‘सानालाई ऐन, ठूलालाई चैन’—भुक्तभोगीहरूले उखान त्यत्तिकै बनाएका होइनन् । शक्तिशाली र पहुँचवालाहरूले जे गर्दा पनि हुने, निर्धा र दुर्बलहरूले केही गर्दा पनि नहुने । सम्भव र अपेक्षित कार्यहरू केही नहुने,असम्भव र अनपेक्षित कार्यहरू भटाभट हुने । ऐन,कानून,विधान,विधि र प्रकृयाहरू हातीका देखाउने दाँत मात्र भएको कोक्याइलो र निरीह अवस्था । न्याय र समानताका कुराहरू पुस्तकभित्रका अक्षरहरूमा मात्र सीमित । राणाशासन हटाउँने सातसालको हजुरबाको प्रजातन्त्रले केही गरेन । छयालिस सालको बाबुको प्रजातन्त्रले पनि व्यवहारिक परिवर्तन ल्याएन । जनयुद्घपछिको हाम्रो लोकतान्त्रिक गणतन्त्रले पनि अपेक्षाकृत उज्यालो ल्याएन । बोतल मात्र नयाँ,भित्रको रक्सी पुरानै भएर यी ऐतिहासिक मोडहरू आए ।आवरण मात्र फेरियो गुदी फेरिएन । रूपमा मात्र फरक, सारमा उही पुरानै । विधान र कानूनहरू फेरिए, व्यबहार र मानसिकताहरू यथास्थितिवादी भए । विभेद र विकृतिका सिँढीहरू थपिएर कुशासनको भर्याङ अँझ अग्लिँदो भयो । माथि मान्छे हुनेहरूका मात्र दिन आए । माथि आकाश हुनेहरूका दिन कहिल्यै आएनन् । विकृति,विसङ्गति र असङ्गतिका लहराहरू दिन दुगुणा र रात चौगुणा झ्याङ्गिइरहेका छन् । खै ! के फरक भयो र अस्ति र हिँजोमा ?कति अन्तर भोग्नुभो (देख्नुभो होइन) हिँजो र आजमा ?
अतिमा चार थपिएपछि (अतिलाई चारले गुणन) राणशासन ढलेको हो । त्यो ढलेर के भयो,फेरि अर्को जन्मियो । यस्तै भएर पञ्चायतको अवसान भएर बहुदल आएको हो । खै त ! जनयुद्घ जन्माउनु शिवाय अरु के गर्यो त त्यो बहुदलले ? बहुदल अस्ताएर लोकतान्त्रिक गणतन्त्र उदाएको त हिँजै मात्र हो । कस्तो छ त यो आजको घाम ? चिसो कि न्यानो ?असह्य तातो कि ठिकैको तातो ? अनुभूति र दृष्टिकोणहरू आ–आफ्नै हुन्छन् ।मेरो प्रश्नको उत्तर तपाईँसितै छ । छातीमा हात राख्दै ठण्डा मस्तिष्कले सोचेर भनिदिनु होला है !
विकृति हरेक क्षेत्रमा छन्,विसङ्गति हरेक तह र तप्कामा ज्युँकात्युँ छन् । अतिवादले खति निम्त्याउँछ । चेतनाको ढोका बेलैमा खोलेर सोझो र सफा नियतले नियमसङ्गत काम गर्दा कसैको अहित र खति हुँदैन । सन्दर्भ विद्यालय तहको शैक्षिक क्षेत्रको हो । आँखीझ्यालको एउटा प्वालबाट चियाउँदाको सानो परिदृश्य हो यो । हेर्नेहरूले देखिरहेको र भुक्तभोगीहरूले भोगिरहेको मात्र होइन पर्यवेक्षकहरूले अनुभूत गरिरहेकै कुरा हो । धेरथोर जिल्लानुसार मात्रात्मक अन्तर हुनु त अस्वाभाविक भएन । शिक्षा ऐन र नियमावलीले एउटा भन्छ,यहाँ हाम्रो व्यबहारमा अर्कै चल्छ । स्थायी शिक्षकहरू मध्येको योग्यताप्राप्त बरिष्ठ शिक्षक विद्यालयको प्रधानाध्यापक बन्छ—कानूनले यही भन्छ । शिक्षा विभाग र जिशिकाले पनि बेलाबखत पत्राचार गरी निर्देश गर्छन् । तर हुने बेलामा बरिष्ठ स्थायी शिक्षक हुँदाहुँदै कनिष्ठ अस्थायी शिक्षक कुर्सीमा बसिरहन्छ । कुर्सी छाड्दै छाड्दैन । कुन खालको कस्तो लिसो हुन्छ त्यो कुर्सीमा ? एकपटक बसेपछि त्यो मान्छे टाँसिइरहन्छ । आर्थिक घोटाला गर्छ ।मनपरितन्त्रले सीमा नाघ्छ । बाहिर मुर्दावादको नारा लाग्छ, कालो पट्टी बाँध्छ र धर्ना बस्छ । तर ऊ बहिरो छ सुन्दैन,अन्धो छ देख्दैन । मैमत्ता साँढे भएर डुक्रिरहन्छ । सूत्रधार को छ त्यो पर्दापछाडि ? र ऐन,कानूनको यसरी तेजोवध हुन्छ ? बाबुको विर्ता र आमाको दाइजो भएको छ कुर्सी । शिक्षा ऐन, नियमावलीले त पाँच वर्ष भन्ने गर्छ । तर यहाँ कुनै हद, म्याद छैन । उमेरको हदले अनिवार्य अवकाशमा पर्दा समेत भरसक ऊ आफ्नो छोरालाई त्यो कुर्सीमा बसाएर आफू घर जान खोज्छ । सबैलाई एउटै टोकरीमा हालेर हेर्न त मिल्दैन । तर करिव पचास प्रतिसत जति हेडमाष्टरहरूको विशेषता यस्तो हुन्छ । यस्तो जबरजस्ती गरेपछि अनेक आशङ्काको जन्म हुन्छ । त्यहाँ आर्थिक भ्रष्टाचारको अवसर हुनु पर्छ । त्यहाँ आफ्ना मान्छेलाई भर्ति गर्ने मौका हुनु पर्छ । त्यहाँ भौतिक हिनामिनाको खानी हुनु पर्छ । पदीय दुरुपयोगको पराकाष्ठमा त्यहाँ अनेक हालीमुहालीको लाइसेन्स हुनु पर्छ । के त्यही प्र.अ. भत्ता (२००,३०० र ५००) मै त्यति मरिहत्ते गरेको हो त त्यो मान्छेले ?पर्दाभित्र धेरै अमूक कुरा हुन सक्छन् । सम्भावनाको आकाश बेहद फराकिलो हुनु पर्दछ । नत्र किन…….???
धेरैलाई दुखेको अर्को एउटा कुरा छ –शिक्षकको फाइल बढुवा । आफैँले पढाएको विद्यार्थीको बढुवा भैसक्दा पनि पढाउँने गुरूकोचाहिँ बढुवा नभएको कोक्याइलो र असह्य अवस्था पनि जीवन्त छ । २०५७–०५८को अस्थायी शिक्षक २०६३को ५०%मा स्थायी भएर अहिले बढुवा भइसकेको अवस्था यता छ भने उता २०५३–०५४ को अस्थायी शिक्षक २०६०मा स्थायी भएर पनि अँझै बढुवा हुन नपाएर तृतीय श्रेणीमै थन्किन विवश छ । हुन्छ यस्तो आखिर कसरी ?यस्तो विभेदपूर्ण बढुवाले कासमूप्रति शिक्षकको दृष्टिकोण कस्तो हुन्छ ?इमानदार र कर्तव्यनिष्ठ शिक्षकको उत्साह मरेर कहाँ पुग्छ ?विद्यार्थीको सिकाइ उपलव्धीले अनि कसरी गति लिन्छ ?
हरेक शिक्षा दिवसमा प्रदान गरिने राष्ट्रिय शिक्षा पदक (पुरस्कार) कस्ता शिक्षकलाई प्रदान गरिने हो ? कर्तव्यनिष्ठ र लगनशील भएर कक्षाकोठामा राम्रो सिकाउँने शिक्षकलाई कि पेसागत संघ,संगठनका नेता शिक्षकलाई ? विगत ४–५ वर्षको आँकडा केलाउँदा शिक्षकका पेसागत संघ,संगठनका प्रमुख र मुनिका नेता शिक्षकलाई परिपञ्च हुनेगरी आलोपालोमा शिक्षा पदक प्रदान गरिएको पाइन्छ । गाउँमा बसेर अब्बल शिक्षण गर्ने इमानदार शिक्षकहरू हेरेका हेर्यै भएका छन् । पढाउँनु नै आफ्नो कर्म र धर्म ठान्ने यस्ता सोझा खाँटी शिक्षकहरू सामान्य मतदाता हुन् र राजनीतिमा उत्ति चासो राख्दैनन् । जहिल्यै पेसागत संघ, संगठनका नेता शिक्षकहरू यसरी सम्मानित र पुरस्कृत हुनुले आशङ्का उब्जेको छ–नेता शिक्षकले मात्र पाउँने भन्ने कानूनी प्रावधान नै पो छ कि कतै ?नत्र त यति साह्रो एकोहोरो नेता शिक्षकको लर्को मात्र देखिनु नपर्ने हो ।
करारको अस्थायी शिक्षक छनौटको बेथिति पनि निर्मूल हुन सकेको देखिदैन । एउटै विशेषज्ञलाई पटकपटक छनौटमा राखिनु, नेता शिक्षक अघि सर्नु र मा.वि.÷निमाविको हकमा विषयगत विशेषज्ञ नहुनु जस्ता कारणहरूले गर्दा करार शिक्षक छनौट विशुद्घ हुन नसकेको आभास हुन जान्छ । मा.वि.तृतीय श्रेणीका शिक्षकहरू विषय विशेषज्ञमा बसेर निर्धक्क उमावि शिक्षक(अनुदान र दरबन्दी कोटा)छनौट गरिरहेको अवस्था छ । सेवा,सुविधा र स्तरकै कुरा गर्दा एक तह(श्रेणी) मुनिको शिक्षकले एक तह (श्रेणी)माथिको शिक्षक छनौट गर्न मिल्ने कि नमिल्ने? उमावि शिक्षक व्यबस्थापन निर्देशिकाले के भन्छ ?सम्बन्धित विषयमा स्नातकोत्तर गरी क्याम्पसको उपप्राध्यापक अथवा मा.वि. द्घितीय श्रेणी (कम्तीमा)विषय विशेषज्ञमा राख्दा अलिक सुहाउँथ्यो कि भन्ने मेरो व्यक्तिगत धारणा मात्र हो । जिशिका कर्मचारी, स्रोतव्यक्ति र प्र.अ.हरू कुन हदसम्म आफन्तहरूलाई जागिर खुवाउँने भर्तिकेन्द्र स्कुललाई बनाउँन सफल भएका छन् ? अर्को जिल्लाबाट आएका कर्मचारीले आफू कार्यरत जिल्लामा आफ्ना परिवारका सदस्य,नातागोता,गाउँले,क्याम्पसका सहपाठी साथीहरू कति जनालाई हुल्न सफल भएका छन् ? हिसाब गरेर निकाल्न सकिन्छ । अस्थायी वा करार शिक्षक छनौटको अपारदर्शिता र विकृतिलाई यो हिसाब–किताबले पनि पुष्टि गरी हाल्छ ।
धेरै विकृति,विसङ्गतिहरू राजनीतिक आडमा पनि झ्याङ्गिइरहेका छन्, मौलाइरहेका छन् । नेताका जोरजुलुम,हस्तक्षेप र फोनाताङ्कले पनि ऐन,कानून र पद्घतिको हत्या भएको छ । अस्थिर तरल राजनीतिले पनि नकारात्मक मलजल गरिरहेको अवस्था छ । सिष्टममा चल्ने कहिलेदेखि हाम्रो व्यबहार ?सत्य तीतो हुन्छ । मुट्ठीभर केही मान्छेहरू(२% जति)लाई यस्ता सत्य कुरा अपाच्य हुन्छन् । कोही रिसले आगो भएर लेखकीय सत्तामाथि नै धावा बोल्छन् भने कोही निहुरमुन्टी ‘न’ हुन्छन्, भएका छन् । आजको गणतान्त्रिक जमानामा रिसाउँनु र धावा बोल्नु मुर्खता हो, लघुताभास हो । नराम्रोलाई राम्रो बनाउँ र बिग्रेकोलाई सपारूँ,सच्याउँ र सुधार गरूँ भन्ने लेखकीय आग्रह हो । रिसानी माफ गर्दै ‘म–म’ भाकामा असल र नियमसङ्गत काम गर्ने प्रण गरिदिनहुन सरोकार पक्ष सबैलाई मेरो बिन्ती बिसाइ मात्र हो । अरु बाँकी, हजुरहरूकै तजबिज !!!
रामविक्रम थापा
स्रोतव्यक्ति, लामीडाँडा स्रोतकेन्द्र,खोटाङ

thanks rabitha & kumar sir
Good article…