भुवा सिमल हुँ म
बिस्तारै छोऊ
थिचिएर तिम्रा औंलाको दबाबले
नखजमजिऊन् मेरा रेशाहरू

बिग्रिए भने यी रेशा
केको बनाउनु नरम तकिया
र आरामले निदाउनु रातभरको निद्रा?
बिस्तारै छोऊ
म भर्खर पलाएको पालुवा हुँ
नलुछ अहिल्यै मसिना हाँगाहरू

हाँगै भाँचेपछि कहाँ बस्लान् चरा
र गाउलान् गीत तिम्रो निदरीमा
कहाँ फुल्लान् फूल
र मग्मगाउलान् तिम्रो देवताको मन्दिरमा
म प्यालामा भरिएको ‘भर्जिन’ हुँ
पिऊ होशपूर्वक

नपोख एक थोपा तिम्रो ओठभन्दा बाहिर
नघुट्याउ सटासटी
म तिम्रै त भोग्या हुँ
उठाऊ जतनले काँचको प्याला
प्याट्ट फुटेर पोखिएँ छताछुल्ल भने केले बुझाउँछौ
आगोजस्तै उठेको प्यासको उभार ?
बिस्तारै आऊ
घरक्क दैलो उघारेर

म तिम्रो स्वेच्छाको ओछ्यान हुँ
नरम आङ ओछ्याएर पर्खिबसेको छु

जतनले लाऊ झ्यालका खापाहरू
बन्द गर भ्यान्टिलेसन

जहाँबाट छिरिरहेछ अलिकति अक्सिजन मेरो फोक्सोसम्म
चलमलाएँ भनेँ म सास फेर्ने बहानामा

कसरी लाउँछौ चैनको आँखा ?
कसरी देखौला पौरुष भद्रताको सपना ?

म घुम्टोभित्र छोपिएको मैन मूर्ति हुँ
नभोग्दै मेरा नशालु आँखाहरू

नटोक्दै आवेगले कान र गाला
पग्लिएँ भनेँ म
के गर्छौ तिम्रो मर्दांगी ?
भनेँ नि बिस्तारै आऊ !
टेक सुस्तरी
करङको बाटो तिम्रैनिम्ति खनेकी हुँ छातीभित्र

तिम्रैनिम्ति भरिदिएकी छु छातीको उचाइ
अँगाल सुस्तरी
तिम्रै निम्ति कसिदिएकी छु यी नागबेली कम्मर

ईश्वरले तिम्रो निम्ति साँचिदिएका छन्
नितम्ब र योनी मेरो शरीरमा
भोग जतनले हररात।
पुरुष !

यो विधान थियो तिम्रो
दफा उपदफामा यसरी भोग्थ्यौ मलाई
म धरती, उम्लेर भित्रभित्रै आजसम्म
शान्त फूलिरहेँ तिम्रो गमलामा
चुपचाप पोखिइरहेँ तिम्रा ओछ्यानमा
बगिरहेँ तिम्रो बहावको धारमा

तिमीलाई थाहा छ,
सधैं एउटै धारमा बग्दैन भोल्गा
सधैं एउटै लयमा हिँड्दैन गंगा
जब कुल्चियौ मेरो शिर
थुक्यौ मेरो योनी र पाठेघरमा
लत्यायौ रजमुछेल मेरो पेटिकोटलाई
पुरुष !

म बहुलाएँ, नाघेँ धर्मरेखा
डरलाग्दो तिम्रो सभ्यताको आदिम ओडारबाट निस्केर
च्यातिदिन्छु यो मुखौटो र घुम्टो
छ्यांग देखाइदिन्छु तिम्रो दुनियाँलाई

मेरो जंगली अनुहार
लाउँछु कटुवाल डाँडोमा निस्केर
कि म हैन रछ्यानमा उग्राइबस्न बँधुवा पशु
हैन गुलाब या बाबरी

बैठकको सिलिङमा झुन्डिई बस्न अभिशप्त झुमर
या मृत कुनामा खुम्चिइरहेको बोन्साई
आज म चिच्याउँछु-पहिलोपल्ट तिमी सुन
कि कस्तो हुन्छ— पहाडमा पहिरो जाँदाको संगीत
कि कस्तो हुन्छ— आँगनमा बाढी पस्दाको दृश्य
हेर आफ्नै आँखाले।
पुरुष !

प्रतिबन्धित भण्डार घरबाट
म उठाउँछु तिम्रो विरासतको तरबार
र छिनाल्छु त्यो मौलो
जहाँ युगौंदेखि म बलि चढ्दै आएकी छु।।

http://annapurnapost.com/News.aspx/story/19605

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *