुङ्गो छैन !
दिनभरि आँखा डुल्छ
रातभरि मन
सपना पनि टाढा टाढा भएको छ !
केवल आँखा आँखामा म छु
मन भित्रभित्र म छु
आँखा र मनको बिचमा
टुक्रिनै लागेको नेपाल भएको छु हौ म त !

(फेब्रुअरी २०११)

Leave a Reply

Your email address will not be published. Required fields are marked *