कृष्णादेवी शर्मा श्रेष्ठ नेपाली साहित्यमा महाकाव्यसम्म लेखेर आफूलाई महाकविको पदवी हाँसिल गरेकी साहित्यकारले आज आएर आधा आकाश उपन्यास लेखेर आफूलाई उपन्यासकारको पदवीबाट सुसज्जित भएको हामीले पाएका छौं । उहाँका करिब विविध विधामा लेखिएका एकदर्जन कृतिहरूले नेपाली साहित्यको क्षेत्रमा गहन भूमिका निभाएका छन् भने उहाँले छन्दमा लेख्ने गरेका कविताले छन्दको मार्गमा एउटा कोशे ढुङ्गा थपेको महसूस भएको देखिन्छ । उहाँको हालसालै प्रकाशित भएको आधा आकाश उपन्यासले महिलाले आफ्नो हक अधिकारको खोजीमा दौडिरहेको छ र नारीहिंसाको अन्त्य चाहेको छ । संसारको चक्रमा पुरुष र महिलाको समान अस्तित्व छ ।
नारी नै सृष्टिकी जननी हुन् तर पनि हरेक क्षेत्रमा नारी शोषित र पीडित भएको हामीले पाउँछौं । कृष्णादेवी शर्मा श्रेष्ठले नारीका आवाज बुलन्द भएर गुञ्जेको सुन्न चाहनुहुन्छ । हरेक क्षेत्रमा सम्लग्नता खोज्नुहुन्छ तर पाउनु हुन्न । कारण केलाउनुहुन्छ । महिला पछि पर्नाको नतिजामा महिलाहरू आफ्नै कारणलेपछि परेको, महिलाले महिलाको खुट्टा तान्ने प्रवृतिरहेको पाउनुहुन्छ । जता जानुहुन्छ त्यतै महिला हिंसामात्र पाउनुहुन्छ । तिनै नारीवादी चिन्तन बोकेर नारीको उत्थानको लागि मागदर्शन पस्कदै महिलाहिंसाका याबत घटना क्रमलाई समावेश गर्दै आधा आकाश उपन्यास लिएर हाम्रो अघि खडा हुनु भएको छ ।
आधा आकाश उपन्यास पच्चीस अङ्कमा सिर्जित छ । स्थानीय मातृभाषालाई खास गरेर पर्वते भाषमा सिर्जना गरिएको उपन्यासको आरम्भको परिवेश पनि पर्वत नै छ । यो उपन्यासले महिला हिंसाका बारेमा घट्ने यावत घटनाक्रमलाई बोक्ने प्रयास गरेको छ । महिला हकहितमा कसरी जुट्ने, महिला उत्थानमा कसरी अग्रसर हुने, महिलाले समाजले पस्केका विकृति र विसङगतिबाट कसरी छुटकरा पाउने, समाजको हरक्षेत्र र राज्यको हरेक अङ्गमा महिलाले महिला हक र अधिकारमा कसरी पहुच पुर्याउने आदि महिला सम्बन्धी विकास मनन् चिन्तनको एउटा दस्तावेजको रूपमा प्रस्तुत गरिएको उपन्यास हो यो । आज म यस उपन्यासका मुख्य मुख्य नारी पात्रहरूको बारेमा अध्ययन गर्ने प्रयास गरेको छु ।
रञ्जना– रञ्जना बासुदेवकी पहिली पत्नी हुन् । रञ्जनाले सुकन्यालाई जन्म दिएर यस संसारलाई सदाको लागि त्यागेको देखिन्छ । बासुदेवले रञ्जनालाई एउटी लच्छिनकी महिलाको रुपमा स्मरण गरेको देखिन्छ ।
झुमाकुमारी– बासुदेवले रञ्जना बितेपछि झुमाकुमारीसँग विवाह गरेका छन् । यस उपन्यासमा झुमाको भूमिका सौताने आमाको रूपमा एउटी नीच महिलाले गर्ने व्यवहार जस्मा मानवताको कमी, सौताकी छोरी(सुकन्या)प्रति यातनादिने प्रबृति, सुकन्याले गरेका हरेक कामहरूमा नकरात्मक सोच राख्ने आदि समाजमा देखिने तथा व्यवहारमा देख्नपाइने घटनालाई बोक्ने महिलाको रूपमा प्रसतुत गरिुएको छ ।
सुकन्या– यस उपन्यासकी मुख्यपात्र हुन् सुकन्या । यिन्कै सन्ततिबाट यस उपन्यासको आदि अन्त्य हुन्छ । सुकन्या जन्मेपछि आमाको काखबाट अलग हुन पुगिन् । संसारमा शिशु मातृ विहीन हुने घटना जहाँ पनि देख्न पाइन्छ । यो सत्य घटना हो । एउटी शिशुले मातृ वियोगमा व्यहोर्न पर्ने यावत् घटनाक्रमलाई सुकन्याले भोगेकी छन् । नेपाली समाजमा पतिले पत्नीको मृत्युको लगत्तै विवाह गर्ने प्रबृत्तिलाई यस उपन्यासले थालनीबाटै प्रष्ट्याएको छ । सौताको सन्ततिलाई अधिकांस सौताने आमाले गर्ने घृणित व्यवहारलाई सुकन्याले व्यहोरेकी पात्र हुन् । घर, गोठ, खेत बारी, सबै ठाउँमा बालक कालमा कठोर परिश्रम भोक भोकै भोगेका घटनाक्रमहरू जो समाजमा सजीव छन् ती सबै भोगेकी छन् सुकन्याले । मुखियाको छोरा सुजितसँग सुकन्याको विवाह हुन्छ । विवाह पछि एउटा बुहारीले निभाउन पर्ने सामाजिक तथा घरयासी सबै किसिमका दायित्वलाई सहजै निभाएकी छन् । सासूको कठोर व्यवहारलाई पनि सहजै स्वीकारेर घरलाई सिङ्गारेकी छन् सुकन्याले । सुकन्या आमा बन्नु, पति प्रदेश जानु, आए पछि देशका बिभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्नु, सुकन्या घरमा बलिई सदस्य बन्नु र सासू बुहारीमा झगडा चल्नु, सासूलाई तीन पैसे सासू भन्ने शब्दको प्रयोग गर्नु यही शब्दको चोटले मुखिनीले स्वेच्छिक मरणको वरण गर्नु, । सुजित विदेश जानु, घरमा लालुलाई काम गर्न लगाउनु, लालुबाटै उनी बलात्कृत हुनु, बलात्कृत भए पछि गर्भ रहनु, समाजमा छलफल हुनु, लालुले सुकन्यालाई लिएर भारत जाने प्रस्ताव राख्नु, सुजित नआएसम्म बूढो ससुरा र छोराछोरीलाई नछाड्ने निर्णय लिनु, छोरी जन्माउनु, छोरीको नाम आन्दोलन राख्नु, सुजित घर आए पछि आन्दोलनलाई साथमा लिएर अलग्गै गाउँले कटेरोमा बसोबास गरेर आन्दोलनलाई एम्.ए.सम्म अध्ययन गरानु, छोरा आनन्दको विवाहमा सुकन्या सामेल हुनु र केही दिन छोरा र नवदुलहीसँग बस्नु, । सुकन्या एक संघर्षशील महिला पात्र हुन् । सर्बप्रथम आमासँगबाटै वियोगान्त र दुःखान्त, सुजीतसँग विवाहगरी केही छण संयोगान्त र सुखान्त, बलात्कृत भएर, समाजमा तिरस्कृत भएर पनि छोरा छोरी र बूढो ससुरालाई सुजीतलाई जिम्मा नलगाउन्देर कर्तव्यपरायणन्ता, पछि पुनः केही क्षण कष्टकर समयमा अवतरण र अन्तिममा दुवै तर्फतिरका छोराछोरीले सम्मान दिएर आफ्नो जीवन भोगाइलाई स्वीकारेकी महिला पात्र हुन् ।
मुखिनी बूढी –सुकन्याकी सासू, बुहारीमाथि हैकम चलाउनु पर्छ भन्ने सोच भएकी । पहिलीकी बुहारीलाई मारेको भन्ने गाउँलेको शंकामा रहेकी, बुहारीसँग झगडा गरिरहने, बुहारीले तीनपैसे सासू भनेर मुख लगाए पछि बोली बाँणलाई सहन नसकी स्वेच्छिक मरणलाई अवलम्बन् गर्ने महिला ।
राधा– सुकन्या रजस्वला हुँदा बस्ने छिमेकी घरकी एक मानवतावादी सोच भएकी महिला ।
सुधा– सासू र नन्दद्वारा मारिएकी पात्र ।
ललीता – प्रेम विवाह गरेकी, गर्भेणी अवस्थामा रहेकी, सासूले नस्वीकारेकी तर समाजद्वारा न्याय पाएकी पछि सासू र लोग्नेद्वारा मारिएकी पात्र ।
राधा – अङक चारमा देखिएकी एम्एसम्मको अध्ययन गरेकी अन्धविश्वासमा चुर्लुम्म डुबेकी, छोरो वेहोस भएर लडेकोमा ज्योतिषीकोमा हेराउँदा बच्चामा जोडिगएकै घरकी महिलाको छेद पसेको भन्ने जानकारी प्राप्त भए पछि रञ्जतीलाई बोक्सी ठानी मारेर जलाएर फालेकी र जेल चलान गरिएकी महिला ।
नन्दकला– विधवा भएर पनि घरका सन्ततिलाई शिक्षित पारेर जागीर खुबाउन सफल, स्वय म साक्षार, हकी, समाज सेवामा सम्लग्न हुने बानी, अन्याय परेकालाई न्याय दिने काम, गर्न सक्ने दक्ष महिला पात्र ।
गोदावरी – सुभाषकी पत्नी, काठमाण्डौमा बसोबास गर्नु पर्ने धारणा बोकेकी महिला ।
निशा – निशाले छोरी जन्माएको कारणले अर्कि श्रीमती ल्याउन मारिएकी महिला ।
गौथली –निशालाई मार्न लगाएर निशाका श्रीमानसँग विवह गरेकी महिला ।
चमेली – छोरा छोरीमा भेदभाव राख्न हुँदैन समान हुन् भन्ने धारणा राख्ने महिला ।
रिङ्की शर्मा– एउटा शिक्षित स्वास्थ कर्मी महिला जस्का एक छोरा तीन छोरीकी आमा, पतिलाई सुख भोग दिँदा दिँदै पनि पतिले अर्की श्रीमती भित्र्याएर दुःख सहन वाध्य भएकी महिला ।
सुन्तली – दश कक्षासम्म अध्ययन गरेकी युवती, जस्को विवाह पल्टन्का सेनासित भएको, पति पल्टन्मा गोली लागेर मरेको, पति मरेपछि घरकाले टोकाही भनेर घरमा धेरै दुःख पाएकी र सानीमाको घरमा बस्दै आएकी, सानीमाले एउटा सानो दोकान सुन्तलीको लागि सञ्चालन गरिदिएकी, त्यसैमा रिङ्की शर्माका श्रीमान यादब शर्माले खाना नास्ता खाने, रिङ्की शर्मा सुत्केरी हुँदा मरेकोले एउटी विवाह गर्नु पर्ने धारणा राखेपछि सुन्तलीले यादब शर्मासँग विवाह गरेकी र घरमा प्रवेश गर्दा सौता जीवितै पाइएकी, समाजबाट पनि यथार्थता नबुझी सुन्तलीलाई घर प्रवेशमा रोक लगाए पनि यथार्थ घटनाक्रमलाई प्रष्ट्याए पछि बनी गुरुङ्को स्पष्ट धारणा पछि सुन्तलीले गृह्यप्रवेश पाएको यथार्थता । लाहुर्नी मैयाँ, नमुना कार्की, बानी गुरुङ, बिन्दु दवाडी सुन्तलीको गृह्य प्रवेशको छलफलमा सहभागी पात्रहुन् । बानीको तटस्थ रही न्याय दिने बानी, बिन्दुले पनि बानीले सत्यतथ्य बिचार प्रकट गरेको भन्दै सुन्तलीलाई साथ दिएकी पात्रहरू ।
लालुकी श्रीमती – लालुले सुकन्यालाई बलत्कार गरेपछि, सुकन्याको घरमा जान त छाड्यो तर आफ्नी पत्नीलाई भित्र्याउने कुरा सुनाए पछि लालुकी श्रीमतीले कचहरी जोडेर सुकन्यालाई तथानाम गाली गर्ने पात्र ।
सुस्मिता –सुकन्या र सुजीततिरकी छोरी यस उपन्यासकी एक सशक्त पात्र, महिला हिंसालाई कसरी अन्त्य गर्ने तथा न्यून पार्ने भन्ने धारणामा लागेकी महिला । सुस्मिताले आमाको न्यानो काख प्राप्त गर्न सकिन । बाबुको मायाममतामा सुस्मिता हुर्किन् र पढिन् । स्कुलमा गुरुहरूले सुस्मितालाई हिलोको कमल हो भनेर प्रशंसा गर्दर्थे, पढाइमा ट्यालेन्ट, अत्यान्तै भावुक, रूपवती, साहित्यमा रुची, अतिरिक्त कार्यक्रममा सहभागी हुने सबै क्षेत्रमा प्रथम स्थान प्राप्त गर्ने, सौतेनी आमाको दवावलाई सहजै पचाएर आफ्नो लक्षलाई हाँसिल गर्न प्रयत्नरत रहने, दाजु आनन्दसँग कहिले काहीँ आफ्नी आमा सुुकन्याको बारेमा मनन् चिन्तनका राधारणा राख्ने, माहिंला हिंसा भनेको महिलालाई मार्नु मात्र नभएर महिलालाई अपमान गर्नु, अपशब्दको प्रयोग गर्नु, सामाजिक बहिष्कार, कुटपिट, बलत्कार हत्या आदिभन्ने परिभाषालाई अध्ययन गरेकी, आमा बलात्कृत भएको जानकारी प्राप्त गरेकी, लोग्नेले स्वास्नी घरमा छँदा छँदै अर्की स्वास्नी लिएर बस्न पाउने तर महिलाका छोराछोरी भए पनि घरबाट निकाल्नु पर्नेजस्ता कानून बनाउनेलाई बहिष्कार गर्नु पर्ने धारणा राख्ने स्कुलले अध्ययन भ्रमणमा लाँदा नौतुनवाबाट अपहरणमा परि बम्बै पुर्याइएकी, ५०१ कोठीमा राखिएकी र भारतीय उदास सिंहले कोठीबाट उद्धार गरी सुनौलीसम्म आउने व्यवस्था मिलाएर माइती नेपाल मार्फत काठमाण्डौ गइ घरमा फिर्ता आएकी, सामाजिक तिरष्कार सहेकी, नारी एक विकास अनेक संस्थाको अवधारण बोकेकी, नारी उत्थान मेरो अभियान जस्ता भावनाले ओतप्रोत भएको भोलानाथसँग विवाह गरेकी देशमा सशक्त नारी उत्थान हुनु पर्छ भन्दै अग्रसरता देखाएकी, नारी उत्थानको लागि श्रीमानवाट सहयोग लिन सक्षम बहिनी आन्दोलनलाई अग्रसर बनाएर राष्ट्रिय स्तरको संस्था खोली सो संस्थाको सल्लाहकारमा आसिन एक सशक्त र सकृय पात्र ।
बबिना सुस्मिताकी साथै, सुस्मिताको घर र आमको बारेमा जानकारी खोतल्न चाहेकी पात्र ।
नाम नखुलेकी आले मगर्नी केटी एउटा बाहुन केटासँग प्रेममा फसेर गर्भवती भएपछि आफ्नै प्रेमीद्वारा मारिएकी ।
सङ्गीता – भरतपुरकी एउटी समाजसेवी, महिला कार्यकर्ता, गाउँमा देखिएका घटेका महिला हिंसा सम्बन्धमा न्याय दिने काममा तल्लिन रहने पात्र जस्ले महिला हकहितको लागि विमला अर्यालसँग मिलेर महिल ामुक्ति नामको संस्था खोलेर आफू अध्यक्ष र विमला अर्याल सचिवमा छानिएका, बोक्सी हुँदैनन् भन्ने अभियान चलाएका पात्र जो सिन्के चौधरीकी आमा ६५ वर्षीय बूढीलाई तीन चार जना महिला मिलेर बोक्सीको आरोपमा मारेको केशमा न्याय दिलाउन सहभागी पात्र ।
शर्मिला सङ्गीताकी छोरी खास भूमिका छैन केवल आनन्दसँग आमाको जानकारी दिने काम ।
कालिका होटेल नेपालगञ्जकी सुन्दर महिला– आनन्दले राती बास बस्न पाइन्छभन्दा जे कुरा पनि पाइन्छ, चिन्ता नगरे निको भन्ने पात्र, जहाँ आनन्दले खाना खाने गर्थे ।
मुन्नी नाम गरेकी देउलेक बझाङकी केटी – रजस्वला हुँदा तारके खोलाको किनारमा एउटा कटेरोमा राखिएकी र राती एकल समय पारी पाँच जना केटाले बलत्कार गरी मारेर छाडिएकी पात्र ।
महिला समूहहरू – बझाङका महिला हिंसा बन्द गर भन्ने नारा लगाइ औपचारिकता निभाएका पात्रहरू । यी समूहका महिलाहरूले विविध किसिमका नारा जुलुस गरे पनि रजस्वला भनेको के हो ? यस अवस्थामा महिलाको शारिरिक अवस्था कस्तो हुन्छ, महिला किन अलग बस्नु पर्छ भन्ने आवाज उठाएनन् । बरु महिला अधिकार मञ्चकी अध्यक्ष शारदा शर्माले घटनाको कुरमा बुझाउँदै भनिन् – ‘ हामु ठिक हुन पथ्यो मुइले मुन्नी नै निकी आछिन भन्या सुन्या हुँ’ । जि. शि. अ.की श्रीमती धना बस्नेतले महिला आफै ठिक हुनुपर्ने, केटालाई सबै छुट भएका कुरा राख्दा धना बस्नेतकी छोरी कविता बस्नेतले शिक्षित भएर पनि यस्तो कुरा बोल्न मिल्दैन, एउटी महिलाले अर्की महिलालाई दवाउन पाइदैन, पुरुषलाई यसरी छुट दिएको छ जस्ता अवैज्ञानिक व्यवहारिक, वेप्रमाणित, तुकै नभएका कुराका पछि लाग्नुहुन्छ भने महिलाको उत्थान कसरी हुन्छ, महिलालाई त्यसै अर्घेलो देख्न हुँदैन भन्ने धारणा राखिन । कविता बस्नेत जय पृथ्वीबहादुर सिंह कलेजमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत छात्र । छात्रा सशक्तिकरण मञ्च भोपुरकी अध्यक्ष कविता बस्नेत ।
खगीसरा पाण्डे – एउटी कर्तव्य निष्ठ महिला आमा बाबुलाई हेर्न पर्ने भएकोले लोग्नेले मन नपराउने, तब पनि पतिले चाहेको चाहनामा कत्ति पनि कमी हुन नदिने महिला, जस्लाई उसका लोग्नेले रजस्वला हुँदा पनि सम्भोगको शिकार बनायो । लोग्ने आफ्नै कार्यालयकी मुखिया केटीलाई प्रेम गरेर भित्र्याउने प्रयास गर्दा श्रीमतीलाई मार अनि मात्र विवाह गर्दर्छु भनेपछि खगीसरा आफ्नै पतिबाट मारेर त्रिशुली नदीमा बोरामा हालेर फालेको अवस्थामा प्राप्त महिला हिंसामा परेकी पात्र ।
कुस्माकी आनन्दकी फुफू (रुकमाया)–भतिजी सुस्मिता हराएकोमा चासो राखेर बाराका दुई महिला खसौलीमा होटेल गरेर बस्ने केटीहरूलाई फकाएर तथा छकाएर दुईलाखमा बेचे अरे भन्ने जानकारी प्राप्त गरेकी पात्र ।
निशा र बादल –बाराका महिला खसौलीमा होटेल गरेर बसेका जो केटीहरूलाई फसाएर बम्बै पुफ्याउने काममा सम्लग्न रहेका जस्ले सुस्मितालाई गायब गरेर बेचेका भनी शंका गरिएका पात्र ।
शर्मीला –२५ वर्षकै उमेरमा विधवा भएकी, स्टाफ नर्सको काम गर्ने, महिला, जस्लाई लामाचौर गाविसका अध्यक्षले नातो लगाएर घरमा फुफूले बोलाएकी छ भनेर बोलाई बलत्कार गर्न खोजे पनि बलत्कार हुनबाट जोगिएकी पात्र ।
आन्दोलन –आन्दोलन यस उपन्यासकी सशक्त पात्र हुन् । सुकन्या लालुबाट बलत्कारमा पर्दा रहन गएको गर्भबाट जन्म भएकी थिइन् । यी पढाईमा तीब्र छात्रा समाजशास्त्रमा एमए पास गरी गाउँकै ‘शिक्षा सागर माध्यमिक विद्यालयमा पढाउने काम गरेकी । घरगाउँमा राम्रो काम गरेर उदाहरण भएर देखाएकी थिइन् । रूपमा राम्री, स्वभावमा अनुकरणीय, यौवनताले छाएको, विवाहपश्चात आमालाई को हेर्ला भन्ने भावनाले सताएको, समाजको परिपाटीमा दिक्क लागेको, अविवाहितै रहेर पनि आमाको कालगति भेट्ने मन पलाएको, छोरा र छोरीमा के नै फरक छ र यदि छोरा र छोरीमा फरक भए नारीलाई किन आधा आकाश भनिएको, छोरा समान काम गरेर महिला पनि आधा आकाश बन्नै पर्छ भन्ने मनमा अठोट पलाएको एउटा नारी पात्र हुन् । आमा सुकन्याले स्वस्थानी ब्रतमा बस्दा स्वस्थानी ब्रतकथा पढेर श्रवण गराउँदा ब्रत गर्ने विधिको ज्ञान भएको र एक सय आठका दरले प्रसादी तयार पारी सयका दरले आफूले ग्रहण गर्ने आठका दरले सबै प्रसादी आफ्नो श्रीमानलाई दिने श्रीमान नभए छोरालाई दिने छोरा नभए मित छोरालाई दिने मित छोरा पनि नभए नदीमा लगेर बगाइ दिने जस्तो धारणा पढ्दा आन्दोलनले धर्ममा छोरा र छोरी बीचमा विभेद भएको ठहर गर्ने पात्र । आन्दोलनले नारी माथि गरिने दमन अत्याचार हिंसामा तल्लिन भएर विश्लेषण गर्ने क्षमता भएकी । नारी माथि यौन शोषण, धार्मिक शोषण, वैवाहिक शोषण, आर्थिक शोषण, सामाजिक शोषण, शैक्षिक शोषण, संस्कारात्मक शोषण, बौद्धिक शोषण, राजनैतिक शोषण, लैङ्गिक शोषण, जातीय शोाषण आदि शोषण भएका कुराहरू उन्ले मनन् गर्दछिन् । आन्दोलनले यी शोषण मध्ये यस्ता शोषण पनि समावेश गरेकी छन् जो व्यवहारिक रूपमा नै प्रयोग नगरी नहुने हुन्छन् जस्तै डाक्टरले कुनै अङ्गलाई जस्तै बिमारी परीक्षण गर्दा अङ्गप्रत्यङ्ग छुँदालाई समाउँदा समेत महिलाहिंसाका रूपमा लिएकी छन् । दिदी सुस्मितासँग मिलेर आन्दोलनले नारी एक विकास अनेक संस्थामा आवद्ध भएर नारीको उत्थान र नारी मुक्तिकालागिमा समाज सेवामा आफू समर्पित भएर लागेकी नारी पात्र । आन्दोलन उक्त संस्थामा धौलागिरीकी अध्यक्षको रूपमा काममा गर्न निर्वाचित नारी । धौलागिरी अञ्चलकी अध्यक्ष भैसकेपछि आन्दोलन शर्माले सबै दिदी बहिनीलाई सम्बोधन गर्दै महिलाहरूले स्वास्थको ख्याल गर्नु पर्ने, सञ्चालन गथरिएको महायज्ञमा सबै जुटेर निरन्तर लाग्नु पर्ने, भोक भोकै बसेर ब्रत बस्न नहुने र खाना बनाएर सबैलाई खुबाएर बाँकी नरहे, भोकै बसिन्छ, छोरीबाट नभएर छोरो पाउन पर्खिन्छौं, श्रीमाानलाई देवता सम्झेर खुट्टा पखालेर खान र अन्य सेवा गर्न पाए रमाउने आदि कामबाट छुटकारा नपाउनुको मुख्य कारण धर्म, संस्कृति, कर्तव्य बोधको साङ्लोको कारणले हो । साहस गुमाउन नहुने, भेदभाव गर्न नहुने, विश्वमा चलेको नारीवादी आन्दोलनले विश्वमा सामाजिक आर्थिक, राजनीतिक आदि हरेक क्षेत्रमा महिलाहरूको अधिकार पुरुष सरहनै हुनुपर्छ भन्ने छ । घरेलु, श्रमको मूल्यको माग, मातृत्वको अधिकार, यौनका कुरा, पितृसत्तात्मक संरचनालाई भत्काउने, पुरुषलाई नारीकरण गर्ने, परिवार भित्रैबाट, महिला र पुरुष बीचको मैत्रीपूर्ण वातावरणको निर्माण गरी, सताब्दीऔंदेखिको शोषण, दमन, उत्पीडन र विभेदको अन्त्य गर्ने, धारणा आन्दोलनले सबैका सामु राखिन् । आन्दोलन नारी मुक्तिको लागि समर्पित माहिला । यिन्को भूमिका आनन्दको विवाहमा पनि सक्रिय देखिन्छ भने छिट्टै हुन गै रहेको सभालाई २२ बुँदे एजेण्डा तयार पार्ने काममा सरिक तथा सक्रिय पात्रको रूपमा प्रस्तुत भएकी देखिन्छिन् आन्दोलन ।
रमा भुसाल– ‘नारी एक विकास अनेक संस्थाको सभामा सहभागी पर्वतकी महिला, उक्त सभामा यिनले, घरेलु हिंसाको अन्त्य, बालअधिकारको स्थापना, बाल विवाह र अनमेल विवाहको बहिस्कार, महिला र पुरुष बीचको असमान व्यवहारको अन्त्य हुनु पर्ने, छोरा र छोरी बीचको भेदलाई तोड्नु पर्ने, पुरुषले बहुविवाह गर्न छुट भए सो अधिकार महिलाले पनि पाउुपर्ने, कानूनको माग, छोरा होस् या छोरी दुईभन्दा बढ्ता जन्माउनेलाई १ वर्षको कैद, घरधन्दामा महिला सरह नै पुरुषले गर्न पर्ने, महिलाले पनि पुरुष सरह नै सम्पत्तिमा अधिकार पाउनु पर्ने, महिलाहरू स्वइच्छ्यामा चल्न पाउनु पर्ने, खराब आचरण र अनैतिक व्यवहार गरेमा कडा सजाएँ दिनुपर्ने, बालबच्चाको रेख देखमा आमा सरह बाबुले पनि गर्न पर्ने कानूनको निर्माण गनु पर्ने र यी सबै काम सुसम्पन्न हुन सके महिलाका समस्याका साङ्ला चुडिन सक्ने धारणा राख्ने पात्र ।
कास्कीकी बालिका रेग्मी – ‘नारी एक विकास अनेक’ संस्थाको सभामा सहभागी पात्र । यिनले महिला एक जुट भएर अघिबढ्न पर्ने, एक ठाउँको आवाज अर्को ठाउँबाट पनि पच्छ्याउनु पर्ने, यी कामको सफल पार्न पुरुषको पनि आवश्यक पर्ने, शताब्दीऔंदेखिको कुसंस्कार र कुरीतिलाई तोड्नु पर्ने, महिलाहरू कुसंस्कार तोड्न तयार हुनु पर्ने, स्वेदेशमै महिलालाई रोजगारीदिने र विदेश पठाउने कानून हटाउनु पर्ने, बोक्सीको आरोप लगाने महिला/पुरुष जो भए पनि कडाभन्दा कडा कानून बनाएर कार्वाही गर्ने, भु्रणहत्या गर्ने गराउनेलाई ६ महिनासम्मको कैद हुनुपर्ने, बलत्कार। गर्नेलाई मृत्युदण्ड दिनुपर्ने जस्ता धारणा पस्किने पात्र ।
रौतहटकी नन्दिकला तामाङ् – यी पनि सभामा सहभागी महिला हुन् । यिन्ले पनि गरिब असहाय महिला पुरुषलाई बोक्सीको आरोप लगाउने, दिसापिसाब खुवाउने, सिस्नु पानी लगाउने, आँखा पुटाउने, सके मार्ने सौतालाई दुख दिने कुरा, यी विविध खाले समस्यालाई समाधाना गर्नु आवश्यक हुन्छ नत्र सङ्गठन खोल्नु के औचित्य भन्ने धारणा राख्ने पात्र । रुपन्देहीकी पार्वती देउजा– यी पनि सभामा सहभागी महिला हुन् । यिन्को मन्तव्यमा पतिले खुट्टाको जल नखानेभन्दा भन्दै पनि पतिलाई परमेश्वरको संज्ञा दिदै खुट्टाको जल खाने, पतिलाई काममा लगाउन हुन्न भन्ने नारीको धारणा, कपडामा फुस्लिने पतिले दिएको कपडा र आभूषणबाट किनिएको पत्तो नै नपाउने, छोरी छोरी जन्म हुँदै गएमा पतिलाई नै दोस्रो विवाहको लागि पेरित गर्ने बानी, जस्ता सोचमा महिला लाग्दासम्म महिला बाँधिएका अन्याय र अत्याचारका साङ्ला तोडिने छैनन् भन्ने धारणा पस्किने महिला पात्र ।
धनाढ्यकी छोरी– प्रेम गरेकी तर प्रेमीसँग बाबुको कारणले गर्दा विवाह गर्न नपाएर पंखामा सलको पासो लगाएर बाबुको कारणले आत्महत्या गरेको सो केो जिम्मा बाबुले लिनुपर्ने भन्ने कागज समेत लेखेर आत्म हत्य गरेकी पात्र ।
जानुका नेपाली र पूर्णिमा घर्ती –भेरी अञ्चल अस्पतालमा रगतको कमीले गर्दा सुत्केरी हुन नसकी मरेका असाहाय पात्रहरू ।
सुमित्रा कोइराला– पोखराका कोइराला खानदानकी कन्या, धरान अस्पतालकी प्रसुती विशेषज्ञ डाक्टर, आनन्दसँग विवाह गर्ने, दुलही ।
सानी आमा–सुजीतकी दोस्री श्रीमती, आनन्द र सुस्मिताकी सौतेनी आमा, आनन्दको विवाहमा सहभागी पात्र ।
नरेकी श्रीमती – गुण्डा लगाएर आफ्नै श्रीमानलाई मारेकी महिला भनी संकाको घेरामा रहेकी पात्र ।
सङ्क्षेपमा भन्नुपर्दा आधा आकाश देशव्यापीरूपमा महिलाहिंसा व्यापक छ र महिलाहिंसाबाट महिलाले मुक्ति पाउनु पर्छ साथै महिला र पुरुष बीच कुनै विभेद हुनुहुँदैन भन्ने सन्देश बोकेको उपन्यास हो । यस उपन्यासमा महिलाहिंसामा कतिपयकारण त महिलाको अज्ञानता, अशिक्षा तथा आफ्नै लापर्बाहीले घट्छ भन्ने जानकारी पनि पाइन्छ । महिलाको उत्थानको लागि महिला नै जुट्नु पर्ने, प्रयत्नरत हुनु पर्ने, खुट्टा तान्ने प्रबृतिलाई तोड्नु पर्ने, हुँदै गएका परिवर्तनलाई आत्मसात गर्नुपर्ने, कुसंस्कार कुरीतिलाई तोड्न पर्ने, महिलाका नाममा संगठित संघसंस्थाले पनि राम्रो काम गर्नु पर्ने जस्ता गहन मुद्दालाई समेट्ने प्रयास गरेको छ । बलत्कारको घटनाक्रमलाई केलाउँदा सज्जन युवतीदेखि लिएर पागल महिलासमेत बलत्कारमा मुछिएकालाई यस उपन्यासले समेटेको देखिन्छ । कार्यालयका हाकिमदेखि लिएर कार्यालयमा कार्यारत महिला कर्मचारी समेत यौन आनन्दको लागि लागिपरेको र हत्या हिंसामा सहभागी भएको पाइन्छ । यस उपन्यासमा, सहभागी सुस्मिता, आन्दोलन, कविता बस्नेत महिलापात्रहरूको साथै पुरुषपात्र पनि बासुदेव, मुखिया बा, भोलानाथ, आनन्द जस्ता महिलाप्रति शुभ चिताउने पात्रहरू र महिलालाई मृत्युवरण गर्न बाध्य पार्ने सहभागी महिला तथा पुरुष पात्रको तुलनात्मक विश्लेषण पनि, पाइन्छ । यो उपन्यास संयोगान्त र वियोगान्तको साथै सुखान्त र दुखान्तको सम्मिश्रणको रुपमका पनि खडा भएको देखिन्छ । स्थानीय मातृभाषाको प्रयोगलाई उच्चाई प्रदान गरेको देखिन्छ र पढ्दा आनन्द पनि लाग्दछ ।
अन्त्यमा यो एउटा सामाजिक उपन्यास हो । यस्ले महिलाका देशव्यापीरूपमा घट्ने हिंसाका घटनाक्रमलाई समेट्ने प्रयास गरेको छ जो उपन्यासकारको उदाहरणीय योगदान हो भन्दै, धन्यवाद दिंदै बिदा चाहन्छु ।
धन्यवाद
सदानन्द अभागी
कावासोती नगरपालिका वडा नम्बर ७, शान्तिचोक नवलपरासी ।
मिति २०७२ साल कार्तिक ८ गते ।
