Skip to content

मनुष्यको विघटनमाथि


अकस्मात् एक दिन
एउटा प्रेतात्मा
मसानबाट
फुत्त बाहिर निस्कियो
र मानिसको भेषमा
देखा पर्यो,

सडकको
बीच चौराहमा,
उसलाई
पार्लियामेन्टमा जानु थियो,
हाउसमा प्रवेश गर्नु थियो,
त्यहाँ मानव सौन्दर्य गुमाएका
अनेकौं कुरूप मनुष्यहरूका
कृत्रिम हाउभाउ
र नक्कली तामझाममाथि
नोट अफ डिसेन्ट
लेख्नु थियो
लेख्ने निर्णयमा
पूर्ण प्रवेश गर्नु थियो,

उसको प्रवेश
उपस्थितिलाई
थरीथरीका
सुकिलामुकिला
दौराकमिज
इस्टकोट
सुरूवालहरूले कसरी लिने हुन,

अप्रत्याशित उत्पन्न
यो विरोध प्रस्तावमाथि
छलफल कसरी गरिनेछ
बेखबर थियो कार्यसूची,

तथापी ऊ
ती कुरूप
छद्मशील आकृतिहरूका
द्वैध चरित्रलाई उछिनेर
कुटिल राजनीतिका विरुद्ध
सङ्कल्प प्रस्ताव
दर्ता गर्ने टुङ्गोमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *