“खा न ! के हेर्दैछस् ? यो त नखाई नखाई हो के यस्तो सुकेको ! टन्न खानु, मजाले सुत्नु । किन लिने अनावश्यक तनाब ?”
“कहाँ मैले तनाब लिनु ? म त सोचिराको छु ।”
“खाने बेलामा नि किन सोच्ने त ? खा खुरुखुरु ।”
“ल के ल, अबको दस वर्षमा म के हुन्छु, कहाँ हुन्छु भनेर सोच्दै छु । ”
“के हुनु नि, ज्वाईँ होलास, बुढो होलास अनि बाउ होलास, ससुरालीमा होलास । पैँतीस वर्ष हुन्छस् मोरा ! ”
“ह्या, कति कराइरा ?”
“त्यो दाल हालेर खा न !”
“ल के ल खादै छु । साँच्ची मम्मी, जेठी केटी बिहे गर्दा के हुन्छ ?”
“के हुनु ? हुन त के नै होला र ? तेरो बाले मान्दैनन त्यै हो ।”
“हिहिहिही, हाम्रो बा नि बा नै हो ।”
“तर तपाईं नि जेठी रे नि त बाभन्दा, हो ?”
“नकरा मोरा, उसै त सधै त्यही भनिरहन्छन्, अनि फेरि त त्यस्तो कुरा गर्छस?”
“त्यो त हो ।”
“तर के नै हुन्छ र जेठी केटी बिहे गर्दा ?”
“कति जेठी छे र ?”
“केही हैन, मैले त सोध्या मात्र । तर एक दुई महिनाले त के नै गर्छ र ?”
“कुरा केटीकै त रैछ त । म जून को अनि त्यो चाहि अक्टोबरकी ।”
“हेर हेर बुद्धि मोरोको, अक्टोबरकी भनेसि कसरी जेठी भई?”
“हो त है ? म पनि कस्तो लाटो भाको ?”
अब यो समस्या पनि समाधान भयो । यो मन फुरुङ्ग भयो अनि खपाखप खाना खाएर मनमनै दङ्ग पर्दै तल झरें ।
