विवाहमा भत्करु भएर जाँदा ऐतिहासिक कथाहरू थरिथरिका सुनिने गर्दछन् । म सानो छँदा मेरो हजुरबाबाको साथमा अर्को व्यक्तिसमेत गरी दुई जना पानी घडी, ठडेरो तीनवटा दहीका ठेकी लिएर गएको देखेको थिएँ । पानीघडी समयको जानकारी लिन, ठडेरो बत्ती बाल्नको लागि र सानो तीनवटा दहीका ठेकीमा एउटा लगन जुराउने बेलाको लागि अरू(खाने) प्रयोजनको लागि लगिने कुरा बयोबृद्धहरूले बताउँछन् । भत्करुलाई माइती पक्षले विविध पक्षमा अड्का थाप्ने कामहरू गरिन्थ्यो भन्ने बयोबृद्धहरूले बताउँछन् र केही कुराहरू मैले पनि सुने ।
मैले सुनेका कुराहरूका एक दुई उदाहरण पनि यहाँ पस्किन चाहन्छु । भत्करु वरको घरबाट जन्ती जानुभन्दा पहिला एकदुई जना मानिसलाई पठाइने गरिन्थ्यो र आज पनि चलन छ । नेपालजस्तो जातभात छुवाछुतको संवेदनशील भएको समाजमा सर्बमान्य व्यक्ति जसले पकाएको खानालाई सबैले स्वीकार्दछन् तिनलाई नै भत्करु बनाएर पठाइन्थ्यो । भत्करु बरियातको अग्रदूत पनि हो । भत्करु बधूको घरमा पुगेपछिमात्र विवाहको सुनिश्चतता ठानिने गर्दथ्यो र खाना कतिजनालाई पकाउनु पर्ने हो आदि काम जन्तितर्फको खाना पकाउने काम भत्करुले गर्दथ्यो ।
दुलाहाको घरबाट भत्करु भएर जाँदा माथि उल्लेखित सामान लिएर जानु पर्दथ्यो जो आज पनि छँदैछ । यसरी भत्करु भएर जाने मानिसलाई दुलहीको माइती घरमा पर्सने (चामलका अक्षताले पूजा गर्ने तथा छकिर्ने) काम पनि गरिन्थ्यो आज पनि गरिने गर्दछ । पर्सिसकेपछि भत्करुलाई खाना खान बोलाइन्थ्यो । खाना खान जाँदा काठको पिर्कामा बसालेर खाना खुवाउने चलन थियो । भत्करुले नदेखिने गरी पिर्काको तल कोदाको दानाहरू तथा तोरीका दाना राखिने पनि गरिन्थ्यो र भत्करु खानबस्दा पिर्का लर्केर लड्ने पनि हुन्थ्यो भन्ने कुरा पनि मैले सानो छँदा सुनेको थिएँ । खानाका परिकारमा सगुनको रूपमा कसार पनि दिइन्थ्यो । कसारभित्र पैसा राख्ने तथा कडा अखाद्यबस्तु राख्ने चलन थियो रे, कसार खाँदा सावधानी नअपनाएमा दाँत भाँचिन पनि सक्थ्यो रे ।
भत्करु तथा जन्तीलाई नाना किसिमका प्रश्न पनि सोधिने र सोधिएका प्रश्नको उत्तर भत्करुलाई सोधे भत्करुले र जन्तीलाई सोधनी भएमा गएका जन्तीमध्येले दिनु पर्दथ्यो ।
यस सम्बन्धमा आजभन्दा चालिस वर्ष पहिला एउटा होटेलमा चलेको छलफलमा म आफैले सुनेको थिएँ कि – एउटा विवाहमा दुई जना भत्करु दुलहीको घरमा गएछन् । त्यहाँ ती दुवै भत्करुलाई खसी हौ कि बोका भनी सोधिएछ । उनीहरूले हामी भत्करु हु म भन्नको सट्टा विवाह सृष्टि थाम्नको लागि गरिने भएकोले बोका हु म भन्नु राम्रो ठानी बोका हौं भन्ने जवाफ दिएछन् । नतिजा बाख्राको खोरमा पुग्नु परेछ । यस्ता घटनामध्ये जन्तीहरूलाई खाना खान बसाल्दा पनि एउटा अनौठोको प्रश्न राखिने तथा श्लोक राखिने चलन पनि थियो, भनिन्छ ।
विवाह पनि दिनमा नभएर रातमा गरिन्थ्यो । पण्डितले रातभरि लगाएर विविाह पद्धतिलाई सम्पूर्णता दिएर विवाह समाप्त गर्ने चलन थियो । खास गरेर जैसी ब्राह्मणहरूकोमा भातखाने बेलामा धोतीधरो बोकेर जानु पनर्,े कपडा सबै खोलेर धोती धरो पहिरेर खाना खान बसिने, खान बस्दा पनि क भाते र ख भाते जैसीहरू छुट्टिएर बस्नुपर्ने, यसरी बस्दा पनि एकको कुहिनाले अर्काको कुहिनालाई छुन नपाइनेजस्ता कठोर नियमको पालना गरिन्थयो । जातभातमा अलग्याउने काम एउटा हेपाहा प्रबृत्ति हो जस्तो लाग्छ जो आजको समाजमा केही मात्रामा अवशेषको रूपमा छ तापनि यो छुवाछुत घट्दै गएको छ ।
आज समय परिवर्तन भयो । पुराना कठोर नियमलाई शनै शनै छोड्न थालियो । विवाह कर्म दिनमा हुन थाले, मोवाइलबाट जन्ती कति बेला हिडे कहाँ पुगे जानकारी दिइन थालियो । धनी मानिसले पार्टीप्लेसमा विवाह गराउन थाले, कसैले मन्दिरमा लगेर विवाह गराउन थाले । आगन पोलेर छोरी दिन राम्रो भन्ने चलन घटदै गएको छ तापनि भत्करु जाने कर्म भने आज पनि जीवितै छ । जहाँ विवाह गरे पनि भत्करु गएर भात पकाउने चलन पनि घटेको छ । आजकल भत्करु जन्तीसँगै जान्छन् र विवाह स्थलमा पुग्ने वेलामा भने जन्तीभन्दा पहिला दहीको ठेकी बोकेर हाजिर हुन्छन् ।
यस पटकको भत्करुमा म जानेमा खट्टिए । म भने भाग्यशाली भत्करुमा परे किनकि मलाई न त पानी घडी न ठडेरो नै लिएर जान पर्यो न त माथि लेखिएका अप्ठेरो हुने खालका प्रश्न तथा समस्या नै व्यहोर्न पर्यो । विवाह मन्दिरमा गरिएको र खाना पकाउने काम होटेलवालालाई जिम्मा लगाइएको थियो । मैले दहीको ठेकी भने समातें । म विवाह स्थलमा पुगे र दही ठेकी माइतीलाई बुझाएँ । मलाई टीका लगाइयो, खाममा दक्षिणा टक्र्याइयो । हिजोको त्यो विकृति र विसङ्गति परम्परालाई आजका युवा युवतीहरूले तोडेको देख्दा मलाई पनि आनन्दको अनुभूति भयो । तापनि होटेलमा खाने र नखानेको विभाजन भने अँझै जीवितै पाएँ; मैले भने होटेलमै गएर खाएँ । मनमा तर्क उठ्यो के मेरो जात जाला त ? म ढुक्क भएँ म भत्करु भएकोले मेरो भात कसैले काढ्न सक्दैन ।
धन्यवाद
सदानन्द अभागी
कावासोती नगरपालिका –७ शान्तिचोक,
मिति २०७२ साल मंशीर ८
