Skip to content

आत्मग्लानि(कठै पुतली)


निद्रा कहिले आफ्नो कहिले पराईको हुँदो रहेछ रत अस्ति यही आँखामा झपक्क हुने मिठो निद्राको आज अत्तो पत्तो छैन, पुस्तक पढ़म आँखाले साथ दिन छोडेको छ, गीत सुनम अँझ फ्रेस हुन्छु ।

अँध्यारो कोठा चारैतिर सुनसान छ, हातमा एउटा मोबाइल सेट त्योभन्दा बढी अरु केही छैन, यही मोबाइल खोल्यो उज्यालो प्रकाश आफ्नै अनुहार भरि पोखिन्छ । यही उज्यालो देखेर होला सायद कोही मेरो नजिक हुन खोज्दैछ, मलाई दिक्क लाग्छ, आफूसँग नजिकिने हरेक चिजबाट सायद यही बितृष्णाको शिकार यो अबोध “पुतली” हुँदैछे क्यार ।

यताबाट उता । उताबाट यताको चक्करले म क्रोधित हुन्छु र धेरै प्रयासको बावजुद उसलाई आफ्नो मुट्ठीमा कैद गर्न सफल भएको छु, मानौ धेरै ठुलो सफलता पाएर आनन्दको शिखरमा छु अनि पुतलीले संसारकै ठुलो अपराध गरेर मेरो मुट्ठी रुपी कालकोठरीमा कैद छे । अँझ उसको अपराधको सुनुवाई हुनै बाँकी छ, उसलाई मृत्युदण्ड पनि हुन सक्छ कदाचित यस्तै सोच्दी हो तर म भने ढुक्क छु फैसला मेरो हकमा हुने छ किनकि कानून होस वा दण्ड मेरो स्वविवेकले तय गर्ने अधिकार मैले मलाई दिएकि छु ।

झ्वाकलाई थोरै पनि काबु नगरी आफ्नो मुट्ठीको पुतलीलाई ढोकाको अन्धकारतिर बेस्कन मिल्काउछु, सकभर त्यस पुतलीले मृत्युवरण गरोस र मलाई दुख नदेओस यही नै उत्कट इक्छा थियो होला अन्तर-कुन्तरमा ।

एउटा आत्माको आकाशवाणीले एकाएक बोल्न थाल्छ ।

म कति निठुर भैसकेछु?

कति क्रुर र पापी भैसकेछु?

अन्धकारमा रुमलिएको एउटा तुच्छ पुतली जो मेरो मोबाइलको उज्यालोबाट आफ्नो गन्तव्य पहिल्याउन चाहन्थी होला र त मेरो नजिक आई, मेरो अनुहार वरिपरि कयौं फन्को मारी र आफ्नै भाषामा सहयोगको याचना गरी होला तर मैले थोरै बुझ्ने चेस्टासम्म गरिन, मात्र आफ्नो बारे सोच्दै उसलाई फगत एउटा किरा बाहेक केही सोचिन छु । ऊ मेरो नजरमा एउटा किरा भइ, तर के उसको आफ्नै संसार छैन होला? उसको लार्भा, प्युपा छैन होला?
अहो! म कति कठोर भएछु ।

म कसरी संसारको सर्वश्रेष्ठ प्राणी मान्छे हुँ ?

हुनै सक्दिन म वास्तविक मान्छे ।

म मान्छेको भेषमा क्रुर हिंस्रक जन्तु हुँ, जो आफूलाई बाहेक कसैलाई सोच्न सक्दैन । म कसरी आफूलाई मान्छेको दर्जामा उभ्याउ?

दुनियाले मलाई खोक्रो रुप देखेर नमस्कार गर्छन तर यथार्थ म कसरी भुलौ? मैले यत्रो अन्याय र पाप गरेको कुरा ।कसरी आफ्नो आत्मालाई छ्लूं?

अहो!

यस्तो खोक्रो मानवीयता लिएर म बाँच्न कदापि सक्दिन ।

कठ्यांग्रिने चिसोमा आफू बोइलर चलाएर न्यानो भएर बिस्तारामा पल्टिएको छु, कठै पुतली । झ्स्यांग हुन्छु बिस्ताराबाट जुरुक्क उठेर, म अँध्यारो ढोकातिर हुत्तिन्छु र बत्तीको स्विच अन गर्छु, कोठा प्रकाशमय उज्यालो झकिझकाउ हुन्छ तर मेरो निम्ति अँझै अँध्यारै प्रतित भएको छ । किन कि यति बेलासम्म मैले मिल्काएको त्यो अबोध पुतली भेट्न सकेकी छैन । धुइपताल खोजें, ।

अहँ ! कतै भेटिन ।

यो उज्यालो कोठा बास्तबमा मेरो लागि यति बेला अन्धकार भएको छ, कोठा मात्र होइन म भित्र भित्रसम्म अन्धकार भएको छ ।

कल्पना राई
दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *