रातो मत्स्येन्द्रनाथको बाह्रवर्षे मेला


नेपाल विविध धर्म र संस्कृतिमा संसारमै धनी मानिन्छ। काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएको शहर, जहाँ बाह्रैमहिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अँझ भनौं नेवार समुदायभित्र हुने अनेक चाडपर्वहरूमध्ये ललितपुरमा हुने नेपालकै सबैभन्दा लामो समयसम्म मनाइने पर्व रातो मत्स्येन्द्रनाथ रथयात्रा हो ।

नेपालमा रातो मत्स्येन्द्रनाथबाहेक लिच्छविकालीन र मल्लकालीन समयमा स्थापित भएका अन्य चारवटा मत्स्येन्द्रनाथका मूर्ति र मन्दिरहरू रहेका छन् । त्यस अन्तर्गत काठमाडौंको सेतो मत्स्येन्द्रनाथ, नालाको सेतो मत्स्येन्द्रनाथ हुन् भने त्यस्तै रातो मत्स्येन्द्रनाथमा पाटन, दोलखा र कीर्तिपुर चोभारको मत्स्येन्द्रनाथ पर्दछन् । पाटन, दोलखा र काठमाडौंका मत्स्येन्द्रनाथहरूलाई परम्परागत रुपमा रथमा विराजमान गराइ सहर परिक्रममा गराउने गर्दछन् । नालाको करुणामयको रथयात्रा ४÷५ दशक अघिसम्म विद्यमान रहेता पनि अहिले भने त्यो बन्द छ । चोभारको रथयात्रा गराइँदैन । अन्य मत्स्येन्द्रनाथको दाँजोमा पाटनको मत्स्येन्द्रनाथको बाह्रवर्षे जात्राले आधिकारिकता प्राप्त गरेको छ ।

यो वर्ष महाभूकम्पको कारण रोकिएको मत्स्येन्द्रनाथको जात्रा यही असोज पाँच गतेको साइत जुराएर रथ यात्रा गरिएको छ । यो वर्षको बाह्रवर्षे जात्रा पाँच महिना पछि मात्र सुरु भएको हो । बाह्रवर्षे मत्स्येन्द्रनाथको जात्राको साविकको रुटभन्दा फरक र समयावधि पनि कम्तीमा तीनदेखि साढे तीन महिना लामो हुनेछ । रथलाई बुङ्गमतीबाट तानेर ल्याई ललितपुर नगरको साविक बमोजिम परिक्रमा गराई सो रथलाई पुन बुङ्गमतीमै पुर्याई समाप्त गरिन्छ । यो रथयात्रा यसकारण पनि विशेष मानिन्छ कि यो बाह्रवर्षे रथजात्रा सम्पन्न गर्न पूरै नयाँ रथ बनाइने गरिन्छ भने यस पटक दुई पटक जावलाखेल र बुङ्गमतीमा भोटो देखाई समाप्त गरिन्छ । सो नियम सम्बन्धमा नेपाल संवत् ८५२मा लेखिएको ठ्यासफुमा उल्लेख भएको छ ।

नयाँ रथ निर्माण र प्रकृया
रथ निर्माणमा एकल खट निर्माणको दृश्य रोचक हुन्छ । विधि पुर्याएर अनि सतर्कता अपनाएर६० फिट अर्थात् ३२ हात अग्लो रथ निर्माण गर्नु भनेको चानचुने कुरो होइन । विशेषगरी करिब ६० देखि ६४ फिटअग्लो शिखरशैलीमा निर्माण गरिने यस रथमा किला वा धातुका कुनैपनि वस्तु यसमा प्रयोग हुँदैन, केवलकाठ, बेत र डोरीको मात्र प्रयोग हुने गरिन्छ । पुरानो वास्तुकलाको एक नमुना र जीवित सम्पदा मानिने रातो मत्स्येन्द्रनाथको रथलाई हरियो धुपीले सजाइन्छ । रथ निर्माणमा विशेषगरीपाँचजातको काठ प्रयोग गर्ने गरिन्छ । ती काठ विभिन्न स्थानबाट ल्याइने चलन छ । जस्तैः

१. सान्नान जातको काठलाई नेपालभाषामा ‘नः सिँ’ भनिन्छ । यो रथको चार चक्का बनाउन प्रयोग गरिन्छ । रथमा रहने चार चक्कालाई चार भैरवको प्रतिक मानिएको छ । जस्तैः अगाडिको दायाँ हरिसिद्धि भैरव, बाँया टीका भैरव, पछाडिको दायाँ लुभु भैरव र बाँया इखालखु भैरव । यी भैरवहरू सधै यथास्थानमै रहने गर्दछन् । अगाडि पछाडि गर्नु हुँदैन । सो काठ हेटौंडाको मनहरीको जङ्गलमा रुख छान्ने काम हुन्छ र बोका बलिसहित पूजा गरेर मात्र रुख काट्ने गरिन्छ ।

२. फलास जातको काठलाई नेपालभाषामा ‘स्वसिँ’ भनिन्छ । ६० फिट अग्लो रथमा चक्काभन्दा माथिरहने भाग सबै यही काठबाट बनाइन्छ । यो काठ गोदावरी परिसरबाट ल्याइन्छ ।

३. लाकुरे जातको काठलाई नेपालभाषामॉतूसिँ’ भनिन्छ । मत्स्येन्द्रनाथको रथमा मुख्य मूर्तिरहने स्थानको चारैतिर चारवटा खम्बा रहेको हुन्छ, सो यही काठले बनाइन्छ भने यो पनि गोदावरी परिसरबाटै ल्याइन्छ ।

४. मयल जातको काठलाइनेपालभाषामा यसको नाम ‘नसिँ’ भनिन्छ । रथ तान्ने ह्यान्डिलजस्तोलाई ‘घःकू’ भनिन्छ । सो ह्यान्डिल यसै काठबाट बनाइन्छ । यसले रथलाई मोड्ने, घुमाउने सबै काम ‘घःकू’ को प्रयोग गरिन्छ । यो काठ धापाखेलको वनबाट किनेर ल्याइन्छ ।

५. सौर जातको काठलाई नेपालभाषामा ‘नागब्यसिँ’ भनिन्छ । रथको अगाडि नै रहने यो घःमाः(बाङ्गो काठ) ३२ हातको लामो हुन्छ । रथको महत्वपूर्ण अंग भनेकै ‘घःमाः’ हो । यसलाई कर्कोटक नागको प्रतिक मानिन्छ । यसको अगाडि ह्यगृव भैरवको मुखौटा राखिएको हुन्छ । यो काठको लागि पनि बलिसहित पूजाआजा गरेरमात्र रुख काट्ने गरिन्छ ।

विशेष बाह्रवर्षको एकपटक नयाँ मत्स्येन्द्रनाथको पाङ्ग्रा पाटनको इबहीपछाडि बैलाछेंमा राखेरै बनाउनुपर्ने हुन्छ । पाङ्ग्रा बनाउने कार्य बाराही जातीले गर्ने गरिन्छ भने पुरा भएपछि जीवनदान दिने भनेर सोही जातीले सिद्धि पूजा गर्दछन् । सो अवसरमा चार पाङ्ग्राका साथ विश्वकर्मा समेत गरेर पाँचजना भेडा बलिदिनुपर्ने चलन छ भने तीनै भेडाहरूको मासु राखेर पुजारी (पाञ्जु) समेत बसेर भोज खाने र सीकाःभू मनाउने गर्दछन् ।

मत्स्येन्द्रनाथको रथ बाह्रवर्षमा एकपटक बुङ्गमतीदेखि तानेर ल्याउन सम्पूर्ण नयाँ सामानहरू प्रयोग गर्नुपर्ने परम्परा रहेको छ । भारतबाट झिकाइएको नरिवलको बनकेरा र नरिवलको जटाले बनेको डोरीले रथ कस्ने काम हुन्छ । रथ निर्माणमा ञँवा थरका नेवार गुठियारले बेत कस्ने र बाराही थरका गुठियारले काठसम्बन्धी सम्पूर्ण काम गर्छन् । पाङ्ग्रा र रथको तला जोड्ने काठलाई गठामह भनिने चिरुवा बेतको मुठोले कसिन्छ ।

काठ र बेतको कुशल संयोजनबाट रथ मजबुत हुने बताउने कालिगढका अनुसार पाङ्ग्राले ओगटेको क्षेत्रको अनुपातमा अग्लो हुने रथ आधा ढल्कदा समेत पल्टिदैंन । निकै अग्लो र सन्तुलित ढंगले निर्माण हुने रातो मत्स्येन्द्रनाथको रथ विश्वकै उत्कृष्ट कालीगढी नमुनामा पर्छ ।

इतिहास र त्यसको शुरुवात
करिब एक हजार ६०० वर्ष पुरानो रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर आषाढ शुक्ल चौथीसम्म करिव दुई महिनासम्म मनाइने सांस्कृतिक उत्सवलाई रातो मत्स्येन्द्रनाथको रथयात्रा भनिन्छ ।यो रथयात्राको प्रचलन कहिलेदेखि भयो भन्ने तथ्य त्यति स्पष्ट गर्न सकिएको छैन । तथापि मत्स्येन्द्रनाथ आर्या अवलोकितेश्वर र लोकनाथका रुपमा प्रसिद्ध करुणामयीलाई कलिगत ३६०० अर्थात् विक्रम संवत् ४४६मा नेपालमा ल्याइएको हो भनिन्छ भने राजा वरदेवका पालामा मत्स्येन्द्रनाथलाई रथमा राखेर रथयात्रा गर्ने चलन चलाइएको मच्छिन्द्रनाथको वंशावलीमा उल्लेख गरिएको छ । मत्स्येन्द्रनाथलाई नेपालमा ल्याउने राजा नरेन्द्रदेव, बौद्ध आचार्य बन्धुदत्त र भरिया रथचक्र ज्यापू तीनजनाले असमको कामरुपीठबाट नेपाल ल्याइएको थियो भन्ने गोरखनाथ सम्बद्ध किंवदन्ती प्रचलित छ ।

संसारको सृष्टि गर्ने सृष्टिकान्त लोकेश्वर सहकाल ल्याउने बुङ्गमतीका लोकेश्वर र सुख प्रदान गर्ने कनकमुनि लोकेश्वर हुन् भनी विश्वास गरिएको छ । यसमध्ये पद्मपाणी वा आर्यावलोकितेश्वरलाई नेपालभाषामा बुंगद्यः भनिएको छ । बुङ्गमती ‘बंग’ शब्दको अप्रंभश हो । ‘मती’ भनेको तीर्थ हो । यो एउटा तीर्थ स्थलपनि मानिन्छ । हिन्दू कथनअनुसार बुंगद्यः, रातो मत्स्येन्द्रनाथ अर्थात् पद्मपाणी बोधिसत्व ब्रह्माका साथै देवी–देवताहरूका सृष्टिकर्ता र सम्भारकर्ता हुन् । माछाको मुखबाट निस्किएको भनी उहाँलाई त्यसै अनुरुप मत्स्येन्द्रनाथ नामाकरण गरिएको मानिन्छ ।

रातो मत्स्येन्द्रनाथलाई बौद्ध र हिन्दू दुवै सम्प्रदायका साझा देवता मानिन्छ । रातो मत्स्येन्द्रनाथका दुईओटा मन्दिर छन्– एउटा बुङ्गमतीमा छ, अर्को ललितपुर तःबहालमा । रथयात्रा समाप्त भएपछि सूर्य दक्षिणायन हुने बेलामा बङ्गमतीमा बिराजमान गराइन्छ भने सूर्य उत्तरायण हुने बेलामा ललितपुरमा बिराजमान गराउने प्रचलन विद्यमान रही आएको छ । यो चलन ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले नेपाल संवत् ७८१ (वि.सं. १७१८)देखि ६÷६ महिना पाटन र बुङ्मतीमा देवता राख्ने चलन चलाएको मुनीन्द्ररत्न बज्राचार्यले ’नेपालका चार प्रसिद्ध करुणामय लोकेश्वर’ पुस्तकमा उल्लेख गरेका छन् ।

बाह्रवर्षे मेलाको शुरुवात
शुरुदेखि मत्स्येन्द्रनाथको रथजात्रा बुङ्मतीबाट तान्ने प्रचलन भएतापनि वि.सं. १७११तिरको कुरा हो । त्यतिबेला ललितपुरमा राजा सिद्धिनरसिंह मल्लको शासनकाल थियो । बुङ्मतीदेखि रथलाई विना साइत तानिएकोले पहिलो दिनमा नै रोकियो । भोलिपल्ट पनि केही नलागेपछि हप्तामा बल्ल तानियो सो दिन पनि बीचमा अड्क्यो । भोलिपल्ट फेरि तानियो अफशोच रथ भाँचियो । मर्मत गरेर ताने पनि उल्टै रथको पाङ्ग्रा भाँचिए । फेरि रथ मर्मत गरे । नख्खु खोला तर्न बाँकी नै थियो । एक्कासि बालुवामा पाङ्ग्रा धसियो र रथको खम्बा पनि भाँचियो । रथबाट मत्स्येन्द्रनाथलाई झिकेर वासस्थान बुङ्मती पुर्यायो ।

बुङ्मतीदेखि रथयात्रा गर्न असजिलो र भौगोलिक आदि कारणले गर्दा उप्रान्त बाह्रवर्षमा एकपल्टमात्र बुङ्मतीबाट तान्न चलन चलाउने भनेर राजा सिद्धिनरसिंह मल्ल लगायत पुजारीआदिले निर्णय गरेअनुरुप त्यसैबेलादेखि बाह्रवर्षे मेला शुरु भएको कुरा सिल्भाँलेभीद्वारा लिखित नेपाल हिन्दूअधिराज्यको इतिहासको दोश्रो खण्डमा उल्लेख गरेको पाइन्छ ।

एकअर्को कथनअनुसार गुरु बन्धुदत्त आचार्य र राजा नरेन्द्रदेव दुवैको मृत्यु भएको देखेर रथचक्र भरियालाई पनि मर्ने इच्छा जागृत भयो र अनि श्रीलोकनाथलाई प्रणाम गरी श्रीकरुणामयको पद्मासनामा लीन भई मोक्ष प्राप्त गरे । यसरी महावीर पुरुषहरूले क्रमैसँग प्राण त्यागेको देखेर मानिसहरूले दुःखी हुँदै तिनीहरूले चलाएको चलन र गरेको कर्म सम्झी लोकहितका लागि श्रीलोकनाथसँग आशीर्वाद मागिरहे । अनि वर्षैपिच्छे बुङ्गमतीदेखि रथयात्रा गर्न गा¥हो हुन्छ भनी बाह्रवर्षमा एकपटक बुङ्गदेशदेखि रथ मान्ने परम्परा बसाइयो भनेर मच्छिन्द्रनाथ वंशावलीमा उल्लेख गरेको पाइन्छ ।

रथारोहण र रथयात्रा
जब मत्स्येन्द्रनाथ ललितपुरमा रहने पक्का भयो । त्यहाँ एउटा अभिलेख समेत राखियो । त्यसपछि आचार्य वन्धुदत्तले राजा नरेन्द्रदेवलाई भने– ‘‘हे राजन ! अब हामीले यो कलश गर्भमा राखी लोकनाथको मूर्ति बनाउनु पर्यो ।’’
पाटनको यँपि बिहारका मूर्तिकारलाई लोकनाथको मूर्ति बनाउन लगाए र त्यसलाई स्थापना गरिदिए । यति काम गरिसकेपछि आचार्यले ललितपुरमा रहेका सातवटा रथजात्राको देवीदेवताहरूलाई लोकनाथको मूर्तिमा समाहित गरिदिए । यसमा जटधारी लोकेश्वर मात्र आएन । त्यसको लगत्तै लोकनाथले आचार्यलाई सपनामा दर्शन दिंदै भन्यो– ‘‘आचार्य ! मेरो रथयात्रालाई निरन्तरता दिनुपर्यो ।’’यस्तो भनाईपछि लोकनाथ र जटाधारीको समेत दुईटा रथजात्रा गर्ने परम्परा बसालियो ।
महास्नान भएको दुई हप्तापछि अर्थात् बैशाखशुक्ल प्रतिपदाको दिन मत्स्येन्द्रनाथलाई खटमा बोकी तःबहालको मन्दिरबाट पुल्चोकमा ल्याई रथमा बिराजमान गराउने प्रचलन छ ।यसै दिन ललितपुरको चत्र बहालमा बनाइएको रथमा मीननाथ (जटाधारी लोकेश्वर)लाई बिराजमान गराइन्छ । यो रथचाहिँ रातो मत्स्येन्द्रनाथको तुलनामा निकै सानो हुन्छ । यस रथलाई पनि पुल्चोकमै तानेर लगिन्छ र मत्स्येन्द्रनाथ रथयात्रा अवधिभर यो रथ पनि साथमा तान्ने गरिन्छ ।

यस वर्ष बाह्रवर्षे मेला भएको हुनाले रथ बुङ्गमतीमा बनाइने र बुङ्गमतीबाटै तानेर ल्याउनुपर्ने कार्यक्रमअनुसार देवता रथमा राखिसकेपछि बुङ्गमतीको मण्डप पाटीसम्म तान्नुपर्ने प्रचलन छ । त्यहाँ ल्याई ग्वाखच्वमा एकदिन राखेर भोलिपल्ट नख्खु खोला तरेर मेला मनाउने र नख्खु बजार ल्याई राख्नुपर्ने चलन छ । नख्खुबाट बागडोल भई केराउखेलबाट धोबीघाट हुँदै जावलाखेलमा ल्याई रोक्नुपर्दछ भने त्यहाँबाट मध्यरातमै तानेर पुल्चोकको मण्डप पाटीसम्म ल्याउनुपर्ने चलन छ । त्यहाँ पुगेपछि हरेक वर्ष मनाइने मत्स्येन्द्रनाथको रथयात्रा क्रमशः सञ्चालन हुनेछ ।

भोटोजात्रा एक, कथन अनेक
रथलाई जावलाखेल पुर्याउनका लागि साइत हेर्नुपर्दछ । मंगलबजारको सोह्रखुट्टेपाटीमा चारथरीका ज्योतिषहरूद्वारा साइत जुराएपछि रथलाई लगनखेल खरिकोबोटदेखि जावलाखेल पुर्याउने कार्य शुरु गरिन्छ । रथ जावलाखेल पुर्याएको चौथोदिनका दिन चाहिं भोटो जात्रा हुन्छ । बहुमूल्य रत्नजडित ‘हेलगुजि’ भनिने भोटोलाई गुठी संस्थानका कर्मचारीले रथको बुर्जाका चार कुनामा तीन–तीन पटक देखाउने गरिन्छ । यस ऐतिहासिक भोटोका सम्बन्धका अनेक लोककथाहरू प्रचलित छन् ।

राजा गुणकामदेवका पालामा भक्तपुरका नाम चलेका एकजना वैद्यले टौदहका कर्कोटक नागराजले आफ्नी नागिनीको आँखा दुखेको निको पारिदिएको खुशीयालीमा नागराजले उपहार स्वरुप हिराजडित भोटो वैद्यलाई दिइएको र पछि एकजना भूतले उक्त भोटो चोरेर लगेको कथन छ । त्यस भूतको खोजीको सिलसिलामा वैद्य एकदिन मत्स्येन्द्रनाथको जात्रामा पुगेको थियो । त्यहाँ एउटा भूतले मानिसको रुप लिई त्यही भोटो लगाएर आएको देख्यो अनि वैद्यले राक्षसलाई समातेर भोटो माग्यो तर दिन नमानेपछि दुई बीच द्वन्द्व भयो । जात्रा हेर्न आएका राजा सामू भोटोको मुद्दा पेस हुन पुग्यो, राजाले दुवैलाई बोलाएर ‘‘जसले भोटो आफ्नो हो भन्ने साक्षी प्रमाण ल्याउँछ उसैको हुनेछ, लौ साक्षी प्रमाण खोजेर ल्याउ’’ भनेर निर्णय सुनाएर भोटो मत्स्येन्द्रनाथकहाँ नासोका रुपमा सुम्पे ।

भूतले प्रमाण ल्याउने कुरानै भएन । वैद्यले भने टौदहको डिलमा बसेर नागराजा कर्कोटकलाई पुकार्न थाले । कर्कोटक नागले वैद्यलाई भने– ‘‘म तपाईंका लागि मनुष्यरुप लिई साक्षी बक्न आउनेछु । जात्रामा म आउने बेलामा ठूलो हुरी चल्नेछ । त्यसबेला मलाई चिन्नू । म अरु मानिसहरूभन्दा एक बित्ता अग्लो हुनेछु । नासो रहेको भोटो तपाईंको हो भनेर साक्षी प्रमाण दिनेछु ।’’ वैद्य भोटो मेरै हुने भो भनी सम्झेर घर फर्के ।

अर्को भनाइअनुसार कर्कोटक नागले दिइ पठाएको उक्त भोटो लगाएर खेतमा काम गरिरहेका बेला दुइटा भूतहरूले चोरेर लगेछन् । दुःखी भएर बसेका वैद्यलाई देखेर मत्स्येन्द्रनाथले उक्त भोटो फिर्ता लिन जाँदा चुनिखेतको ‘इकुम्ब’ भनिने मुहान पोखरीको किनारमा भूतहरू बसेर भोटो आधा आधा बाँडेर लिने कुरा गरिरहेको बेला मत्स्येन्द्रनाथ पुगे– ‘‘यो भोटो कसरी आधा पार्छौ ?’’ भनी खोसे । अनि फेरि भने ‘‘यो भोटो त्यसैको हुनेछ, जो यो पोखरीमा धेरै बेर पौडेर बस्न सक्दछ’’ । मत्स्येन्द्रनाथको यस्तो कुरा सुनेर दुवै भूतहरू पोखरीमा पौडन थाल्छन् त्यही मौका छोपी मत्स्येन्द्रनाथ भोटो लिएर आफ्नो बाटो लाग्छन् । त्यसैबेला मत्स्येन्द्रनाथले ‘‘यो भोटो जसको हो, जावलाखेलको जात्रा र बुङ्गमतीमा हुने जात्रामा (बाह्रवर्षे मेलामा बुङ्गमतीमा समेत भोटो देखाउने प्रचलन छ) लिन आउनू’’ भनी गएको भनिन्छ । विगत तेह्र सय वर्षदेखि राजा र प्रजाका बीचमा जावलाखेलमा हुने मत्स्येन्द्रनाथको रथयात्रामा भोटो देखाउने जात्रा पनि गाभियो । यद्यपि त्यो भोटोजात्रा चलेकै छ ।

मत्स्येन्द्रनाथको रथयात्राको अन्तिम तथा महत्वपूर्ण दिन पनि यही भोटोजात्रा दिन हो । त्यसदिन बिहानैदेखि जावलाखेलमा श्रद्धालु भक्तजनहरूको भीड लागेको हुन्छ, त्यहाँ भोटोजात्रामा राष्ट्रप्रमुख समुपस्थिति हुने परम्परा रहिआएको छ । भने बाह्रवर्षको एकपल्ट बुङ्गमतीबाट रथयात्रा शुरु गरी ललितपुरको नगर परिक्रमापश्चात् रथ नै तानेर बुङ्गमतीकै ग्वान्न भन्ने स्थानमा मत्स्येन्द्रनाथको भोटो स्थानीय जनतालाई देखाएर मात्रै रथबाट निकालेर मन्दिरमा भित्र्याउने गरिन्छ अर्थात् बाह्रवर्षे मेला बिसर्जन गरिन्छ ।

असोज ९ गते २०७२ गोरखापत्र दैनिकमा प्रकाशित
[email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *