परिवेश (क)
दुख: र मिहनेत गरेर एक छाक राम्रो खान लाउन मात्र हैन, हात कानमा टन्न गहना लगाउन र कालो चस्मा र हिल जुत्ता लगाएर स्कूटीमा घुम्नसम्म पनि कमी गराएका थिएनन गुणा बहादुर भण्डारी (नाम परीपर्तन) भाइले, आफू शिक्षित मात्र भए पनि उनका दाइले, यिनलाई विवाह गर्नु पूर्व राम्रो भारी बोक्न र निरोगी भएकीले पूर्वी पहाड ओखलढुङ्गा तिरकी रेग्मी परिवारकी काम गर्न काठमाण्डौ आएकी भए पनि आफ्ना भाइलाई विवाह गर्न बिचार गरेका थिए । यिन्का परिवार पनि राम्रा वरको खोजीमा त थिदै थियो । तिथि मिति जुर्यो २०५० सालमा । उनी साइली बुहारीको रुपमा सिन्धुपाल्चोकको बन्धनभन्ने गाउमा पुगिन् ।
पहाडमा दाउरा घाँस, खेती पाती ओरालो उकालो त दिन चर्या नै थियो। एउटा बुहारीले गर्नु पर्ने मान्नुपर्ने बेहोर्नु पर्ने सबै कुरा व्यहोरिन पनि । विवाह पछिको आशा वा चाहना भनेको बाल बच्चाको हो त्यो पनि यिनीबाट २०५४ सालमा भयो । अँझ मान्छे छोराकै आश गरेको हुन्छ उनले छोरै जन्माइन । छोरो जन्म्यो हर्ष बडाई भयो परिवारमा र आफन्तहरूमा । सुत्केरी उत्रेको केही दिनहरूमै खेती बारीमा पिठ्युमा कोक्रो बोकी काम काज शुरु भयो । अर्को बच्चा छोरा वा छोरी जे भए पनि ठीकै थियो ।
दिन बित्दै गयो । डेढ वर्षपछि अर्को पनि छोरा नै जन्म्यो । खुशियाली, हर्ष चल्ने नै भयो । यी समयहरूमा पहाडतिर पनि सरकार विरोधी कृयाकलापहरू मौलाएको थियो, घरघरबाट केटा वा केटीहरू माओवादीमा फौजी बन्न जान अनिवार्य जस्तो भएको थियो । यो जिल्ला पनि अछुतो रहेन अँझ पाखर, पेट्कु, बन्धन जस्ता गाउँ त प्रभावित नै थिए बसाइ सर्ने बाध्यता धेरै परिवारमा थियो, कारण या धन या जन दिनु पर्थ्यो । यी चार जनाको परिवार पनि काठमाण्डौ सर्ने बिचार गरे । काठमाण्डौ अर्थात उपत्यका यस्तो ठाउँ हो जहाँ पचहत्तर जिल्लाका मानिस बाहेककाहरू पनि स्थायी बसोबास गरी बसेका छन् । उनका पनि दाइ पहिले देखी नै काठमाण्डौ आएकोले उनकै भरोसामा आए र यिनलाई सहयोग गर्ने नै भए, उनले जानेको गाडी चलाउने, ढुङ्गा/ गिट्टी, बालुवाको व्यवसाय सिकाए उनले सिके, मिहनेत गरे । यसरी पनि पहाडका केही मानिस मेहनेती नै हुन्छन्, उनी पनि मिहनेती भए किनभने दुई छोरालाई पढाउने र एउटा घर बनाउने प्रायको पहिलो इच्छा हुन्छ । गाडीमा मिहनेत गर्दा गर्दा उनले घडेरी जोडे र बेचे नाफा कमाए त्यो बेला र यो बेला पनि प्लटिङ्ग र घर/घडेरीको व्यवसाय फस्टाएकै थियो, र अहिले पनि राम्रो छ । उता घडेरी व्यवसाय यता ढुङ्गा गिट्टी बालुवाको व्यापार राम्रो चल्यो र घर पनि बनाउन सफल भए गुणबहादुर भाइ ।
यता छोराहरू हुर्कदै मात्र हैन बोर्डिङ्ग स्कुलमा पढाउन समेत सक्षम भए। गहना जोड्न थाले । छोरी मान्छेको प्रथम इच्छा भनेको नै सुनका गहना, राम्रा राम्रा साडी सिंङ्गारका सामान खरिद गर्नु हो, भयो पुग्यो भन्ने शव्दहरू आउदैनन यस्ताकुरामा । गुणबहादुरका मिहनेतले दिन दुना रात चौगुनाका हिसावले आर्थिक अवस्था राम्रो हुन थाल्यो । तर मान्छेलाई जति भए पनि पुग्दैन, पुग्दो रहेनछ, यो मामलामा भगवान पनि हार खानु पर्छ जति सम्पन्न गराए पनि चित्त बुझाउन सकिदो रहेनछ, झन दियो झन् चाहिने! भए पछि मान्छे यश आराम खोज्दछ यो पनि मानिसको स्वभाव हो । नेपालका छोरी मान्छेहरूमा घरायसी हिंसा बढेकोले, पुरुष प्रधान देश मानिने यो मुलूकमा थिचो मिचो भएको छैन भन्न सकिदैन । त्यसकारण भौतिक संरक्षण र आर्थिक सवलिकरण गर्न सरकारले छोरी मान्छेको नाममा घर जरग्गा दर्ता शुल्कमा छुट दियो, यसकारण यिनले पनि आफूले निर्माण गरेको चार तल्ले घर आफ्नी श्रीमती मानशोभा भण्डारी (नाम परिवर्तन) को नाममा गरिदिए ।
आर्थिक सम्पन्नता सगै ज्यामी काम गर्ने मान्छेलाई अब स्कूटी किनी दिनु पर्ने भयो । बेलामा बा-आमाले पढाइदिएको भए पनि हुने जस्तो लाग्न थाल्यो यिनलाई । किनभने संसारमा बिक्ने बस्तु भनेको शिक्षा रहेछ । मानशोभाको फाईफुट्टी नै अर्कै रह्यो, हुन त यिनको पहाड बसाइको बेलामा चरित्रमा प्रश्न उठाइएको भए पनि प्रमाण अभावमा गुपचुप रह्यो भन्ने परिवारकै सदस्य मध्येका एक जनाको भनाइ थियो। भर्खर ३७ वसन्त पार गरेकी दुई छोराकी आमा यिनको केही फरक स्वाभावकी भनेर देउरानी जेठानीहरूले पनि बताउने गर्छन् । उनमा कमी थियो त पढाई अन्यथा कुनैलाई गन्नेवाला थिइनन । काठमाण्डौको ठाउ महंगी बढेको बढ्यै छ एउटै कोठाको दुई/तीन हजार पर्छ यिनकोपनि घर भाडामा लगाइ बीस /बाइस हजार त बहालबाटमात्र आउने, दुखका दिन गए । अब यिनको मन भाडिन थाल्यो । बेलुकी खाने पिउने र मस्ती गर्नेतिर तानिन थाल्यो, रम्न थाल्यो । आफै स्कूटी चलाई जहां जान वा पुग्न पनि सकिने, मात्र रात आफ्नो घर आउनु पर्ने हुन थाल्यो, जेठो छोरो पनि कयौं पटक ममीसँगै गएको वृतान्त छ ।
प्रवेशिका पनि पास गर्यो छोरोले, सानो छोरोपनि दश कक्षामा पढ्ने भयो ।जमाना बदलिदो छ, रहनशहन बदलिदो छ मनलाई राक्ने अंकुशे छैन, पैसा छ मन उड्छ, बिउटी पार्लरमा मेकअप गर्यो क्या हैण्डसम ! घर घरमा कम्प्यूटर छन् उनी कहां पनि नहुने कुरै भएन ! फेसबुकको जमाना नयां साथी बनाउने, मीठा मीठा गफ हुने नै भयो । यिनको पढाइ कम भए पनि जाहां चाहा वहां राह भने झै यिनको घरमा डेरा गरी बस्ने एक जना श्रेष्ठ परिवारमा विवाह गरेकी सेर्पा थरकी महिला बस्थिन उनकै घरको कोठामा जसका श्रीमान बिदेश बस्ने गर्थे र यिनी शिक्षित थिइन त्यसैले यिनै मार्फत फेसबुक एकाउण्ट खोली आफ्नो मेकअप गरेको पोशाकमा बिभिन्न पार्टी, चाड पर्वहरूमा दिएको पोजको राम्रो-राम्रो फोटोहरू स्कानगरी, पठाउन थालिन आफ्ना नया साथीहरूलाई । एउटा अकाट्य र चाख लाग्दो कुरा के छ भने महिलाले पुरुषको र पुरुषले मिहलाको खोजी हुँदो रहेछ यध्यपि घरमा श्रीमान श्रीमती भएता पनि बिपरित लिङ्ग प्रति बढी आकर्षण हुदो रहेछ ! यिनी बेलुकाको समयहरू यस्तैमा खर्चन थालिन । अँझ छोरी मान्छेले ह्विस्की, बियरखान सिकेपछि त के होला ? यिनलाई पनि संगतले पल्काइ दियो र खान थालिन । चाड-पर्वमा वा अफ्ना घरमा खान बोलाएको बेला आफूले मान्नु पर्ने जेठाजु/जेठानी आउदा पनि कुरा घुमाएर खाने बित्तिकै फर्कीदे हुने जस्तो व्यवहार देखाउन थालिन किनभने आफू स्वतन्त्रतापूर्वक पिउन र रमाउन सकियोस् ।
सम्पन्नता भएपछि विपन्नता हुनेले आफन्तहरूको सहयोग खोजेको हुन्छ र आशा राख्नु पनि स्वभाविक हो । संसारकै व्यवहार भनौ जहाँ माइती सम्पन्न भए छोरी ज्वाइलाई सहयोग र छोरी ज्वाइ सम्पन्न भए माइतीलाई सहयोग हुने गरेको छ, तर कतिपय अवस्थामा वा परिवारमा आर्थिक सहयोगले पानी बारा बार र बाटो बन्द मात्र हैन बेइज्जति र कुटपिट समेत भएका घटना छन् ।
पैसा भए पछि मन इच्छा बड्दै जानु एक हदसम्म स्वाभाविक भए पनि जसले खुट्टा टेकायो, जसले डोको बोकाइबाट स्कूटी सवारमा पुर्यायो त्यो परिवार प्रतिको जिम्मेवारी र इमान्दारी छोड्नु हुदैन थियो । तर मानशोभाले यी सबै कुरा बिर्सिन र जीवन भनेकै खानपान, मोज मस्ती हुन् देवता अथवा भगवान केही होइन कोही छैन छ त मात्र आफ्नो शरीर र यसमा सिङ्गारिने बस्तु ! छोरा हुर्की हाले श्रीमान् व्यवसायमा व्यस्त आफू त फूर्सदी भइहाल्यो नि ! अब यिनले घरमा पकाएको भाँडा माज्न र लुगा धुन पनि भाइ बुहारीलाई एउटा कोठा दिएर दलाउन थालिन । स्त्रीहट भए पछि श्रीमानले पनि मान्नै पर्यो, गरीवीको कारण भाडै माज्न परेपनि दिदी भिनाज्यू र भान्जाको त हो नि ! कमसे कम ओत लाग्न त पाइयो भन्ने हेतुले भाइ बुहारी पनि आश्रय लिन आए । समय बित्दै गयो । फेसबुक चलाउने र नया साथी बनाउने क्रममा कास्की पोखरा तिरका एक जना ढुङ्गाना थरको व्यक्तिसँग विदेशमा रहदाकै बेला संम्पर्क भयो। धेरैलाई फेसबुकले मिलाएको कम, फुटाएको बढी छ अर्थात बिगारेको छ । सेर्पिनी मार्फत उनलाई नजिक्याई दियो र आकर्षण मात्र हैन घर फोडेर बेइजत्तीसम्मको अवस्थामा पुर्यायो । होनाहार दैव नटार भने झै, यिनलाई त्यो मान्छेसँग भेट्न मन लाग्यो, मीठा मीठा शव्दजाल त बुनिएर आदान प्रदान भएकै थिए, मतिबिग्रेपछि खति हुनु स्वभाविक थियो । छदा छदैको श्रीमान, सम्पत्ति दुई छोरा छोडेर अब अर्कै दुनियाको सपना देख्न थालिन यो बिन्दूमा आएर मान्छे मुढ हुदों रहेछ । पहिलेको दु:ख बिर्सदो रहेछन, श्रीमानले पो अर्को केटीसँग सम्पर्क बढाएर यिनी जस्ता ग्रिहिनीलाई हिंसामा पारेको थुप्रै उदाहरण छन् । तर यहा त श्रीमान्लाई छोडेर अन्तै सम्बन्ध राख्ने बातावरण मिलाउन लागिन् ।२०७२ साल बैसाख १ गते नया वर्षको दिन त राती निकै ढिलै घर आइन । एक कान दुई कान मैदान भने झै गुण बहादुरले चाल नपाउने कुरै भएन, गालीगरे, परिस्थिति नबिग्रियोस भनेर सम्झाएको मात्र हैन आफ्ना दाजुभाइमात्र राखेर छलफल समेत गराई माफी माग्न लागाए । छोराको विवाह गर्ने बेलामा बेइज्जत देख्नु पर्ला भनेर सम्झाउनसम्म सम्झाए । यिनको आनी बानी बिग्रिसकेको थियो, घरमा खाना पकाउन पनि मुश्किलले झारो तिर्ने गरी मात्र बनाउथिन भन्न त अब बाहिर नजाने र आफू सुध्रने बाचा गरेकी थिइन तर लागेको बानी हत्त पत्त कहां छुट्छ र! श्रदा विनाको खाना कस्तो होला ! तर के गर्नु बिनाश काले बिपरित बुद्धि ! अन्तत्वगत्वा बैसाख ६ गते राती पतिकैघरबाट आफूसगं भएका गरगहना तथा लत्ता कपडा सबै लिएर तिनै परपुरुषसँग टाप ठोकिन् । एक पटक पनि सम्झिनन् ती दुई होनाहार तामाका मुना जस्ता हुर्केका छोराकाबारेमा ! जसलाई जन्माउदा कति कष्ट भएको होला, हुर्काउदा कति दु:ख सहनु परेको होला! पति जसले दिनरात खाई नखाइ यही पूर्ण परिवारकालागि न दु:ख गरेका हुन्, परस्त्रीको नाम पनि लिएनन् तर आज यिनलाई नै छोडेर साशु बन्ने बेलामा नयां बुहारी बनेर अर्को कर्म घरमा यौवनको छटा चलेर परिवार, समाज, हुर्केका छोरा, माइती कूनैको मुख नहेरी माफी दिंदा दिदै पनि कुबुद्धिले कुनैको डर नमानी डोराएर लग्यो, ढुगांनाकी कान्छी श्रीमती हुन पुगिन सायद लानेले पनि सुझबुझ नगरी लगेको हुनु पर्छ। आफूभन्दा पांचवसन्तले जेठीलाई कान्छी बनाउन पाउदा अल्पानन्द मात्रै हुनु पर्छ । सायद यिनीहरूले सोचेका थिएनन होला यसरी पति पत्नी बनिन्छ भनेर ! अथवा मानकुमारीको अनुहारभन्दा पनि गरगहनाको लोभ पो हो कि? वा क्षणिक अवधीको मस्तीमात्र सोचेका थिएकी उनीहरू नै जानून! तर पूर्वपरिवारमा भूइचालो गयो र भत्काइदियो संरचना दिनचर्या । छोरी मान्छेको भाग्य ! कति चांडो घर परिपर्तन हुन्छ, वातावरण, रहनशहन र व्यवहार बदलिन पुग्छ घिउ नपचेकै हैन त ?
संसारमा विवाह गरेर गइसकेपछि धेरैले, धेरै समस्या, दु:ख, पीडा सहेका छन् । कुनैका सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेर मृत्यु हुन्छ, कुनैका जयजन्म नभएर, कुनैका छोरा नभएर, अर्की सौता ल्याएर, कुनैका कुलतका कारण, कसैका सासूसशूराको खप्पिसका कारण, कसैका दीर्घ रोग लागेर कष्टमा पर्दछन् यिनकोचाहि पथ भ्रष्टभएर भन्नु पर्ला काठमाण्डौबाट कतैनगएकी नपुगेकी स्थान पोखरा पुगिन तर यिनी करोड पति थिइन । यिनको नाममा गुणभाइको घरजग्गा दु:खले जोडेको सारा सम्पतिकी मालिक्नी थिइन अँझै पनि । अब विलख बन्धनमा परे ! एउटै परिवारका एकाघरमा खाने बस्ने मान्छे पनि अब बैरी पो भए ! छोराले आमा भन्नसम्म पायो तर बाबुले पत्नी भन्न पाएन। कानूनीरुपमा उनीहरू अब अलग हुनु पर्ने भयो । सिन्दुर हालेर बाजा बजाउनै पर्दैन, यिनी दोस्री पत्नी भइसिकन्, काठमाण्डौलीबाट अब पोखरेली भइन । न छोराहरूको मतलव भयो न माया नै घरजम नै अर्को भयो वाह क्या छ समाज अनि संस्कृति ! कस्तो नाता छ श्रीमान श्रीमतीको ! यिनलाई लाग्यो होला अँझै अठार वर्षे जोश अनि नवजवानी छिन् त्यस्ता छोरा त कति पाउछिन कति उनलाई नै थाहा होला ? अर्काको घर बत्काउने (उज्वल ढुगांना) पति कम चतुर थिएनन होला, हुन त उनको पूर्व पत्नी पनि अन्तै हिडी सकिन रे ? पांच वर्षकी छोरी छोडेर यिनको बानी व्यहोराको आंकलन गरेर हो कि, विदेशतिर सम्बन्ध गासेको चाल पाएर हो थाहा हुने कुरै भएन । जे होस छोरा छोडेर झट्केली छोरी स्याहार्न साइलीबाट कान्छी बुहारी हुन पाउनु चान चुने भाग्य हो र? बाटो, धार, व्यवहार र हावापानी फरक भयो । यति मात्र हैन नाता कुटुम्ब र कूल इष्टदेवता समेत फरक भयो अनि बदलियो भण्डारीबाट ढुगंनामा, कौशल्य गोत्रबाट कौशिक गोत्रमा । सामाज, नातागोतामा त चित्त बुझ्ने कुरै भएन उनका माइती पक्षमा पनि खलबली मच्चियो पट्टकै चित्त बुझेको छैन तर नबुझेर के गर्नु ? यी दुई नव दम्पतिलाई कसरी चित्त बुझेको हो थाहा हुने कुरै भएन ।“एक तरफ है सारी दुनिया, एक तरफ है तेरी चेहरा” को हिन्दी गीत हु बहू मिल्छ यो घटनामा ।
खाइ नखाइ पसीना बगाएर कमाएको सम्पत्ती यी लत्ता छाडा महिलालाई तेत्तिकै छोड्ने कुरै भएन ।गुन बहादुरले पनि गर्नुसम्म गरे, मालपोतमा रोक्का गरे प्रमुख जिल्ला अधिकारी र प्रहरीकार्यालयमा उजुरी दिए नजिकको पार्टी गुहारे । दाइरुको आफन्तको सहयोग पाए, केही पैसा पनि खर्चे अन्तत्वगत्वा यिनका जोडीलाई पोखरा पुगेर पत्ता लगाए र पहिलो प्रयास १२/१५ दिनमै यिनले लिएर गएकी फोटोहरू र लत्ताकपडा प्रहरी मार्फत ल्याउन सफल भए । झण्डै २६/२७ दिनमै यी दुवै भगौडा नाटकीय जोडीलाई प्रहरीमार्फत ट्याक्सी रिजर्भ गरेर काठमाण्डौ झिकाएर घर जग्गा आफ्नो नाममा पासगराए सुरक्षित हुन सफल भए साथै चार तोला सुन समेत बन्दगी निखन्न पाए । यो सम्पत्तीको आशाले विवाहको नाटक गरेको हो भने ढुगंना सोह्रैआना ठगिए । यती मात्रै हैन आफ्नो भागमा आउने उनलाई पन्छाउने नियतले बीसलाखको कागत प्रहरीमा गराए र खुसीराजीले अर्को विवाह गरेको हो भनी औठाछाप लगाइन मानशोभाले र साक्षी बसे माइती पक्षकाहरू । अब उनीसँग आठदश तोला सुन र एक डेडलाख नगद मात्र साथमा रह्यो होला । दु:ख त यिनको पनि थियो होला पूर्वपतिको घरमा ! सायद ढुंगना पनि अब छांगाबाट खसेको हुनु पर्छ, गुनभाइको खासै केही गुमेन श्रीमती बहेक गुम्यो त छोराहरूको आमाको न्यानोमाया । यिनको त अब धन सम्पत्ती छ एउटी पतिपीडितले पत्याउलिन नि ! जानाकारीमा आएसम्म गुणभाइले जेठो छोराको केही असहमती भए पनि पछि मनाएर एक महिना नवित्तदै २०७२ साल साउन ६ गते सापकोटा थरकी पूर्वपतिले छोडेकी दश वर्षकी छोरीकी आमा यिनको सहारा बन्न आइन रे ? एक जोडी टुक्रिएर दुई जोडी बन्न पुगेको यी दोस्रा दोस्रीहरूको जीवन राम्रै बन्ला त ?
परिवार (ख) :
गाउँ घरमा सानै देखी देखेको, चिनेको घाँस दाउरा बोकेको आनी बानी थाहा भएकाहरूसँग मन मिल्न मात्र हैन घरजम गरेको पनि प्रशस्त उदाहरण छन् । मकवानपुर जिल्लाको पहाडी बस्ती नामटारको पनि एउटा यस्तै जोडी बन्न पुग्यो राम पाठक र रत्ना कुमारीको । उनीहरू एक आपसमा जानिए, चिनिए, उमेर बेस मिल्यो । पाए मागी विवाह नपाए भागी विवाह गर्नेसम्मको टुङ्गोमा पुगे, नभन्दै यिनलाई नै रोजे रत्नाको माता पिताले शुभ विवाह सम्पन्न भयो । नपाउनू पनि किन ? आउने र ल्याउनेको मन मिलेपछि नव्वे प्रतिशत कुरा मिली हार्छ नि ! घर जम भयो अब यो परिवारमा धेरै दाजुभाइमा यिनी साइली बुहारीको रुपमा भित्रिन पुगिन । अब बिष्ट परिवारबाट पाठक परिवारमा घरजम भयो । कर्म चल्यो अब चलाउनु थियो घरजम, परेवा जस्तो मिलेको जोडी परीश्रम गर्न थाले । विहान बेलुका कडा मिहनेत गर्न थाले ठूलो परिवार भएकोले चितवनको पिप्ले गाविसको गड्यौली भन्ने स्थानमा बसाइ सराई गरेर ऐलानीजमिन किनेर खेती गर्नथाले कोही भाइ गाडी चलाउन थाले । कोही भाइ विदेश जान थाले । घरकी बुहारीहरू मिलेर गृहस्त चलाउन थाले । नभन्दै केही वर्षमै आयस्थर बड्न पनि गयो केही सालमै भिन्दो पनि भए । एक छाक खान एक धरो लगाउन कुनै कमी भएन। सबै भाइ एकभन्दा एक भएर आए । यो भाइ चाहि कमजोर भन्ने ठांउ रहेन । बिरलै हुन्छ यस्तो औसर समाजमा ! बहिनीहरू पनि विवाह भएर यतै बस्न लागे झन बलियो, राम्रो र ठूलै परिवार बन्यो पाठक परिवार । यी साइला साइली सामन्य तरिकाबाट कमाइ गर्दै गए। विवाह भएको केही वर्षैमै पहिलो छोरो जन्मे । हर्ष बडाइ भयो । साइला विदेश जाने र विदेशबाट पठाएको रुपैयाले जतन गरी जग्गामा लगाउन थालिन । क्रमश परीश्रमको फल आउदै गयो । अर्को पनि छोरै भयो । अब दुई छोरा समेतलाई पालन पोषण गर्न दु:ख भएन । जेठोले प्रबेशिका परीक्षा पनि पास भयो कान्छो नौ कक्षामा अध्यन गर्दै छ । समय चलायमान छ बित्दै गयो समय न कुनैको हातमा छ न रोकेर रोकिन्छ । उसको गति निरन्तर छ चलिरहन्छ उसलाई दुख्दैन, पोल्दैन । समयलाई तातो चिसो पनि हुदैन बस एउटै गति एउटै चाल चलेको चल्यै छ । साइली रत्नालाई घर धन्दामै व्यस्त हुन्थिन । बन गएर स्याउला, घांस गाई गोठ सफाई खेती पाती गर्दै जादां खै कुन बेला देखी हो खोकी लाग्न थाल्यो वास्ता गरिनन् । जावो खोखित हो नि! दवाएर लगिन राती च्याप्दथ्यो सोच्थिन भोलि दवाइ ल्याएर खानु पर्ला ?
भोलि पल्ट स्थानीय औषधी पसलबाट खोकीको दवाइ लिएर खाइन, मनले भन्यो अब निको भइहाल्छ, मनोवैज्ञनिक असर जस्तो अलि विसेक भएको जस्तो हुने कामको चाप घट्नेवाला छैन श्रीमान प्रदेश छोरा विद्यालय पकाउन तुल्याउनु खेती, गोठ खाने फूर्सद त छैन । यसो टुसुक्क बस्यो कति काम बितिसकेको हुन्छ । गाई दुन, दूध पसल लान, खेती भित्र्याउन मेला पात जान सधै जसो यन्त्रजस्तै हुनु पर्थ्यो । दवाई सकियो खीकी सकिएन, घरायसी दवाई पनि जाने, बुझे बताए जति शुरु गरिन । तर रोग ठम्याउन सकिएन, रोग लम्याउन चाहि महाभूल हो, ठूलो गल्ती हो र मुर्खता पनि, एक्काइसौ युगमा, शहर शहरमा अस्पताल च्याउ उम्रेसरी खुलेका छन् । सेवाभन्दा पनि मेवाको आशाले लोभ्याउछन् । स्थानीय औषधालयले वित्थामा पैसा सकायो रोग खुट्टयाउन सकिएन, यस्तैमा बित्यो कयौ महिना । जेठो छोरा १२ कक्षा पास भयो भने कान्छोले प्रवेशिका सकाए र ११मा पढ्न थाले कान्छो । एक दिन कुन्नि के सोचेर हो सानो छोराले विदेश जाने इच्छा गरे र भने आमा उतै पढ्छु र पैसा कमाउछु! परिवारहरूबाट यसको सकारात्मक स्वीकृति आयो पैसा त थिदै थियो, रामले पठाएको । भिसा आयो छोरा उडाउन रत्ना आफै काठमाण्डौ आइन् । माइतीको भाइ बुहारी र बहिनी सबै यतै बसेर व्यापार गर्ने भएकोले भेटघाट पनि हुने भयो । आफ्नो रोग पनि जचाउने औसर मिल्ने भयो, आ जति बितेनी बितोस ! गत २०७१ साल भदौमा जेठालाई घरमा छोडेर आमाछोरा मिठा सपना बुन्दै आएकी थिइन यिनी । छोरालाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माइतीसमेतको परिवारले मलेसियाकोलागि बिदाइ गरे हात हल्लाए राम्रोसँग जाऊ है ? आफ्नो शरीरको ख्याल गर्नु र पुगेपछि सम्पर्क गर्नु ल? छोरो विदेश उडे । सपरिवार कोठा फर्के ।भोलिपल्ट भाइसँग यिनी रोग खोट्याउन बिरअस्पताल गइन । बीरअस्पताल पुरानो चिकित्सालय हो गरीवकालागि हो पैसा र पहुचवालाका लागि नरसिङ्ग सेवा केन्द्रहरू खुलेका छन् ता पनि बीरले कहिले कही राम्रै काम गरेको हुन्छ । यिनको रोग पत्तालाग्यो दुखदायी र दर्दनाद रोग अर्बुद (क्यान्सर)! यो रोग हत्तपत्त निको हुदैन धेरैलाई थाहा छ । सबै जना खङ्ग्रङ भए, पानी पानी भए ! उनका भाइ बुझ्ने र शिक्षित थिए बिषेश दुखी भए। हरेश खाने कुरा भएन, घर नजिक पनि बि.पी. क्यान्सर अस्पताल भरतपुर रेफर गर्ने र त्यहीबाट केमो थेरापी शुरु गर्ने र श्रीमान रामभाइलाई बृतान्त सुनाए र बोलाए पनि । तर छोरा कान्छो वदेश पुगेकोमात्र कारण फोक्सोको क्यान्सर भनेर कसरी सुनाउने ! ताकत थियो ३९ वसन्त पारगरेकी महिला भएकीले रोगले पछार्न सकेको थिएन वा कहिलेकाही बाघलाई बिरालो सम्झेर व्यवहार गर्दा डर नलागेको पनि हुन सक्छ । अब बाघ हो भन्ने यकिन भयो मनले पनि सायद हरेश खांदो रहेछ कि ! अब त संसार अन्धकार त हो नि! जे होस मत्यू त सबैको अनिवार्य हुन्छ मात्र खेल ढिलो चाडो को त हो नि ! जीवन भनेको एउटा सरल रेखा हो त्यो सबै एउटै बराबरको हुदैन जति लामो भयो उतिसफल जीवन हुन्छ उनको जीवनको धर्को अब कति लम्याउन सकिन्छ दैवलाई थाहा होला । पति घर आए छोटो सुख दु:खमा कति छिटो परिणत भयो, अब कस्कोलागि कमाउने । विशेस मन पराएर भित्र्यएको संगीनीलाई कठीन प्रकृतिको रोग लागेपछि परिवारमा सबै दुखी त थिदै थिए उनी गोठालो लागे कहिले काठमाण्डौ कहिले हेटौडा त कहिले नारायणघाट लगे निको हुन्छ कि भन्ने आशमा ! यिनी परिवारका सबै आफन्तलाई राम्रो मान्थिन, सबैका प्यारी थिइन र परीश्रमी पनि । भगवानलाई पनि राम्रो मान्छे चाहिदो रहेछ ! समाजमा धुर्त मान्छे कति हुन्छन कति ! अर्बुद लाग्नु पर्ने लक्षयण मध्यको प्रमुख लक्ष्यण धुम्रपान, मध्यपान मानिन्छ यिनी ती पदार्थसगं टाढै थिइन, धेरैले शंका गरेहोलान् श्रीमान् परदेश भएकोले कहिलेकही तनावमा धुम्रपान गरिन होला तर यही प्रश्न चिकित्कसले गर्दा उनको उत्तर थियो बरु धुम्रपान गर्न पाएको भए स्वाद त थाहा हुन्थ्यो ? भरपुर अस्पतालमा नियमानुसार उपचार शुरु भयो पतिको साथ भएर उनलाई पीडामा पनि राहत मिलेको छ तनाव कम छ । सल्लाह गरे उनीहरूले जे हुनु भइहाल्यो सानो छोरालाई पनि जानाकारी गराए । यता अस्पतालमा भर्ना भई बस्नु पर्ने भए पछि घरमा ताल्चा लाग्ने भयो एक दिन हैन दुई दिन हैन ! आफन्तले कति दिन थेगी दिने दुख मै भए पनि ठूलो छोराले पढ्दै गर्दा मनपराएकी ११ कक्षामा पढ्दै गरेकी बुर्लाकोटी थरकी आमामात्र भएकी टुहुरी केटीसँग कुरा मिलाई भित्र्याए, अलिकति भए पनि राहत मिल्यो । गाईलाई पानी पिठो सांझ बत्ती झुल्क्याउने बुहारी भित्रिन । उता दश दिनको केमो गर्ने मिति तोकियो ।यिनलाई छाती पोल्ने, खान नहुने र खोकी लाग्ने रोग बढन लाग्यो । थाहा थिएन दवाए लगियो, थाहा भयो अब दवाउन सकिएन, उसले दवाउन थाल्यो कस्तो अचम्म ! क्रमश तौल घटदै जान थाल्यो ।यिनका भाइ विष्टको सल्लाह थियो भान्जा पनि नमरुन दिदीको उपचार पनि होस् । यो रोगले त पैसामात्र तान्ने हो फर्काउने अवसर एकदम कम हुन्छ र जो पनि एकदम कम भित्रै पर्न खोज्दछन् । उपचार नगराए पनि कसरीरहनु, पीडा सहेर वा हेरेर बस्नुभन्दा त खर्च गराएर सम्पत्ती सकिएरै पनि निको भइहाले त तातो पानी तताएर बाच्न सकिन्छ र बाच्ने आशा हुन्छ नि सबै को ! यसको पीडा अत्यधिक हुन्छ, जसलाई लागेको छ उसलाई थाहा हुन्छ । हुन त रोग कुनै पनि राम्रो होइन किड्नी फेल भए फेर्न सके केही वर्ष बाँच्ने आश हुन्छ, रक्तनली साँगुरिए खुलाउन आशा, हुन्छ र सुगर भए बीसौ वर्ष लम्याउन सकिन्छ अर्बुद भनेको सल्काएको चुरोट हो सल्कने वित्तिकै निभाउन सके निभ्छ अन्यथा जीवन छोट्याउदै लान्छ । उपचार गरे पनि केही महिनामै खरानी नै बनाउदछ जीवनलाई । भनिन्छ प्रथम चरणमा भेटिए काटेर निको पार्न सकिन्छ वा फोक्सो नै पनि फेर्न सकिन्छ सफल हुन पनि सक्छ तर यो परिवारमा एकमनासम्मको सम्पन्न हो धनी हैन यदि त्यसो हुदो हो त विदेश किन जानु पर्थ्यो र!
आफन्तहरू आश्वसन दिन, दुख बाड्न पुग्न थाले भरतपुर, हामी पनि पुग्यौ, आश्वसन दियौं निको हुन सक्छ भन्यौ, के भन्नु त ? त्यो अवस्थामा उनले बेडबाट उठेर नमस्कार गरिन । त्यो नै उनको महान्ता थियो! थला परेको बेलामा जो सुकै हुन किन गर्नु पर्यो सत्कार ! पीडा आफूलेसहनु पर्छ जो आए पनि दु:ख कम हुने हैन । दिन बित्दै गए महिना बित्न मुश्किल भयो । जडी बुट्टी देखी लिएर गाईको गहुतलगायत ध्यानी ज्ञानीका दवाइ र बताएका कुरा भ्याएसम्म जुटाउन लागिपरे राम त्यतिमात्र हैन हेटौडाका ॐबाबादेखी लिएर काठमाण्डौका श्याम श्रेष्ठ सम्मले बताएका उपाय गरे । भगवान दाहिना हुन सकेनन, खै किन हो त्यो रोग लाग्नै पर्ने किन हो ? नलागेर उनलाई के घाटा हुने थियो उनको दिन नै आएको भए पनि अन्य घटना घटाएर लान पनि त सकिन्थ्यो नि ! पीडा नै किन दिनु त ? अर्बुद रोग निको पार्न गंगटालाई बाक्लो भाडोमा राखी तताएर खरानी बनेपछि त्यो खरानी नियमित सेवन गर्नाले निको हुने भन्ने सुनेकोले त्यो पनि गरेकि ? तर बीच बीचमा एक्कासि कम भएको जस्तो भान हुन्थ्यो र कहिले कही पीडा पनि कम हुंदो रहेछ । र खान पिन पनि रुचि अरुचि घट बढ हुदो रहेछ । सानो छोरो बिदेश गएको पनि चार पाँच महिना भयो । काठमाण्डौ, भरतपुर र हेटौडाको नियात्राले चार पाँचलाख स्वाहा नहुने कुरै भएन । रत्नाले आफ्नो मुटुको टुक्रा सम्झन लागिन खै किन हो सानो छोरालाई झिकाउन अनुरोध गरिन् । छोरा पनि सबैकुरा त्यागी जन्म दिने आमाको मुख हेर्न आइपुगे, आफन्तहरू हप्ता पन्ध्र दिनमा भेट्न गइरहे । सानो छोराले नि आमालाई छोडेन पाँच छ महिना त तन्कियो अब जीवन धेरै तन्केला जस्तो छैन । शास्ती पनि धेरै भयो खुशियाली भन्ने कतै शब्दै छैन ! निरन्तर पीडा मात्र पीडा! जानेको रहेछ तैले दु:ख दिन दैव ! ऊ जुनीमा के नै गल्ती गरेकी थिइन र यिनले यत्रो पीडा किन दिनु परेको होला ? न नया वर्षको खुशियाली न कुनै चाड पर्वको नै जेठ लागि सक्यो हरेक तिरबाट हरेश खाएर अब भरतपुर क्यान्सर अस्पतालले पनि उपचार छोडी दियो श्वासको तान्द्रामात्र बांकी छ भरिली थिइन त्यही मान्छे हो शरीरका हड्डीमा छाला टाँसियर डरलाग्दो भएकी यतिमात्र हैन अब त न उनले अरु नाता कुटुम्ब चिन्थिन् न त नाता कुटुम्बले नै यिनी रत्ना हो भनेर चिन्छन् । मलिन श्वास भएकी यिनलाई पीडा नहुने सुइको भरमा अब संसार छोड्न बाध्य भएकी छिन्, आफन्तले पनि माया मारिसके ! भ्याउनेले दुई तीन पटक नभ्याउनेले एक दुई पटक भेट गरे फोनमा सम्पर्क गरी यिनको बारेमा बुझिरहे । कति पर्खने ! दिन हैन अवत घंटाको प्रतीक्षामा बसिन! दुई छोरा एक श्रीमान क्या राम्रो सुखी परिवार थियो यिनका।स्वस्थानी कथामा चन्द्रबती आफ्ना पति नवराज राजा भएको खुशियालीमा चन्द्रानगर राज्याभिशेकमा जानेक्रममा बाटोमा भरियाले दिएको स्वस्थानीको प्रसाद दिदा प्रसादलाई रीसले थुकी हेलागरी कुल्चेर हेला गरेकोले नदीमा खसी अर्ध अवस्थाको छिनमा चेत आउने छिनमा हराउने जस्तो हुनलाग्यो पखेरु कहिले उड्ने हो ! पल पलको पर्खाइमा बसिनन् । जेठा छोरा बुहारी, सानो छोरा पति सबैको काँखमा जेठ १७ गते १२३० बजे राती संसार छोडेर बिदा भइन नआउने गरी, अब उनी आउदिनन्, असमायिक निधन ! यिनको जीवनको धर्सो छोटो थियो जन्मेपछि मर्नु पर्छ प्रकृति वा ईश्वरको अकाट्य नियम हो तापनि मान्छेलाई दिएको आयुका हिसावले यिन्ले पूरा आयु त के झण्डै आधि उमेर मात्रजाँदा संसारमा रोगसँग लड्दा लड्दै तिम्रो प्राण गयो ! कयौ महिना दु:खका दिन काट्यौ, पीडा सह्यौ रोगसँग लड्यौ तैपनि तिम्रो विजय हुन सकेन, सायद संसारमा तिम्रो जस्तो कथा बन्ने कमै उदाहरण होलान्, सुखको अनुभूति गर्ने बेलामा दुष्ट अर्बुदले समायो, लड्यौ, लड्नु लड्यौ हार जित त एक पक्षको हुन्छ नै, उसले बाजी मार्यो हामी हारमा पर्यौं, अर्को जीवन तिम्रो लामो र सुखमय रहोस! सुखी परीवारमा जन्म लिएर उदाहरणीय बन! एक पति, एक बुहारी र दुई छोराको सानो सुखी परिवारलाई दुखी बनाई अलगिएर गयौ, हामी जसो तसो गरौला, बाँचौला ! तिमी शान्तिसँग जाउ, तिम्रो बाटोमा काँडालेसम्म नछेकोस, अल बिदा रत्ना अलबिदा !
(सत्य घटनामा आधारित रहेर परिवार (क)मा नाम काल्पनिक राखिएकोछ भने परिवार (ख)मा बास्तविक नाम नै राखिएको छ ।)
