Skip to content

आँककुमारीको विवाह (लघु कथा)


आनन्दमय जीवनको परिकल्पना गरिन्छ भने पति पत्नी बीचको सुमधुर सम्बन्ध नै एक उच्च कोटीको बाटो हो । यो उच्चकोटीको सम्बन्ध कायम गरी सृष्टिलाई निरन्तरता दिनको लागि विवाह पहिला नै केटा र केटीका अबिभावकले ज्योतिषी कहाँ गएर चिना हेराउने काम गर्दछन् ।

चिना देखाउँदा नाडी क्षारष्ट(नाडी) लाग्छ लाग्दैन, अल्पआयुका छन् छैनन्, टोकाहा (पिराहा) छन् छैनन्, सन्तान बृद्धि कस्तो हुन्छ आदिमा केन्द्रित भएर ज्योतिषीकोमा प्रश्नहरू राख्ने चलन छ । नाडी क्षारष्ट पर्न गएमा त्यस्ता वर वधूको जीवनमा कलह भैरहने भएकोले जीवन तीतो हुनेहुँदा विवाह गर्न हुँदैन भन्ने चलन छ र यस्ता नाडी लाग्ने केटा केटीको विवाह गर्ने चलन छैन । दिशाजुर आदि सबै ज्योतिषीले प्रष्ट्याउने चलन पनि चल्दै आएको छ तापनि आजकल हेराउने चलन हट्दै पनि गएको छ ।

यहाँ धनवीरको विवाहमा नहेराउने प्रकृयाबाट सन्तुकुमारीसँग गरिएको थियो । बच्चा पनि जन्मिए तर सुमधुर सम्बन्धमा खिचातानी बढ्न थाल्यो । धनवीरकी आमा ज्योतिष शास्त्रलाई निकै विश्वास गर्ने महिलामा पर्छिन् । उनी छोरा र बुहारीको सुमधुर सम्बन्ध कायम गराउनको लागि के गर्नु पर्ला भन्दै ज्योतिषीकोमा पुगिन् । ज्योतिषीले ‘तिम्रो छोराको दोस्रो विवाहको योग छ, योग मेटाउनु पर्छ ’ भन्यो ।

उनी साह्रै छटपटीइन् । नछटपटीउन पनि किन, आफै पनि पतिसँग झगडाको रडाको र सौताको कचकच व्यहोरिरहेकी छन् । अब त छोरालाई पनि विवाह गरिदिनु पर्यो भने घरमा भै रहेको झगडाको बीऊ अँझै बढ्दै जाने भयो । अर्कोतिर दोस्रो विवाह कानूनले बर्जित पनि गरेको छ ।

उन्को छटपटीलाई ज्योषिसीले बुझिहाले । ‘नहडबडाउनु होस्, दोस्रो विवाहको योग मेटाउन अरु उपाय पनि छन्, आँकसँग, शिलासँग्, सुनको प्रतिमासँग विवाह गरेर पनि दोस्रो विवाहको योग मेटाउन सकिन्छ । आँकसँग विवाह गर्न तिम्रो छोरालाई जुरेको छ, त्यसैसँग विवाह गरिदिनु होस्’ ।

आज धनवीरको विवाह धुमधामसँग जङ्गलको कुनामा गएर आँकको बोटसँग सम्पूर्ण विविहा विधिलाई अपनाउँदै सुसम्पन्न गरियो । आँकको बोट आँककुमारी भएर चुरा पोते, बलाउज साह्री पहिरेर वनमा नै मौन धारणा गरेर बसेकी छन्, दुलाहा एक्लै घरतिर जन्ति सहति फर्किएर आए ।

कति राम्रो ? न त सौता सौता लड्ने, न त पतिले लालन पालन गर्न पर्ने, न झगा नै गर्न पर्ने, आँककुमारीले आफ्नो मौनताको जीवन आफ्नै पाराले बिताइरहने । धनवीरकी आमा भने आज निकै खुसी छन्, छोराको दोस्रो विवाह आँकसँग गरिदिन पाएर ।

अब सबैले हेर्नु छ –धनवीर र सन्तुमायाको भावी जीवनमा सुमधुरता आउन सक्ला त ?

सदानन्द अभागी
कावासोती नगर पालिका वडा नं ७,
मिति २०७२ साल कर्तिक ९ गते कोजाग्रत पूर्णिमा

1 thought on “आँककुमारीको विवाह (लघु कथा)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *