Skip to content


एलिना नउठ्दै रोजनले चिया बनाएर पियो र नलिनाका लागि चिया थर्मसमा हालेर विछ्यौनासँगैको टेबलमा राखिदियो । त्योभन्दा अगाडि उसले दालतरकारी पकाइसकेको थियो । भात पकाउनका लागि भने चामल भिजाएर ठिक्क पारेर राख्यो । चिया पिउदापिउदै लुगा फेरेर घाँटीमा टाई झुण्ड्याइसकेपछि रोजन डेराबाट निस्क्यिो । छ बजे त कक्षामा पसिसक्नुपर्ने हुनाले ऊ हिँडेरै कलेजमा पुग्यो । कलेज जानका लागि माइक्रोबस वा टेम्पो कुरिरहनुभन्दा हिडेरै निश्चित समयमा कलेज पुगिने भएकोले उसले कहिल्यै पनि माइक्रो वा टेम्पो कुर्दैन थियो । हाजिरी गरेर कक्षामा पुग्दा विद्यार्थी टनाटन रहेछन् । एकपछि अर्कोगर्दै उसले दुईवटा कक्षा सिध्याएर ऊ खाना खान फेरि डेरातिर दौडियो । किनभने यसपछि उसलाई सहकारीको दशपाँचको ड्युटी पनि गर्नु थियो ।

‘एलिना, खाना पकायौ ? ल छिटो पस्क ल । म लुगा फेरिहाल्छु ।’—कोठामा पस्दापस्दै पल्लो कोठाकी क्रिस्टिनासँग बात मारिरहेकी एलिनालाई हेर्दै रोजनले भन्यो । रोजनले बाथरुमबाट लुगा फेरेर निस्किँदा क्रिस्टिना गइसकेकी थिइन्भने एलिना चाहिं लुगा ओडेर सुतिरहेकी थिइन् ।

‘एलिना, खै त खाना पस्केको ? मलाई अफिस जान हतार हुन्छ । पाच मिनेट ढिलो हुनेवित्तिकै सहकारीको मालिकको भाषण सुन्नुपर्छ । ’—रोजनको कुरालाई सुनेको नसुनेझैँ गरेपछि रोजनले एलिनालाई झक्झकायो ।

‘नछो मलाई, साले ।’—एलिनाले जंगिएर रोजनलाई जोडले धक्का दिइन् । रोजन भित्तामा ठोक्किन पुग्यो ।— साले, बिहे अघि त एलिना तिम्रो लागि यो गर्छु भन्थिस, त्यो गर्छु भन्थिस् । यै हो मेरो लागि आकाशको तारा टिपेर ल्याको ? आफूलाई मोडलिङको अफर आयो गरिन । चलचित्रको अफर आयो गरिन, तेरै लागि । तर अब तेरो बीस पच्चीस हजारको जागीरको कमाईमा अल्झेर म आफ्ना रहर मार्दिन । डेराको बसाईमा म सड्न चाहन्न । किनकि जीवनमा मलाई कार चाइन्छ, बंगला चाइन्छ, पैसा चाइन्छ । तेसका लागिम म जे पनि गर्न तयार छु ।’

एलिना, यो के भनेकी तिमीले ?’—रोजन चिच्यायो ।

धेरै नभुक र मेरो कुरा सुन । क्रिस्टिनासँग आज म फाइभ स्टार होटल जादैछु । एक रातमै पचास हजार कमाइने रैछ ।देशी विदेशी जोसु होस् मलाई के फरक पर्छ र ? मलाई त पैसा चाइया छ ।’

‘ चुप लाग एलिना ।’—रोजनको चिच्याहटलाई एलिनाले अलिकति पनि वास्ता गरिनन् बरु उनी विषालु खित्का छाड्दै क्रिस्टिनाको कोठातिर लागिन् ।

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
तरहरा (सुन्सरी),
हालः एकताबस्ती, बुढानिलकण्ठ न.पा.

मझेरीमा प्रथम पटक प्रकाशित – 2015-11-22 15:01:56 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *