Skip to content

सधैँ झैं दुखाएर आयो तिहार


सधैँ झैं दुखाएर आयो तिहार
प्रवासी रुवाएर आयो तिहार

न बहिनी दिदी छन् न ता दाजुभाइ
हितैषी छुटाएर आयो तिहार

कथा भैसके सेल,रोटी,अनर्सा
मिठासै हराएर आयो तिहार

भए स्वप्न टीका,मसाला र माला
नियाँस्रो लगाएर आयो तिहार

कतै दीप माला बलेनन् खुसीले
अँध्यारो बनाएर आयो तिहार

झर्यो आँसु सम्झेर द्यौसी र भैली
अतीतले सताएर आयो तिहार

ठगी भाग्यले आज डाँडा कटायो
मनै यो बिझाएर आयो तिहार

गयो भोक निद्रा हुँदा भित्र पीडा
सिरानी भिजाएर आयो तिहार

सकेसम्म हामी भुलौँ कष्ट सारा
मनाऔं रमाएर आयो तिहार

( भुजङ्गप्रयात छन्द )
कोमल भट्ट
komalpbhatta@yahoo.com
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *