Skip to content


नेपाली आख्यानस्तम्भ साहित्यकार रमेश विकल अब हामीबीच रहनु भएन । रमेश विकलको अभावबोध उहाँको प्रत्यक्ष अभिभावकत्वबाट वञ्चित यी पङ्क्तिका लेखक जस्तालाई हुनु त स्वाभाविक नै हो, अहिले यो अभावको अनुभव उहाँलाई माया गर्ने नेपाली भाषा, साहित्य र संस्कृति क्षेत्रका समस्त साधक-पाठक र शुभचिन्तकरूबाट पनि भइरहेको छ । यो नै वास्तवमा उहाँको जीवन बाँच्नुको सार्थक पक्ष हो । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा एमालेका महासचिव झलनाथ खनालदेखि विभिन्न साहित्यिक संघसंस्थाहरूले उहाँको निधनमा गहिरो शोक प्रकट गरेका छन् । देशभित्र र बाहिर पनि श्रद्धाञ्जली सभाहरूको आयोजना भइरहेका छन् । नेपाली लेखक संघले “आख्यान क्षेत्रका शिखर स्रष्टा रमेश विकलको असामयिक निधनबाट सम्पूर्ण नेपाली वाङ्मयजगत्मा नै अपूरणीय क्षति” अनुभव गर्‍यो । प्रगतिशील लेखक सङ्घ, नेपालले “नेपाली साहित्यको श्रीवृद्धिका निमित्त आजीवन सिर्जनरत र सङ्घर्षरत् विकल नेपाली समाजको रूपान्तरणप्रति प्रतिबद्ध विशिष्ट सर्जक”को अभावबोध गर्‍यो । यो अभावबोध र नेपाली भाषाभाषीहरू रहेका विश्वका कुनाकुनाबाट देखाइएका सम्मान र शोक अभिव्यक्तिहरू यथार्थमा स्वतःस्फूर्त शोकविहृवलताका साक्ष्य थिए । कुनै राजनीतिक वा अन्य उच्च पदीय प्रभावबिना नै उहाँमा अर्पित यीे सम्मान वास्तवमै उहाँप्रतिको उच्च तर वास्तविक मूल्याङ्कन पनि हो ।

विभिन्न कार्यक्रमहरूमा “लेख्दालेख्दै मृत्युवरण”को चाहना प्रकट गर्दै आउनुभएका विकलको मृत्यु पनि लगभग त्यसरी नै भयो । अस्पताल जानुभन्दा दुई-तीन घण्टा अगाडिसम्म पनि लेखि नै रहनुभएको थियो उहाँ । अस्पतालको शय्यामा भेण्टिलेटर र अक्सिजनको प्रभाव केही कम गर्दाका बखत लेखिएका नबुझिने दुई-तीन, दुई-तीन शब्दका तीन हरफ उहाँका अन्तिम किरमिर रेखाकोराइ बने पनि अस्पताल जाने बिहान मङ्सिर २४ गते लेखिएका आत्मवृत्तान्तका तीन पृष्ठ नै उहाँका अन्तिम हस्ताक्षर बन्न पुगे । अन्तिम सिङ्गो रचना बन्यो- मधुपर्कको यही अङ्कमा प्रकाशित कथा । यसरी “लेख्दालेख्दै मर्ने” उहाँको इच्छा लगभग पूरा भयो । लेखनमा केही समय बिताएर मात्रै उहाँले मृत्युलाई वरण गर्नुभयो । लेखन मात्र नभएर आफूलाई आजीवन समर्पित गर्दै आउनुभएको आफ्नो अर्को पि्रय क्षेत्र सामाजिक कार्यको समेत उहाँ त्यही बिहानसम्मै नेतृत्व गर्दै हुनुहुन्थ्यो । अस्पताल जानुभन्दा डेढ-दुई घण्टा अगाडिसम्म पनि उहाँ विकास निर्माणसम्बन्धी एउटा मिटिङको अध्यक्षता गर्दै हुनुहुन्थ्यो । त्यसपछि मात्र केही असजिलो अनुभव गरेर सामान्य परीक्षणका लागि अस्पताल पुग्नुभएकोमा उहाँ फेरि फर्केर आउनुहुन्न भन्ने कसैले पनि सोचेको थिएन त्यतिखेर तर उहाँलाई निमोनियाको तीव्र सङ्क्रमणले आखिर सघन उपचार कक्षमा पुर्‍याइ छाड्यो । पटकपटक मृत्यसँग पौठाजोरी खेल्दै आउनुभएका विकल यसपल्ट मृत्युलाई छल्न असमर्थ हुनुभयो भोलिपल्ट रातको ११ बजे भेण्टिलेटरको कहिल्यै नर्फकने अन्धगृहमा जान विवश बनेपछि। त्यसपछि त्यहाँबाट फर्केर हामीबीच आउनुभएन । आखिर यो पछिल्लो सङ्घर्षमा मृत्यु बलियो बन्यो- उहाँलाई हामीबाट खोसी छाड्यो।

अनौठो संयोग मान्नुपर्छ विकलको पहिलो र अन्तिम दुवै सिर्जना कथा नै बन्न पुगे। २००५ सालमा हस्तलिखित मासिक पत्रिका ‘सन्देश’बाट सुरुभएको उहाँको साहित्यिक जीवन र २००६ साल चैत महिनाको शारदामा प्रकाशित “गरिब” कथाबाट प्रारम्भ भएको कथाकार विकलको व्यक्तित्व मधुपर्कको यही अङ्कमा प्रकाशित लामो कथा “किराँत प्रदेशको दुर्दान्त शिकारी”बाटै विश्रान्तिमा लीन हुन पुग्यो । उहाँको अन्तिम हरफ अस्पताल जानुअघि लेखिएका आत्मवृत्तान्तका तिनै तीन पृष्ठ हुन पुगे पनि अन्तिम पूर्ण सिर्जना चाहिँ मधुपर्कको यही कथा बन्नपुग्यो । मधुपर्कको सम्पादकका हैसियतले लगभग तीन हप्ताअघि यस पङ्क्तिकारले उहाँसँग एउटा कथाको अनुरोध गरेको थियो । कसैको पनि अनुरोध पन्छाउन नसक्ने विकलले अशक्त हुँदाहुँदै पनि मधुपर्कको अनुरोधमा यो कथा लेखेर दिनुभयो । कथाका शिरानीमा उहाँले “लघुउपन्यास” लेख्नुभएको थियो र “आकार र संरचनाका दृष्टिले लघुउपन्यास नै नभन्ने कि ?” भन्ने पङ्क्तिकारको भनाइमा उहाँको सहज स्वीकृति थियो- के भन्दा ठीक हुन्छ हेरेर मिलाउनु Û” त्यही अनुसार हामीले सम्पादनक्रममा यसलाई “कथान्यास” भन्ने धृष्टता गरेका छौँ । त्यसरी नै नेपाली ठूला छापामाध्यमले आवश्यकता नदेखे पनि देशका दुईवटा प्रतिष्ठित अङ्ग्रेजी दैनिकले विकलको निधनलाई सम्पादकीयको विषय ठहर्‍याए । मधुपर्कले नेपाली सञ्चार माध्यममा देखिएको त्यो अभावको सानै भए पनि पूर्ति गर्न यो अङ्कको सम्पादकीय स्वर्गीय रमेश विकलप्रति समर्पित गरेको छ । कुनै बेला मित्र राजकुमार केसीले उहाँको अन्तर्वार्ता लिएर राइजिङ नेपालमा छाप्दा यो पङ्क्तिकारको कुनै संलग्नता र सल्लाह नरहँदा नरहँदै पनि “दुरुपयोग” को आरोप खेप्नु नपरेको होइन । त्यस्तो आरोप लगाउने केही अनुहारहरू अझै हालीमुहालीमै भए पनि मधुपर्कले सम्पादकीयसमेत लेख्ने निर्णय गरेको छ । यसलाई धृष्टता नै किन नठानियोस् ।

तर हामी विश्वस्त छौँ, स्वर्गीय विकलका योगदान आफैँमा यस्ता पूर्वाग्रही सोचको जवाफ दिन पर्याप्त छन् । ग्रामीण तथा सहरिया निम्नवर्गीय एवम् शिक्षित समुदायमा विगत साढे छ दशकदेखि विद्यालय स्थापनाजस्ता शैक्षिक जागरण र साहित्यिक कलमका माध्यमबाट गर्दै आउनुभएको सुधार र अर्थपूर्ण परिवर्तनको लागि चेतना प्रवाहले पनि यसलाई पर्याप्त आधार दिनेछ भन्ने हामीलाई लाग्दछ । नेपाली भाषा र साहित्यको उच्चविचारपूर्ण सिर्जनशील सेवा र शाश्वत मानवीय भावनालाई उजागर गरेकै कारण उहाँ देश-विदेशमा समेत सम्मानित हुनुहुन्छ र सो सम्मान कायमै छ । जनजीवनको यथार्थ तर सिर्जनशील अनि सुमधुर बिम्बमय चित्रण उहाँको साहित्यिक वैशिष्ठ्य बनेका छन् । विपन्न, निराश र विषादमय जनजीवनलाई आशा र हौसला प्रदान गर्दै चुनौती सामना गर्न मानसिक तथा सामाजिक बलप्रदान गरेर उहाँले नेपाली मात्रको स्वाभिमान र उद्देश्यमूलक कार्यपरायणता, प्रत्येक व्यक्तिको विश्व साझेदारी र समान हकहितको चेतना बिस्तारमा अभूतपूर्व योगदान गर्नुभएको छ, यो हाम्रो विश्वास हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *