जन्मको चक्र अब हे ! रोक विधिको विधाता
कतै नै छैन सोझाको चैन भोक र प्यास छ
बहाना दुई चल्दैछ हेर डुङ्गाको खियाइ
उमेर अझ घट्दैछ सदा पानीमा तैरेर
कठीन यस्तो जीवन हाम्रो सकस सधैँको
पागल मन त्रसित सधैँ जिउन धौ धौ छ
सहेर दुःख घाममा तारा देखे नि जोत्दै छौँ
दिन र रात पसिना बगाई घोटेर बाँच्दैछौँ
धर्तीमा कैयौँ महिना बाह्र वितेर सकेछ
हातमा भने केही नि हुन्न सधैँको विलौना
धर्तीमा मेरो भागमा सधैँ फुस्रो छ ढुटोको
संसार सधैँ लुट र पाट भयो नि हरे ! लौ
संकट भयो गरिब भोको सधैँको तमासा
पैसाको कस्तो सधैँको लीला रेटेर चिथर्ने
लय :– झ्याउरे ३+२=५, ३+२=५ , ३+३=६ जम्मा १६ अक्षर
२०७२ असोज ४
विजु सुवेदी ‘विजय’
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com
