Skip to content

शनै शनै रेगिस्तानहरू


आजकल तिम्रो तस्विरमा
कुनै कोमलता देख्तिनँ,
भद्दापन
भएपनि हुन्थ्यो,

कुन्नि कस्तो सुडौलको
एकएक अनर्थमा
क्रूरता र कलुषितताहरू
कपट र अनर्गलहरू
भित्रैदेखि मडारिरहन्छन्,

बिहानको सुन्दर लिवासमा
आरती सुमधुर सुनिन्थ्यो
शश्य श्यामल
वाचा प्रणय सम्प्रेषित
पराग कम्पनहरू
रेसारेसा सहर्याएर
एउटा नराधम आकृति
रिक्त जिज्ञासा ओर्लन्छ,

आखिर खालिखालि त्यहाँ
कहीँ त कान्ति
बग्नुपर्थ्यो,
लुकीलुकी रूपको पोखरीमा
कस्तो आगलागि चलिरहेछ
तिर्खाको ज्वाला पनि देख्दिनँ
शालीनता देख्दिनँ
अङ्गअङ्गमा
चहक चढ्नुपर्थ्यो,

वसन्त वर्णनजस्तो
जुन आगमन भनेको
रक्तिम प्राचीको उद्घोष थियो
स्पन्दको संगीतजस्तो
नादप्रेषण भनेको
जीवनको सुन्दर उत्सव थियो,
मझेरीमा
दोछाया पर्छ हंस,

तहतह यो कृति प्रकाशनमा
आल्हाद नाम गरेको
कुनै मेधावी राजकुमार
सबै पराक्रम खोलेर
ग्लानि र लज्जाको
वस्त्र आभूषण वरण गर्दै हुन्छ,
चकित हुँदै
नजरको सलामी,

विषको प्याला जोखेर
अलिकति अमृत जोखिम
लहरलहर पोखिनुपर्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *