आज कुसे औँशी । बुवाको मुख हेर्ने दिन । बुवा तपाई अहिले सशरीर मसँग हुनुहुन्न । तर तपाईको आत्मीय शरीर मेरै ओरीपरी घुमिरहेको छ । मसँगै छ । तपाई मलाई हेरिरहनु भएको होला । मलाई अर्ती उपदेश र आशिरवाद दिइरहनु भएको होला । तर बिडम्बना म न त तपाईलाई देख्‍न सक्छु न त सुन्न नै सक्छु । म अहिले तपाईको तस्वीर सामु हातजोडेर उभिएको छु । भित्तामा झुण्ड्याइएको तस्बीरमा मैले तपाईलाई देखिरहेको छु । यस्तो लाग्छ तपाईंले पनि मलाई हेरिरहनु भएको छ । बुवा ! मलाई आजको दिनमा तपाईको आशिरबादको आवश्यकता छ, शान्तिसुरक्षा अमनचयनको निम्ति प्रशस्त आशिरवाद दिनुहोस् ।

तपाईको आत्मिक शरिरलाई कस्तो छ बुवा । मलाई लाग्छ स्वर्ग र नर्क भन्ने ठाउँ यसै पृथ्वीमा नै छ । यस अर्थमा तपाई पनि यतै मेरा ओरीपरी नै हुनुहुन्छ । बुवा ! तपाईले देखिरहनु भएको छ कि छैन । हामी सबै यहाँ आराम छैनौ । दुखिरहेका छौँ । आज सबै देशबासी बिरामी परिरहेका छन् । सिंगो देश बिरामी छ¸ दुखेको छ । अँझ भनौँ सिकिस्त छ । बुवा ! त्यहाँ आमालाई कस्तो छ । हाम्रो यो दशा देखेर सायद रोइरहेकी होलिन् । आमाको हृदय चहराइरहेको होला । यता नेपाल आमा पनि रोइरहेकी छन्¸ दुखिरहेकी छन् । उनको सम्पूर्ण शरीर छियाछिया भएको छ¸ चहराइरहेको छ ।

बुवा मलाई सम्झना छ । ३५।३६ सालको पंचायत बिरुध्दको आन्दोलनमा तपाई पनि पंचायती व्यबस्था मुर्दावाद भनेर नारा लगाउदै आन्दोलनमा होमिनु भएको थियो । म त्यतिबेला सानै थिएँ । राजनीतिका कुरा केही बुझेको थिइन । तर मलाई लागेको थियो मेरा बाले गरेको काम गलत हुन सक्दैन । बाले जे गरिरहनु भएको छ ठिक गर्नुभएको छ भन्ठान्थेँ । कतिदिन त स्कुलको छुट्टीको बेला म पनि पंचे चोर देश छोड भनेर कुर्लन पछाडि परिन । तपाईहरूले गरेको आन्दोलन पनि सम्झौतामा लगेर टुङ्ग्याइएको थियो । जनमत संग्रहबाट सुधारिएको पंचायत व्यबस्थाको जित भएको थियो । तपाईहरूले खोजेको बहुदलीय व्यवस्था आएन । दूरदर्शी राजा बिरेन्द्रले जनतालाई अधिकार सम्पन्न गराए भनियो । मैले यस्तै कुरा सुनेको थिए । हो बुवा मैले मेरा छिमेकीका घरमा त्यो दिन दिपावली गरेको पनि देखेको थिएँ । तर हाम्रो घरमा अबेरसम्म बत्ती पनि बलेन । तपाई खुईय सुस्केरा हाल्दै पिढीमा झोक्राइरहनु भएको मलाई स्पष्ट सम्झना छ । मेरो बालमस्तिष्कमा त्यो छाप गहिरो गरी बसेछ । तपाई त्यस दिन छटपटीइरहेको आजसम्म पनि मैले बिर्सन सकेको छैन ।

बुवा ! तपाईले आफ्ना सहकर्मीहरूसँग कुरा गरिरहेको म तपाईको काखैमा बसेर सुन्थेँ । त्यत्तिसारो बुझ्न नसके पनि तपाईहरू भन्ने गर्नुहुन्थ्यो जनमतसंग्रहको वास्तबिक परिणाम आएन । बहुदलवादीहरूलाई धाँधली गरेर हराइयो । हामी यसै चुप लागेर बस्नु हुदैन । यो निरङ्कुश पंचायतलाई त फाल्नु पर्छ पर्छ । तपाईहरू कहिले बिपी को बारेका कुरा गर्नु हुन्थ्यो । कहिले पुष्पलालको बारेमा त कहिले मोहन बिक्रमको बारेमा । तर म उनीहरूका बारेमा गरिएका कुरा केही बुझ्दिन थेँ ।

बुवा ! धेरै पछि मलाई थाहा भयो सायद हामी गरिब रहेछौ । हाम्रो भान्सामा मासुभात सायद दशैमा मात्र पाक्थ्यो होला । आमाले तपाईंसँग हरबखत कचकच गरिरहेको सम्झन्छु । घरको अवस्था बिग्रदै गइरहेको छ । आम्दानीको कुनै बाटो छैन । साँझ बिहान हातमुख जोर्न पनि धौ धौ हुनलागिसक्यो । उधारो र पैँचो ल्याएर कतिन्जेल गुजारा हुन्छ । भुन्टेका बा ! अब यो आन्दोलनको कुरा छोडदिनुस् । कुनै खेलो बेपार गर्नुस् । केही काम गर्नुस् । अब त मलाई घर धान्न पनि गारो भैसक्यो । आमाको बिलौना तपाईले एक कानले सुनेर अर्को कानले उडाउनु हुन्थ्यो । त्यतिबेला केही बोल्नु हुन्थेन । कहिले खाएर र कहिले भोकै आन्दोलन गैरहनु हुन्थ्यो¸ त्यो सबै मलाई अहिले पनि सम्झना छ ।

सायद तपाईहरूले गर्नुभएको आन्दोलन सफलतातिर उन्मुख भएछ क्यारे । तपाईको अनुहारमा चमक थपिदै गयो । तपाईको सक्रियता पनि बढ्दै गयो । अन्ततः पंचायत ढल्यो । राजतन्त्र सहितको बहुदलीय व्यवस्था ल्याइयो ।

बुवा ! मलाई संझना छ तपाई त्यो दिन औधि खुसी हुनुहुन्थ्यो । अरु आन्दोलनकारीहरूको हुलमा तपाईले पनि निधार भरी अवीर दलेर जिन्दावाद जिन्दावादको नारा लगाउदै विजयउत्सव मनाइरहनु भएको थियो । बेलुका घर आउँदा तपाईको अनुहारमा जित थियो । खुसी थियो । उल्लास थियो । उमङ्ग थियो र अन्तरहृदयमा एउटा चिन्ता पनि छ भन्ने कुरा अनुहारमा प्रस्टै झल्किन्थ्यो¸ यो उपलव्धीलाई कसरी जोगाइराख्‍ने भन्नेे ।

बुवा ! म सम्झन्छु । एक दिन आमाले तपाईलाई भन्नुभएको थियो । भुन्टेका बा ! बहुदलीय व्यवस्था ल्याउन मरीमेटेर लाग्नुभयो । घर परिवार बालबच्चा सबै बिर्सेर संघर्ष गर्नुभयो । अहिले बहुदलीय व्यवस्था पनि आयो । अब त यसो २।४ पैसा आउने पद पनि त खोज्नु पर्‍यो नि । मैले यी लालाबाला कसरी हुर्काउने । तर तपाई भन्ने गर्नुहुन्थ्यो । हेर ! भुन्टेको आमा मैले यो आन्दोलन मेरा लागि मात्र गरेको होइन । मैले कुनै पद पाउँला¸ धन कमाउँला भन्ने लालचले पनि लागेको होइन । यो आन्दोलन त नेपाली जनतालाई पंचायतको निरङ्कुशताबाट मुक्ति दिलाउन गरिएको हो । अब जनताका प्रतिनीधिहरूले शासन गर्नेछन् । बिद्वान र कर्मठ नेताहरूलाई काम गर्ने अवसर दिनुपर्छ । उनीहरूले यो देशको अनुहार फेर्नेछन् । विकासका नयाँ सुरुआत हुनेछ । देशमा रोजगारी बढ्नेछ । नेपाली जनताले गास बास कपास शिक्षा स्वास्थ्य र रोजगारी सहजै पाउने छन् । देश धनी हुदै जानेछ । हाम्रो भुन्टे पनि ठूलो भएपछि आफ्नै देशमा रोजगारी गरेर नाम र दाम कमाउने छ । एकदिन हामी पनि सुखी हुनेछौ । यस्तै यस्तै उपदेश दिएर आमालाई संझाउनु हुन्थ्यो । मलाई सबै सम्झना छ बुवा ।

बुवा ! पछिल्लो समय फेरि तपाईको मुहारमा उदासी छाउन थालेको थियो । जुन आकांक्षा अभिलाशा र चाहना राखेर आन्दोलन गरिएको थियो । त्यो पूरा भैरहेको थिएन । बहुदलीय राजनीतिमा फेरि तिनै पंचेहरूको घुसपैठ भएको थियो । उनीहरूकै बोलवाला चलेको थियो । नेपाली जनताले कुनै राहत महसुस गरेको थिएन । छट्टु र धुर्तहरूले अनेक छलकपट गरेर देश र जनतालाई चुसिरहेका थिए । यो सबै देख्दा दिग्दारी उत्पन्न नहोस् पनि कसरी । यसैले होला पछिल्लो समय तपाई दिग्दार देखिनु हुन्थ्यो । खै को कोसँग हो कहिलेकाही तपाई झगडा गरेको पनि मैले देखेको थिएँ । तपाईले एकान्तमा बसेर आँसु झारेको मैले बिर्सेको छैन बुवा ।

बुवा ! अन्ततः सांसारिक कानून अनुसार तपाईले भौतिक शरीर त्याग गर्नुभो । हामीले तपाईको उचित उपचार गर्न सकेनौँ । तपाईले आफ्नो उर्वर जीवन देश र जनताको निम्ति राजनीतिमा समर्पण गर्नु भो । धनार्जन र जीविकोपार्जनमा ध्यान दिनु भएन । हामी गरीवका गरीव नै रह्यौँ । अन्तमा उचित उपचार नपाएरै तपाईले ५८ वर्षमै संसारबाट बिदा हुनुपर्‍यो ।

बुवा ! आज तपाईको मुख हेर्ने दिन । म भित्तामा टङ्गाइएको फोटोमा तपाईको मुहार निहार्दैछु । तपाईलाई सम्झिदा र तपाईले गर्नुभएको त्याग र बलिदान सम्झिदा आँखाबाट बलिन्द्रधारा आँसु झरिरहेका छन् । बुवा मर्द भएर पनि रुन्छस् नभन्नु होला । दुख्‍ने हृदय त मर्दको पनि हुदोरहेछ । मुखबाट डाँको नछुटे पनि आसु त झर्दोरहेछ बुवा । तपाई पनि त यस्तै रुनुहुन्थ्यो नि । मलाई पुरै सम्झना छ ।

बुवा ! तपाईले मलाई टुहुरो बनाएर गएको पनि आज २३ वर्ष भैसकेछ । यस बीचमा धेरै उथलपुथल भयो हाम्रो देशमा । सत्तामा पुगेकाहरूको अदुर्दर्शीपन र एकलकाँटे नीतिले गर्दा ५२ सालमा देश सशस्त्रद्वन्दमा धकेलियो । म नै हुँ अरु केही होइनन् भन्ने एकलकाँटेपन र अपरिपक्वताको परिणाम स्वरुप परिवर्तन गर्छौँ भन्नेहरू जङ्गल पसे । आमुल परिवर्तन गर्छौ भन्नेहरूले देशलाई द्वन्दमा फसाए । १० वर्षसम्म देशमा गृहयुद्ध नै भयो । बुवा ! तपाईले देख्‍नु भो कि भएन नेपालको ईतिहासमा सबैभन्दा धेरै नेपालीले सहादत प्राप्‍त गरे यस बीचमा । हामी पनि त्राही त्राहीको जीवन बाँच्यौँ । कतिखेर के हुने हो¸ बेलुका घर फर्केर आउन पाइने हो कि होइन भन्ने सन्ताप बोकेर बाँच्यौँ । करीव १७ हजार नेपाली छोरा छोरीले ज्यान गुमाए यस लडाइँमा । बुवा ! अन्ततः यो भिषण जनयुद्धलाई पनि संझौतामा लगेर अन्त गरियो ।

बुवा ! तपाईलाई थाहा भो कि भएन । देशमा अर्को पनि रक्तपात भयो । शाहवंशीय राजाहरूमा सर्वाधिक लोकप्रिय राजा वीरेन्द्रको वंश नै समाप्‍त हुने गरी दरवार हत्या काण्ड भयो ५८ जेठ १९ गतेका दिन । वीरेन्द्रका सबै परिवार र उत्तराधिकारीको हत्या भयो तर ज्ञानेन्द्रको परिवारका सबै सदस्यहरू सकुशल रहे । जनताले अहिले पनि हत्याकाण्डमा ज्ञानेन्द्र र पारसको हात देखिरहेका छन् तर आधिकारिक रुपमा दिपेन्द्रले घटाएको हो भनेर घोषणा गरी सरकारी पक्षले फाइल बन्द गरिसकेको छ । राजा वीरेन्द्रको वंश सखाप हुँदा सबै नेपाली मर्माहत भए । म रोएँ¸ सबै नेपाली रोए । सिंगो देश रोयो । तमाम तिकडम र षडयन्त्रको बिचमा ज्ञानेन्द्रलाई राजा त बनाइयो तर उनको अदुरदर्शीपन र असक्षमताका कारण ६३ जेठ १५ गते बिधिवत रुपमा नेपालबाट राजतन्त्रको सदाका लागि अन्त भयो । राजतन्त्रको यति सजिलै र यति छिटै समाप्‍ती हुनुमा जँड्यहा र लागु औषध दुर्वेशनी ज्ञानेन्द्र पुत्र पारसको पनि सहयोगी भूमिका रह्यो बुवा । सोझी सरल र कुशल पत्‍नी हिमानीलाई त्यागेर उतैकी प्रेमिकासँगै थाइल्याण्डमा बस्दै आएको पारसले लागू औषध ओसारपसार गरेको मुद्दामा पटक पटक जेल परेर सिंगो नेपालको इज्जत माटोमा मिलायो ।

बुवा ! आज तपाईलाई सम्झेर धेरै कुराको सम्झना भैरहेको छ मलाई । तपाई आजसम्म बाँचेको भए कति पटक रुनुहुन्थ्यो होला अनि कति पटक रमाउनु पनि हुन्थ्यो होला । यहाँ यस्तै भैरहेछ । कुनै बेला हामीले सर्वाधिक सफलता पायौँ कि जस्तो पनि हुन्छ र त्यसबेला हामी अत्यन्तै रमाउँछौँ र कुनै बेला अब के हुने हो भोलिको बिहानी पनि देख्‍न पाइने हो कि होइन जस्तो हुन्छ र सारै नै दुखित पनि हुन्छौँ । ६३ मंसिर ५ गते बृहद शान्ति सम्झौता नहुँदासम्म हामीलाई पनि यस्तै भएको थियो । यसपछि वर्षौँ देखि द्वन्दमा पिल्सिएको देश अब द्वन्दको अन्त्यसँगै लोकतन्त्रात्मक गणतन्त्र स्थापित हुने भो भनेर हर्षबिभोर भयौँ । अब त बाँच्न पाइने भो भनेर खुसी भएका थियौँ । विस्तृत शान्ति सम्झौतामा गिरिजा र प्रचण्डले हस्ताक्षर गरेका थिए । साँच्चै भन्छु बुवा हामीले प्रचण्डलाई टेलिभिजनबाट पहिलो पटक देखेका थियौँ । त्यसबेलासम्म प्रचण्डको रुपरंग व्यक्तित्व आदिका बारेमा अनेकन अडकलबाजीहरू थिए । केही सीमित व्यक्तिहरूले बाहेक माओवादीहरूले पनि आफ्नो सुप्रिम कमाण्डरलाई प्रत्यक्ष देखेका थिएनन् । उनी कुनै एउटा राजनीतिक नेता मात्र थिएनन् । उनी त माओवादी सशस्त्र जनयुद्धका कमाण्डर¸ गौरवशाली पार्टीका सर्बोच्च नेता र गरीव सर्वहारा जनताका मसिहा बनेर प्रकट भएका थिए त्यतिखेर । अनेकन अडकलमा रुमल्लिएका हामीहरूले वास्तबिक प्रचण्डको तस्वीर टेलिभिजनको पर्दामा सर्वप्रथम देखेका थियौँ ।

बुवा ! प्रचण्डले गठन गरेका जनमुक्ति सेनाका योग्य र इच्छुक लडाकुहरूलाई नेपाली सेनामा समायोजन पनि गरियो नि ! उनीहरूले हामी माओवादीको हैन नेपालको सेना भएर सेवा गर्न मन्जर छौँ भनेर कसम खाएका छन् । अयोग्य ठहराइएका र घर जान चाहने पूर्वलडाकुलाई जीविकोपार्जनको व्यवस्था सहित खुसी बनाएर बिदा गरिएको थियो बुवा । यसरी विश्वमै अत्यन्त चासोको रुपमा हेरिएको नेपालको जनयुद्ध संयुक्त राष्ट्र संघको अनुगमन र रेखदेखमा सेना समायोजनसँगै अन्त गरिएको थियो ।

बुवा ! आज मलाई तपाईको मुस्कुराइरहेको तस्वीर सामु उभिएर धेरै कुरा भन्न मन लागिरहेछ । किन हो किन आज म अत्यन्तै भावुक भैरहेको छु । आज बुवाको मुख हेर्ने दिन । बुवा ! मलाई तपाईको आशिरवाद चाहिएको छ । मैले पनि यो देशको निम्ति केही असल गर्न सकौँ । नेपाल आमाको रोइरहेको अनुहारमा खुसी ल्याउने काममा मद्दत गर्न सकौँ । आँसु पुछ्न सकौँ । बुवा ! मैले इतिहासमा पढेको थिएँ । पूर्वमा २४ र पश्चिममा २२ राज्यमा बिभाजित अवस्थामा रहेको अति कमजोर नेपाललाई शाहवंशीय राजाहरूले एकीकरण गरेर एउटा सिंगो नेपालको निर्माण गरेका हुन् । नेपालको सीमाना पूर्वमा दार्जिलिङ्गभन्दा पनि पूर्वको टिस्टा नदिसम्म पश्चिममा काँगडाको किल्लासम्म र दक्षिणमा लालकिल्लासम्म थियो रे । कालान्तरमा ब्रिटिश बिस्तारवादीहरूसंगको नेपाली शासकहरूको अपरिपक्व र अदुरदर्शी कुटनीतिक सम्बन्धका कारण मेचीपूर्वको र महाकाली पश्चिमको भूभाग गुमाउनु परेछ । दक्षिणमा पनि हामी साँघुरिएर तराईको थोरै भूभागमा चित्त बुझाउन बाध्य हुनु परेछ । अँझ भन्ने हो भने कालान्तरमा तत्कालीन बृटिश भारतलाई सैनिक सहयोग गरे वापत बाँके बर्दिया कैलाली कञ्चनपुर ब्रिटिश सरकारले नेपाललाई उपहार दिएको रे । बुवा ! यस विषयमा मलाईभन्दा तपाईलाई अँझ बढी नै थाहा होला । मैले भन्न खोजेको कुरा के हो भने पृथ्वी नारायण शाहले एकीकरण गरेको यो देश नेपाल अब फेरि टुक्रा टुक्रा हुने गरी प्रदेशमा बिभाजन गर्ने रे । यसो नगरे गणतन्त्र नहुने रे बुवा । मैले यस्तो विषय ईतिहासमा पढ्न पाएको थिइन । भारत एकीकरण हुनुभन्दा अगाडि बिभिन्न राज्यमा विभक्त थियो त्यसकारणले ती सबै गणराज्यहरूलाई एकीकरण गरेर गणतन्त्र भारत बनाइयो भन्ने त कता कता सुनेको थिए तर एउटा सिंगो देशलाई टुक्रा टुक्रामा बाँडेर गणतन्त्र बनाउने कुरा पहिलो पटक सुन्दैछु । नेपाललाई बिभिन्न जातीय राज्यमा बिभाजन गरेर गणतन्त्र बनाउने रे । यस्तो गणराज्यको योजनाकार माओवादीहरू हुन् रे बुवा ।

बुवा ! एउटा सारै बिझ्ने कुरा भन्दैछु । हुन त तपाईले पनि देखिरहनु भएको छ होला । म त धरतीमा छु सबै कुरा देख्‍न पनि सक्दैन । अरुको कुरामा विश्वास धेरै गर्नु पर्छ तर तपाई त आत्मा स्वरुप हुनुहुन्छ । अनन्तमा तपाईको बास छ अरे । तपाई त माथिबाट एक्कै चोटी सबै कुरा देख्‍न सक्नुहुन्छ अरे । नेताहरूले भन्ने गर्छन् – नेपालका शोषक त राजाहरू हुन् अरे । राजाका नाम उच्चारण गर्न पर्ने गरी सबै कुरा परिवर्तन गर्ने रे । महेन्द्र राजमार्गको नाम पूर्वपश्चिम लोकमार्ग भन्ने रे । महेन्द्र बिरेन्द्र र त्रिभुवनका सबै शालिकहरू त उहिल्यै भत्काए बुवा । महेन्द्रनगरको नाम भीमदत्त नगर र त्रिभुवननगरको नाम घोराहीनगर बनाए । अब राजाहरूले बनाएको १४ अन्चल ७५ जिल्ला र ५ विकासक्षेत्रको संरचना पनि भत्काउने रे । यो बिभाजन अबैज्ञानिक अन्यायपूर्ण र असमान भयो रे । सबै कुरा भत्काएर नया संरचना गर्ने रे बुवा ! नेपालमा । मलाई कता कता डर लागिरहेछ¸ कतै शाहवंशीय राजाहरूले निर्माण गरेको नेपालको सीमाना नै भत्काउने त हैनन् भनेर । उही परानै सीमाना भित्र नयाँ नेपाल कसरी हुन्छ होला त ! बुवा हैन र ? नेपालको आमुल परिवर्तन गरेर नयाँ नेपाल पो बनाउने अरे । यस्तै भाषण गरेका छन् बुवा अहिले नेपालका क्रान्तिकारी नेताहरूले ।

बुवा ! तपाई जीवितै रहेको भए सायद मैले यति कुरा सुनाउनु पर्दैनथ्यो होला । किनभने तपाई पनि त आन्दोलनमा होमिएकै व्यक्ति हुनुहुन्थ्यो । देशमा राजनीतिक परिवर्तन र आर्थिक विकास नै त तपाईहरूका पनि उद्देश्य थिए । तर बुवा ! आज कुसे औँशीको दिन छोराले बुवाको मुख हेर्ने मीठो खानेकुरा खुवाउने र उपहार दिने दिन । तर बिडम्बना । यो छोराले भावपूर्ण श्रध्दान्जली बाहेक केही दिन सकेन । विगत र वर्तमानमा घटेका नराम्रा घटना बिबरण बाहेक अरु मसँग केही छैन बुवा तपाईलाई दिन । हुन त तपाई यी घटना परिघटनाबाट अनभिज्ञ पक्कै हुनुहुन्न होला । तपाईको १३ दिने किरियाकर्म गर्दा बाहुनबाजेले गरुडपूराण सुनाउँदा भनेका थिए – मान्छेको स्थुल शरीर मरेर गए पनि आत्मिक शरीर चाहि अमर हुन्छ र सधै आफन्तकै ओरीपरी घुमिरहन्छ रे । यदि यो कुरा साँचो हो भने तपाईले सबै परिदृश्य देखिरहनु भएकै होला । ४७ सालको संविधानलाई च्यातेर हामीले २०६३मा गणतान्त्रिक अन्तरिम संविधान बनायौँ । पूर्ण सम्विधान बनाउन २०६४ चैत्र २८ गते संविधान सभाको निर्वाचन गर्‍यौँ । काँग्रेस एमाले लगायत दलहरूले माओवादीको एजेण्डालाई स्वीकार गरेर संविधान सभाको निर्वाचन गरेर यसैले गणतान्त्रिक नेपालको संविधान बनाउने कुरामा सहमत भए पनि स्वय म माओवादीको उद्देश्य चाहि अर्कै थियो त्यतिबेला । बाहिर देखाउन संविधान सभा भन्ने तर भित्र भित्र निर्वाचन हुन नदिने र राज्यलाई असफल पारेर सिधै सत्ताकव्जा गर्ने नीति उसको थियो । यसको प्रमाण प्रचण्डको शक्तिखोर प्रशिक्षणको भीडियो युट्युवमा अद्यापी छँदैछ । माओवादी र उसको उक्साहटमा घटाइएको मधेश आन्दोलन हिन्दू मुस्लिम जातीय दङ्गा आदिका बावजुद पनि गिरिजा कोइरालाको नेतृत्वको सरकारले संविधान सभाको निर्वाचन गराइछाड्यो । संविधान सभामा अत्यधिक स्थान जितेर प्रचण्डले सरकार गठन त गरे बुवा तर संकीर्ण मानसिकताका कारण द्वन्दकालमा सैनिक कारबाही गरेको बदला लिन प्रधानसेनापति माथि जाइलागे र ६ महिना मै सत्ताबाट बाहिरिनु पर्‍यो । एमालेका माधव नेपालको नेतृत्वमा सरकार बनेपनि संविधान सभा र संसदमा त माओवादीकै बहुमत थियो । त्यसैकारणले १८ महिना मै माधव नेपाललाई हटाउन माओवादीले काठमाण्डौँमा आन्दोलन गर्‍यो । आफ्नै पार्टीका केही प्रभावशाली नेताहरु पनि बिरुद्धमा लागेपछि माधव नेपाललाई थप सकस पर्‍यो । यस माधव नेपाल हटाउआन्दोलनमा देशका सबै भूभागबाट माओवादी कार्यकर्ताहरू राजधानी गए । १२¸१३ दिन सडक आन्दोलन गरेर माधवकुमार नेपालको सरकारलाई अपदस्थ गरेर एमालेकै अर्का नेता झलनाथ खनाललाई माओबादी समेतको समर्थनमा प्रधानमन्त्री बनाइयो । रमाईलो कुरा त के छ भने बुवा ! प्रधानमन्त्रीका कुनै पनि उम्मेदवारले दुईतिहाइ समर्थन पुर्‍याउन नसक्दा संसदमा १७ पटक सम्म निर्वाचन भएको थियो । अन्ततः एमालेका झलनाथ खनाल प्रधानमन्त्री बने पनि केहि महिना पछि फेरि पनि माओवादीले नै सरकार बनायो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भए । बुवा ! यसरी संविधान बनाउने महान उद्देश्यका लागि निर्वाचन गरिएको संविधान सभाले सरकार बनाउने र भत्काउने खेल खेलिरह्यो । अन्ततः देशलाई १२ वटा जातीय राज्यमा बाड्ने सपना पुरा नहुने भएपछि ६८ जेठ १४ गते राति १२ बजे बाबुरामले संविधान सभा भंग गरी मंसिर २५ गते संविधान सभाको निर्वाचन गर्ने मिति समेत तोकेर नयाँ निर्वाचनको घोषणा गरे । तर बुवा ! यो निर्वाचनको घोषणा केवल घोषणाको लागि मात्रै गरिएको थियो । खासमा निर्वाचन गर्ने तर्फ कसैको पनि चासो थिएन । केही समय पछि गएर यो निर्वाचन नै स्थगित गरियो ।

बुवा ! यी कुराहरू तपाई साक्षिस्वरुप भै हेरिरहनु भएकै छ । मैले भन्नु र सुनाउनु पर्ने हुँदै होइन तर तपाईलाई सुनाउन पाउँदा मैले आफूलाई हल्का महसुस गरिरहेको छु । बुवा ! आज म यतिखेर तपाईको अगाडि उभिएर पाठ बुझाइरहेको अनुभूति गरिरहेको छु । जसरी हामीले स्कुलमा मास्टरसावलाई रातभरि कण्ठ गरेको पाठ टक्क उभिएर बुझाउनु पर्थ्यो । बुवा ! मलाई एउटा अर्को कुरा सम्झना आयो । हामीले स्कुल पढ्दा हरेक दिन पाठ कण्ठ गर्नु पर्थ्यो । स्कुलबाट घरमा आएपछि दिनभरि पढेका पाठहरू भोलिका लागि तयार पार्न लागिपर्नु पर्थ्यो । पाठ बुझाउन सकिएन भने हत्केला र साँप्रामा छडीका सुम्ला लिएर घर फर्किनु पर्थ्यो । पाठ्यक्रममा नैतिक शिक्षा पौराणिक आख्यानहरू र ज्ञानबर्ध्दक कथा निबन्धहरू हुन्थे । अंग्रेजी गणित र संस्कृत अत्यन्त कठिन विषय हुन्थे¸ बुवा । स्कुलमा मास्टरको डरले र घरमा बुवा आमाको डरले त्यसबेलाका हामी विद्यार्थीमा कडा अनुशासन कायम थियो । अहिले त नैतिक शिक्षाको पढाइ हुदैन बुवा¸ स्कुलमा । आचरण व्यवहार र नैतिकताका विषयहरू पढ्नै पर्दैन । कुनै कुरा पनि कण्ठ गर्नु पर्दैन अनि पाठ पनि बुझाउनु पर्दैन । बुवा ! असाध्यै सजिला दिन आएका छन् । कसैलाई आदर सम्मान पनि गर्नु पर्दैन । एक कक्षामा भर्ना भएपछि सिधै एसएलसी पास होइन्छ बुवा ! अहिले त¸ फेल हुनै पर्दैन । मास्टरले छडीले पिट्न त के चर्को आवाजले हप्काउन समेत पाउदैनन् । त्यसो गरे मास्टरले नै विद्यार्थीबाट गोदाइ खानुपर्छ । हातमा टचस्क्रिन मोवाइल र गोजीमा सुध्दप्लस, श्यामबहार यहाँका विद्यार्थीको संस्कार नै बनिसक्यो । नैतिकता अनुशासन इमानदारीता र परिश्रम विद्यार्थी जीवनबाट बिदा भैसके । स्कुलमा मात्र हैन बुवा ! अहिलेका छोराछोरीले आमाबाबुको पनि इज्जत र सम्मान गर्न बिर्सिसके । आजकल त छोराछोरीसँग बाबुआमा थर्कमान भएर बस्नु परिरहेको छ । कहाँनेर के गल्ती हुन्छ¸ कुनचाहिँ माग पुरा गर्न सकिन्न र छोराछोरीबाट दण्डित हुनु पर्नेहो भनेर सधै भरी त्राहीत्राही छ आजकल । वाल अधिकारको कुरा छ¸ उनीहरूलाई केही भन्न हुदैन¸ केही गर्न हुदैन¸ उनीहरूका सबै मागहरू जस्ताका तस्तै पूरा गरिदिनु पर्छ आमाबाबुले । तपाईको छोरो भुन्टे पनि यो पीडाबाट मुक्त छैन¸ बुवा । यस्तो शिक्षादिक्षा र संस्कारको परिवेशमा हुर्किएको युवापिढीले भोलिको देश र समाजलाई कतातिर लैजाने होला बुवा मलाई यस विषयमा अत्यन्तै चिन्ता लागिरहन्छ । यी कुरा मैले व्यर्थै गरे बुवा ! तपाईले मेरा दुख र पीडा सबै हेरिरहनु भएकै होला नि !

बुवा ! तपाई अनेक षडयन्त्र र तिकडमका बावजुद फेरि अर्को संविधान सभाको निर्वाचन गर्न दलहरू राजी भए । सबैको सहमतिमा ७० मंसिर ४ गते अर्को संविधान सभाको निर्वाचन पनि भयो । यसको परिणाम कस्तो आयो भने नि…. पहिलो संविधान सभामा अग्रस्थानमा भएको माओवादी यसपाली तेश्रो स्थानमा पुग्यो । पहिलोमा काँग्रेस र दोश्रोमा एमाले आए । राप्रपा नेपाल जसलाई राजावादी भएको आरोप पनि छ उस्ले चौथो स्थान ल्यायो । यो संविधान सभाको गठन भएपश्चात बसेको पहिलो बैठकले १ वर्ष भित्र अर्थात ७१ माघ ७ गते संविधान दिने घोषणा गरेको थियो तर बुवा ! आज अर्को माघ ७ नजिकिदै छ तर पनि संविधान आउने छाँट देखिएको छैन ।

बुवा ! आज मैले तपाईंसँग धेरै लामो गन्थन गरेँ । तपाईलाई झर्को लागेको होला । झर्को लागे पनि सुनिदिनुस् मेरा मनका वेदना । मेरा पीडा र वेदना सुनिदिने कोही छैन । आमा पनि तपाई गएको केही वर्ष पछि तपाईंसँगै जान्छु भनेर जानु भो¸सँगै त हुनुहोला हैन ? अब मसँग त्यही भित्तामा झुण्ड्याएको खुइलिदै गएको त्यही तस्वीर बाहेक के नै छ र ? मेरा वेदनाको पोको सकिएको छैन । अहिले देश फेरि अर्को द्वन्दमा फसेको छ । माओवादीले सस्तो लोकप्रियताको लागि उरालेको अपरिपक्व र अदूर्दर्शी जातीय राज्यको नाराका कारण देश फेरि आक्रान्त बनेको छ । केन्द्रमा नेताहरू सधै झगडा गरिरहन्छन् । जिल्लामा जनता आन्दोलनमा भीडिरहेका छन् । राई¸ लिम्बु¸ गुरुङ¸ मगर ¸मधेसी¸ थारु¸ नेवार¸ तामाङ सबैलाई एउटा एउटा राज्य दिउँला भनेर बाबुराम र प्रचण्डले सोझा जनजातिहरूलाई १० वर्षे जनयुद्धमा बन्दुक बोकाएका थिए । त्यही कारणले अहिले ती समुदायले राज्य मागिरहेका छन् । कसलाई दिनु कसलाई नदिनु ।फेरी उता सुदुर पश्चिमले हामी अखण्ड हुन्छौँ भन्यो । मधेशी ८ जिल्लाले हाम्रो अखण्ड मधेश भन्यो । अहिले थारुले राज्य पाएका छैनन् । कैलालीको घटना त देखिहाल्नु भो होला बुवा । ७२ भदौ ४ गते थारु आन्दोलनकारीहरूले एसएसपी सहित ८ जना पुलिस र १ जना नावालकको हत्या गरे । पहाडी मुलका बासिन्दालाई तराइबाट लखेट्नु पर्छ भनेर भाषण गर्दै हिडेका छन् थारु नेताहरू । यसबाट राज्यपक्ष त्रसित भएको छ¸ पहाडी समुदाय त्रसित छ । साँच्चीकै थारुहरूको छुट्टै प्रदेश भयो भने हाम्रो के हबिगत हुने होला । उता पूर्वमा झापा मोरङ सुनसरीलाई मधेशमा नमिलाएकोमा आन्दोलन छ । स्वायत्त मधेश नपाएकोमा मधेशीहरू आन्दोलित छन् । केही उग्रवादीहरू छुट्टै देश बनाउने भनेर जनता उराल्दै छन् । ज्वाला सिंह र सिके राउतहरू देश टुक्र्याउन खोज्दैछन् । मधेशी आन्दोलनमा मर्नेलाई ५० लाख दिने रे बुवा ! मधेशी नेताहरूले । पृथ्वी नारायण शाहले छोडेर गएको दिव्य उपदेशमा पढेको थिएँ मैले । उनले यो नेपाललाई एकीकरण गर्न कतिसम्म दुख र मेहनत गरेका रहेछन् भन्ने कुरा स्पष्ट लेखेका थिए त्यसमा । पृथ्वीनारायण शाह पनि त्यही कतै होलान नि आत्मस्वरुपको शरीरमा । उनीसँग कहिल्यै भेट भएको छ कि बुवा तपाईको ? के छ उनको हालखबर ? कति बिलौना गर्दा हुन् । कति बिरह पोख्दा हुन् । यो राज्य साना दुखले आर्ज्याको मुलुक होइन चार बर्ण छत्तिस जातको फूलवारी हो सबैलाई चेतना भया । यिनै शव्दावलीबाट स्पष्ट हुन्छ बुवा पृथ्वी नारायण शाहले गरेको दुख । गोरखामा जन्मेका महामानव पृथ्वीनारायणले एकीकरण गरेको देशलाई गोरखा मै जन्मेका अर्का महामानव बाबुरामले छिन्न भिन्न पारेर टुक्र्याउन खोजिरहेका छन् ।

बुवा ! तपाई जीवित हुँदाखेरी जस्तो शान्त र सुरक्षित छैन हाम्रो देश अहिले । त्यसबखत आन्दोलन नै चलेको बेलामा पनि नेपाली जनता सुरक्षित थियो । मरिन्छ कि¸ लुटिइन्छ कि भन्नेर डर चाहिँ पटक्कै थिएन । अहिले बिहान घरबाट निस्केको मान्छे बेलुका घरमा फर्कने नफर्कने निधो हुन्न । गन्तव्यमा हिडेको मान्छे पुग्ने नपुग्ने ठेगान छैन । अस्पताल जान नपाएर बिरामी र गर्भवती महिला अकालमा मरिरहेका छन् । एम्बुलेन्सबाट घाइतेलाई बाहिर निकालेर मारिन्छ यहा । कलकारखाना उद्योगधन्दा सबै बन्द छन् । दैनिक मजदुरी गरी छाक टार्नेहरूको चुलो निभेको छ । खान नपाएर साना वालबच्चाहरूको रुवाबासी चलेको छ । बजार बन्द छन् । यातायात बन्द छ । दैनिक उपभोग्य सामग्रीको अभाव छ । महंगीले आकाश छोएको छ । सवारी साधन कल कारखाना उद्योग धन्दा सरकारी कार्यालय प्रहरीपोस्टमा आन्दोलनकारीहरूद्वारा आगो लगाइएको छ । पुलिसले पड्काएको गोली लागेर आन्दोलनकारीको ज्यान गएको छ । आन्दोलनकारीको हतियारले पुलिस मरेको छ । यसरी काटमार चलेको छ बुवा ! अहिले मेरो ओरीपरी । तर बुवा ! चिन्ता नगर्नु होला उहिले तपाई आन्दोलनमा हिडे पनि तपाईको छोरो यो भुन्टे अहिलेसम्म आन्दोलनमा गएको छैन र जाने पनि छैन । बुवा ! मलाई माफ गरिदिनु होला ।

बुवा ! नेपालको राजनीति अहिले गलत दिशातर्फ गैरहेको छ । ठाउँ ठाउँमा आन्दोलन चलिरहेको छ । जताततै कर्फ्यु लागेको छ । सेना परिचालन भएको छ । दङ्गाग्रस्त क्षेत्र र निशेधाज्ञा जारी गरिएको छ । जनताको ढाड भाचिइरहेको छ¸ गोली लागिरहेको छ¸ आगो बलिरहेको छ । जनता मरिरहेको छ । जनता हामी यो संविधान मान्दैनौ भनिरहेको छ तर जनताका प्रतिनीधि हुँ भन्नेडहरू जसरी भएपनि संविधान बनाएर जारी गरी छाड्छौ भनेर लागिपरेका छन् । जनता मारेर बनाएको संविधान कसका लागि ? यस्तो संविधान भोलि स्वीकार्य भएन र च्यातियो¸ जलाइयो भने के उपलव्धी ? यस्तो संविधान के काम लाग्ला र बुवा ?

बुवा ! म तपाईको तस्वीर अगाडि हात जोडेर उभिइरहेको छु । विगतका वर्षहरूमा पनि त कुसे औँशी आए होलान् । मैले मेरा पुजनीय बुवाको मुख तस्वीरमै भए पनि हेरे हुँला । तर यस पाली म अत्यन्त द्रबित भएको छु । यो देशले कसैको श्राप भोगिरहेको छ । इतिहासको कालखण्डमा एउटी पतिब्रता सतीले नेपाल दरबारमा कसैको पनि विवेक नरहोस् भनेर श्राप दिएर सती गएकी थिइन् भन्ने कुरा कता कता पढेजस्तो लाग्छ । हुन पनि हो बुवा ! नेपाल दरबारमा नछिर्दासम्म सद्दे रहेका राजनेताहरू त्यहा छिरेपछि कुरुप भएर निस्कन्छन् । विवेकसुन्य, कुटिल मानसिकता¸ षडयन्त्रका पारखी भएर र नितान्त स्वार्थी भएर फर्कन्छन् र आफ्नो निहित स्वार्थको निम्ति नैतिकता इमान्दारीता र जिम्मेवारी सबैबाट हटेर एकोहोरो रटान लगाउछन् । जनतालाई दिउँला भनेर झुटको खेती गर्छन् केही दिदैनन् । यस्तै भएको छ बुवा ! अहिले नेपालको राजनीतिक जीवनमा ।

बुवा ! लामो गन्थन गरेँ । तपाईलाई सुन्न पनि पट्यार लाग्दैहोला । अब धेरै बोल्दिन । नेपालमा यस पटक अर्को एउटा दशा लागेको थियो बुवा । ७२ बैशाख १२ गते गोरखा केन्द्र बिन्दु भएको एउटा शक्तिशाली भूकम्प गयो । राजधानी र आसपासका जिल्लाहरूमा करिव १० हजार मान्छे मरे भने धेरै नै परिवार घरबार बिहीन भएका छन् । अर्वौको सम्पत्ति क्षेति भएको छ । हज्जारौ परिवारहरू अहिले पनि त्रिपालमुनी छन् । खेतवारी पहिरोले लगेको छ । पेटमा चारोहाल्ने जोहो गर्न धौ धौ परिरहेको छ¸ उनीहरूलाई । बुवा ! मानिस कतिसम्म निर्दयी हुन सक्दो रहेछ । भूकम्प पिडितका लागि बिदेशीले सहयोग स्वरुप पठाएको त्रिपाल र जस्ता पाता पनि केही लुटेरा फटाहा निर्दयी पापीहरूले खाइदिए । वास्तबिक पिडितले अँझै पर्याप्‍त राहत पाएका छैनन् । कुहिएको चामल र खेसारीको दालले प्राण बचाउनु परेको छ भूकम्प पीडितहरूले । बरु धुर्मुसे र सुन्तलीहरूले भूकम्प पीडितहरूलाई बस्ने घर बनाइदिएका छन् । बुवा ! पश्चिमा कृश्चियन धर्मका प्रचारकहरूले भूकम्प पीडितहरूलाई राहतको साथमा वाईवल पनि बाडेका छन् रे भन्ने् सुनिएको थियो ।कतिसम्म अवसरवादी र निर्दयी हुन सकेका त उनीहरू ।

बुवा ! आज कुसे औँशी । बुवाको मुख हेर्ने दिन । हाम्रो संस्कृति हाम्रो परम्परा । हाम्रो हिन्दू धर्म संसारकै माउधर्म । संसारको माउधर्म माथि प्रहार भएको छ बुवा ! यतिखेर । संविधानमा धर्म निरपेक्ष देश भनेर लेख्‍ने रे । कृश्चियनहरूले हामीहरू माथि प्रहार गरेको गर्‍यै छन् । हाम्रो आस्थाका धरोहरहरू सबै सैतान हुन् रे उनीहरूका लागि । हामीहरूले सदियौँ देखि मानी आएका पुजीआएका सबै देवी देवताहरू सैतान हुन रे । हिन्दू धर्ममै जन्मेर धनको लालचमा नवकृश्चियन बनेका माइकल र लुसीहरूले सहनै नसकिने प्रहार गरिरहेका छन् हामीहरू माथि ।

बुवा ! मनमा लागेको एउटा अर्को कुरा भन्छु । अहिले बन्दै गरेको संविधानमा पनि जातीय छुवाछुत गर्न नपाइने उल्लेख हुँदैछ । सार्वजनिक र नीजि दुवै स्थानमा छुवाछुत गर्न प्रतिबन्ध हुनेछ । हामी उपल्लो भनिएका जातका मानिसहरूले यो जातीय छुवाछुतको लगभग अन्त गरिसकेकै थियौँ । तर बुवा ! गज्जवको कुरा त के छ भने हामीलाई जातीय भेदभाव गरे भन्नेे दलित समुदायले आफूभित्रको छुवाछुत अहिलेसम्म हटाएका छैनन् । दलित भित्रको एक जातले छोएको अर्को जातले खाँदैन । एक जातकी छोरी अर्को जातको छोराले बिहे गर्दैन । उनीहरूले आफू भित्रकै छुवाछुत चाहि यथावत राखेर गैरदलितले छुवाछुत गरे भन्न कत्तिको सुहाउने कुरा हो बुवा ! मैले त कत्ति पनि बुझ्न सकिन । तर पनि हामीले उनीहरूलाई कहिल्यै पनि जातीय छुवाछुत गरेका छैनौँ । तर बुवा ! एउटा अर्को अचम्मको कुरा के छ भने म तपाईको छोरो भुन्टे तपाईकै भाइ र भतिजाहरूबाट छुवाछुतमा परेको छु । तपाईका भिरकुने भाइका परिवार कृष्णप्रणामी भएका छन् । चुकिल्गैराका साइला बाको परिवार सप्पै ॐशान्ति बनेका छन् । तपाईका आफ्नै कान्छा भाइ याने मेरा कान्छा बाका परिवार बैश्णव बनेका छन् । मामाहरू नेम्वार्की भएका छन् । ठूली फुपूको परिवार चाहि राधास्वामी हुन अरे । बुवा ! तपाईले नै माथिबाट सबैकुरा देखिरहनु भएको होला । म चाहि अहिलेसम्म सनातन हिन्दू धर्ममै छु । कुनै अर्को धर्म लिएको छैन । यी माइला बा साइला बा फुपू र मामाका परिवारहरूलाई मैले छोएको पानी पनि चल्दैन । मैले उनीहरूको खानेकुरा छुनु हुदैन, उनीहरूको पुजाकोठामा जानु हुदैन । उनीहरू भान्छामै ज्युनार गर्छन¸ म बबुरो चाहि केटाकेटीहरूसँगै पिढीमा बसेर खानुपर्छ । यही छुवाछुतको कारणले म उनीहरूकोमा नगएको पनि वर्षौँ भैसक्यो । बुवा ! संविधानमा जातीय छुवाछुत गर्न नपाइने कुरा उल्लेख छ । यहाँ एउटै जाती भित्र छुवाछुत भैरहेको छ । आफ्नै घर भित्र छुवाछुतको शृजना गरिदैछ । एउटै बाबुका सन्तानहरू बीच छुवाछुत भैरहेको छ । के यस्तो व्यवहार गर्नु उचित हो त बुवा ? उनीहरूलाई कानून लाग्ला कि नलाग्ला ? दलितहरूलाई पनि छुवाछुत गर्न नपाइने अवस्थामा आफ्नै जात र परिवार भित्र यस प्रकारको छुवाछुत गरिँदा दण्डित हुनुपर्छ कि पर्दैन होला मैले त कत्ति पनि बुझ्न सकिन ।

बुवा ! अन्तमा एउटा कुरा भन्छु । नेपाली राजनीतिको गन्दा नालामा एउटा कमलको फूल पनि फुलेको छ । त्यो फूलको नाम हो लालबाबु पण्डित । सायद बुवाले पनि चिन्नु्भएकै होला । मैले उनको बारेमा के पो जानेको हुँला र तपाईले जति । तर पनि मैले जानेको भन्दैछु । एउटा माटोको भाडा बनाएर गुजारा चलाउने कुम्हाल जातिको परिवारमा जन्मेर कानूनमा स्नातकसम्म पढेका एमाले नेता लालबाबु पण्डित अहिले सामान्य प्रशासन मन्त्री भएका छन् । उनले बिदेशमा बस्न पाउने स्थायी अनमति पत्र डिभि पिआर र ग्रिनकार्ड लिएका कर्मचारीलाई देश वा बिदेश मध्ये एउटा रोज्नु पर्ने र अटेर गरे कारबाही गर्ने कानून ल्याए । यसबाट केही कर्मचारीले बिदेश रोजे भने केहीले देश नै रोजे । अब उनी अरु क्षेत्रमा पनि आवास अनुमति पत्र डिभि पिआर र ग्रिनकार्ड लिनेलाई कारबाही गर्न लागि परेका छन् । यस काममा उनलाई सफलता मिल्दै जाओस भनेर आसिर्वाद दिनुहोस् बुवा ।

बुवा ! लामो गन्थन गरेँ । पितृले दिएको आशिरवाद लाग्छ रे । आजको यस पवित्र दिनमा मलाई मनग्गे आशिरवाद दिनुहोला । मेरो देशमा शान्ति फर्कियोस् । राजनीतिक खिचातानी र फोहोरी खेल अब समाप्‍त होस् । सबै जातजाति मिलेर बनेको मेरो समाज भताभुङ्ग नबनोस् । जातीय राज्यको नाममा देश टुक्राटुक्रा नहोस् । देश बैदेशिक लेबर उत्पादन गर्ने कारखाना मात्र नबनोस् । देशमा विकासको लहर फैलियोस् । आशिरवाद दिनुहोस् बुवा । रोजगारका प्रशस्त अवसरहरू शृजना होउन् । कुनै पनि नेपाली अब बेरोजगार बस्नु नपरोस् । कसैले अकालमा मर्नु नपरोस् । बन्द सधैका लागि बन्द होओस् । सबै नेपालीले सहर्ष स्वीकार गर्ने संविधान बनाेस् । कुनै एउटा वर्गको मात्र संविधान नबनोस् । नेपाली राजनीतिज्ञहरूलाई सकारात्मक सोच र सद्‍बुद्धिका लागि आशिरवाद दिनुहोस् ।यस्तै यस्तै आशिरवाद दिनुहोस् बुवा । हुन्छ त बुवा ! तपाईको दिवंगत आत्माले चीर शान्ति पाओस् । तपाईको आत्मास्वरुप शरीर सधै अमर रहिरहोस् । सधै भरी मेरो ओरीपरी रहिरहोस् । मेरो संरक्षण गरिरहोस् । मेरो देशको संरक्षण गरिरहोस् । आजलाई यत्ति । बाँकी फेरि कुनै दिन ……।

२०७२ सालको कुसे औँशी
मातृभूमि नेपाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

3 thoughts on “कुसे औँशी, बुवा र म”

  1. धेरै राम्रो । यो देश भक्ति र
    धेरै राम्रो । यो देश भक्ति र देश प्रतिको निबन्ध पढदा मनै भावुक भयो ।
    नेपाली राजनीतिज्ञहरूलाई सकारात्मक सोच र सद्‍बुद्धिका आओस।

  2. धेरै राम्रो । यो देश भक्ति र
    धेरै राम्रो । यो देश भक्ति र देश प्रेमको निबन्ध पढेर भित्र देखि मन …………..भावुक भएछ ।
    हे ईश्‍वर नेपाली राजनीतिज्ञहरूलाई समयमै सकारात्मक सोच र सद्‍बुद्धि आओस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *