झसङ्ग भई निद्राबाट विउझिएका एक मन्त्री महोदयले सिरानीमुनि राखेका फाईल र कलम फुत्त फ्याले । मानौ उनले भयानक सपना देखे । अनिसँगै निदाइरहेकी श्रीमतीलाई घचघचाउदै ब्यूँझाएर भने ‘ए बाबुकी आमा लौन मलाई गालामा ठयाम ठयाम हान त’ ।
अर्ध निद्रामा परेकी श्रीमती केही नबुझेर छक्क परेर हेरिरहिन । मन्त्रीले झर्किदै आफैले आफनो गालामा ठयाम ठयाम हाने । त्यसपछि मन्त्रीज्युले खुसीको लामो सास फेरे र भने ‘अहो कस्तो अनर्थको सपना देखेछु । साच्चिकै पो हो कि भनेर मेरो त हात खुट्टा पनि फत्रक्क गलिसक्यो’ ।
ती मन्त्रीलाई आफ्ना कर्मचारी माथि पटक्क विश्वास थिएन । कर्मचारीका हरेक गतिविधिलाई शंकाको दृष्टिले हेर्दै सोच्थे ‘कतै तिनले मलाई झुक्काएर हस्ताक्षर पो गराउछन कि । त्यसैले उनी ठूला ठूला रकमवाला र महत्वपूर्ण फाईल अफिसमा नराखी सिधै घर ल्याउँथे । घरमा पनि जहाँ पायो त्यही राख्न डराउँथे । त्यसैले ती फाईलहरू उनी आफ्नो सिरानमुनि राखेर ढुक्क भई सुत्थे ।
गएको रात उनले सपनामा हेर्दै नहेरी फाईल सदर गरेको देखे । तत्काल उनी झसङ्ग भई विउझिएँ । वीना मोलतोल उनले कहिल्यै फाईल सदर गर्ने गरेको थिएन । तर आज सपनामा कुनै मोलतोल वीना विशेष फाइलमा खुरुखुरु हस्ताक्षर गरेको देखे । उनलाई आफैमाथि विश्वास लागेन । सपना हो कि विपना छुट्याउन उनले आफ्नै गालामा ठयाम ठयाम हानेका हुन ।
डर लाग्दो सपनाले तर्सिएका मन्त्रीज्यू त्यहाँदेखि कलमपनि साथमा राख्दैनन् । के थाहा निद्रमा आफै हस्ताक्षर भई हाल्छ कि ।
समाजको आवाज बैशाख २०७१
सुशीला देउजा
