Skip to content


पूर्वको लाली र घामको क्षितिजले
धर्तीलाई नचुम्दै
रातभर नसुतेर
बिहानै उठ्छे मनमाया,

कम्मरमा पाँच फेरो पटुकी कस्दै
दुई पसर मकै र भटमास
गुन्युको टुप्पोमा बाँधेर
ठाडो उकालो लाग्छे
अपेक्षाको उचाइ र आस्थाको परिधि
भन्दा धेरै माथि
उसको मनमा
राता,पहेला,हरिया,गुलावी
हिउदे फूलहरू कहिल्यै फूलेनन्
शीरै माथि आएर पोलेका घामले
उसको मन यसरी डडालेको थियो
जसरी मरुभूमिको बालुवा तातेर धुवाले
बादल लागेझैँ,

ध्वजा फाटेको मुटुभित्र
मडारिएको त्यो कालो बादलले
आँखाबाट वर्षात गराएका
आँसुका ढिक्काहरू
बग्दा बग्दै सीमाहीन समुद्रमा हराउछन्

मनमाया आलिका कान्लामा
फुलेका आफ्ना सपनाहरू
गोडमेल गर्दै
मनमा खेलेका तर्क बितर्कका
शब्दहरू सुन्दै टोलाउदै बस्छे ।

मनमा थुप्रै प्रश्नहरू जन्माउछे मनमाया
किन आँखा देक्दैनन् देवताहरू ?
किन मौन छन् आज ?
बिचारा ! मनमायालाई के थाहा
उसले कहिल्यै पैसा चढाइन
मात्र फूल र अक्षता बाहेक
अचेल पैसामा बिक्ने जमाना छ
भनेर सोच्दै सोचिन मनमायाले ।

बिचरा मनमाया !
अभावले पोतिएका अँध्यारा कुनाहरूमा
खरानी बुँङ बुँङ उडाउदै
चिसो चुल्होमा ढुम्रो वाट
बचेको एक मुठी स्वास खर्चेर
भुम्रो बनाउछे
अनि मनले पाकेको एक गास
पस्किन्छे थालभरिरहरहरू ।

मरिसकेका थिए उतिनै बेला आशाहरू
जतिबेला उसको गाउँ हरायको थियो
जतिबेला भेडीगोठ र चौरीको बथान बगेको थियो
जतिबेला सिन्दुर र सौभाग्य खोसिएको थियो
आज
ऊ बाँच्ने एउटै साहास थियो
ती भेडी र चौरीको बथान
त्यो गाउँको याद
लोग्नेको भित्तामा टाँसिएको तस्विर ।

रामकृष्ण पौडेल ”अनायास ”
कविडाँडा,भरतपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *