Skip to content


कोक्रो भन्नासाथ देखिएन भने
आमाका आँखा
बुझ्नुपर्छ
संवेदनाको गला निमोठिरहेको छ प्रेमीजस्तै देखिने अँध्यारोले
बाटोको पाइताला हठात् ज्यानमारा भीरमा टुंगिएको छ

हल्लिरहेको कोक्रो कोल्टे कोक्रो सोझो कोक्रो स्थिर कोक्रो उफ्रिरहेको कोक्रो पौडिरहेको कोक्रो
र उडिरहेको कोक्रो
कत्ति कत्ति कोक्रोमा अटाएको छ
कत्ति कत्ति कोक्रोको नाम

कोक्रोले कहिल्यै माग्दैन नाम
कोक्रोले दिन्छ नाम
कोक्रोभित्र मान्छे हुने अभ्यास गरिरहेको नानीलाई

ओडारबाट भर्खरै निस्किएर आएको धुनले
कोक्रोको कानलाई छुन्छमात्र
केही भन्दैन

देखेपछि भुलिएको सपनाजस्तै भुलिन्छ कोक्रोलाई मान्छेले
कोक्रोबाट उठेर पाइला चल्न थालेपछि
तर कोक्रोबाटै निस्किएका हुन्
पहाडका चुचुरा नदीका मुहान सहरका
चोक इतिहासका मिनार इतिहासका गल्ली राज्यका
किल्ला घरका धुरी र मान्छेका आफ्नै उचाइहरू

कोक्रो देख्नसाथ देखिएन भने
आमाको अनुहार
बुझ्नुपर्छ
हरेक मुर्दाशान्तिले जीवनको
नाममा शोक सन्देशको चिठी बोकेको छ
नदीमा जीवन्त पानीको सट्टा
बगिरहेको छ मुटुको रस र गिदीको झोल

मान्छेले कोक्रोलाई याद गर्ने भए
उसले जात धर्म रङ वर्गबिनाको कोक्रोलाई
टुक्राटुक्रा पार्ने थिएन
कोक्रोबाट निस्कने साथ
युद्धको सास फेर्ने थिएन

http://annapurnapost.com/News.aspx/story/20407

Leave a Reply

Your email address will not be published. Required fields are marked *