आमाको महिमा


राखी गर्भमहाँ धरेर महिना नौ सम्म सन्तानको
आफै कष्ट सहेर तिनले दिन्छिन् अरे जन्म यो
जन्मै हुन्छ जहाँ सताउँछ झनै रोएर कष्टै दिंदो
माया बालकमा गरेर ममता झल्काउँछिन् चाहिँदो ।।

कैले गर्छ दिसा पिसाव छिनमै फोहोर ती सोर्दछिन्
कैले च्याप्दछ ता विमारहरुले काखैमहाँ धर्दछिन्
धारा अमृतको सरी छ दुधको मुन्टो चुसाई तक
प्यारो काखमहाँ दिएर तकिया पाल्छिन् अरे वालक ।।

झर्को छैन कतै दुधे ति कलिला वच्चा भुलाई दिन
हातैले कसरी सिंगान वटुली फाल्छिन् नमानि घिन
खाना ख्वाउनु जहाँ मिठो र मसिनो आफू नखाईकन
नानाको नव त्यो जुगाड गतिलो आफै नलाईकन ।।

खेल्दा चोट भयो वगी खुन गयो खोलेर त्यो पटुकी
वाँध्यौ घाउमहाँ रुँदै धरधरी आँखा बने गण्डकी ।
काम्यो ठण्डि भई भने लगलगी बर्को उतारीलियौ
गर्मीले पसिना लियो तरतरी हम्केर हावा दियौ ।।

वालो चक्चक भैगयो चलिगयो छुच्चोपना देखियो
आमाले लुकाउँछिन् बल गरी गल्ती सबै छेकियो
राम्रो एक कुरा भयो पुगिगयो सारा फुकी पोखियो
जस्तै होस खराव दागहरु ती हीरा भनी जोखियो ।।

हुन्छन् सन्तति दूष्ट कूमति यहाँ आमा कुमाता नभै
पाल्छिन् लाखन भोक खपि जो आमा सुमाता सबै ।।
भोग्छिन् पीडक झैं व्यथा गहकिला आफै गलाईकन
माग्छिन् केवल प्यार मात्र मुटुको टुक्रा बनाईकन ।।

सक्छौ प्यार भयो आदर गरी आमा खुशीले भन
सक्दैनौ गतिलो आदर दिनै मान्छे कुमान्छे किन
फाल्छौ वृद्ध भनी कहाँ सडकमा के धर्म मानौं अव
छाडी शर्म कुकर्ममा रत भयौ मागेर खान्छिन् जव ।

मान्छेले कसरी समाज भरिमा सम्मानले मान्दछन्
आमा बावुमहाँ दिदैंन समता दुष्टै भनी गन्दछन् ।।
तस्मात् गर्नु सदा भलो र गतिलो ठानेर मान्यैजन
भोली सन्ततिले लिएर मनमा के सोच्छ तेस्ता कन ।।

चूडा निर्भीक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *