“आजभोलि बालकमा पढ्नु,लेख्नु गर्नु छ
भविष्यमा गएर देशको विकास गर्नु छ,…………”
२०३४ सालमा आठ वर्षको म तीन कक्षामा पढ्थेँ । रेडियो नेपालको बाल कार्यक्रममा प्रथम पटक आफ्नो बाल कविता प्रशारण भएको सुन्न पाउँदा हर्षले उफ्रेको थिएँ म । पल्ला घरको फिलिप्स(इन्डियन) रेडियोले कार्यक्रम सञ्चालकको स्वरमा आफ्नो कविता सुनाउँदा असीम खुसीले झण्डै पागल भएको थिएँ म । सुन्नेहरूले बधाइ दिँदा अँझ थप उर्जा प्राप्त भएथ्यो । मुलुकको एक मात्र प्रशारण संस्था, रेडियो नेपालबाट त्यो बालापनमा आफ्नो नाम आउँनु चानचुने कुरै थिएन ।खुसीको बहारले भोक र निद्रा दूर भएका थिए मबाट । साहित्यिक यात्रामा प्रथम उत्प्रेरणा थियो त्यो क्षण मलाई ।
स्कुलको कविता प्रतियोगितामा ‘मातृभूमिको वेदना’ शीर्षकको कविता प्रथम हुँदा ५ कक्षाको त्यो बेला पनि म बेहद खुसी थिएँ । ८ कक्षाको नेपाली किताबमा ‘ भूतको सिकार ’ पाठ पढेपछि भूतप्रतिको जिज्ञासा बढ्यो र गोरखापत्रमा सम्पादकलाई चिठी पठाएँ । ‘ भूत हुन्छ कि हुँदैन ?’ सम्पादकलाई चिठी गोरखापत्रमा छापिएको देख्दा पनि रमाएर म नाचेको थिएँ । त्यसपछि,गोरखापत्रकै शनिवासरीय परिशिष्टाङ्कमा ‘गाउँखाने कथा’ छापिएको देख्दा पनि गोरखापत्रलाई सुम्सुम्याउँदै चुम्बन गरिरहेँ । रेडियो नेपालको गीत फर्माइस र चौतारी कार्यक्रममा आफ्नो नाम सुन्न पाउँदा पनि पहिलो पटकचाहिँ निकै मख्ख भइन्थ्यो ।
कक्षा ९मा पढ्दा २०४१ सालमा इनरूवाबाट प्रकाशित हुने ‘समाचार जगत’(साप्ताहिक)मा मेरो पहिलो कविता छापियो । शार्दूलबिक्रीडित छन्दको ‘नव वर्ष’ शीर्षकको त्यो कविता छापिएको देख्दा म पनि कविता लेख्न जान्दो रहेछु भनेर फुरुङ्गै परेँ । पहिलो सम्पादकीय स्वीकृतिमा नरमाउँने कुरै भएन । एसएलसीको नतिजा आएर प्रथम श्रेणीमा उत्तीर्ण भएकै अवसरमा २०४३ असारमा गोरखापत्रको शनिवासरीय परिशिष्टाङ्कमा प्रकाशित शार्दूलबिक्रीडित छन्दको ‘भानुप्रति’ कविताले त घनघस्याको उकालो काटेर पहाडको टुप्पामै पुगेको अनुभूति मलाई भएको थियो । रेडियो नेपालको बाल कार्यक्रममा बालकविता,अनुरोध गीतमा नाम र चौतारी कार्यक्रममा मुक्तक अघाउँजी प्रशारित भए भने गोरखापत्रमा सम्पादकलाई चिठी र गाउँखाने कथा पनि यथेष्ठ प्रकाशित भए । हाइस्कुलको विद्यार्थी कालमा गरिमा र मधुपर्कको पाठक मात्र भएँ म, लेखक हुन सकिनँ । खोटाङ जिल्लाको जिल्लास्तरीय कविता, निबन्ध र हाजिरी जवाफ प्रतियोगितामा भने कैयौँ पटक प्रथम पुरस्कार हात लागेथे ।
२०४३ सालमा आइएस्सी पढ्न धरान झरेपछि भने हात्तीसार क्याम्पसका कक्षा छाडेरै साहित्यिक गोष्ठी र सभाहरूमा खुबै धाइयो । साहित्यमा रुचि भएको मान्छेलाई विज्ञानका कक्षाहरू के रुचिकर हुन्थे र ?कुन्ता शर्मा,बम देवान,बेणु आचार्य, मानवहादुर शाक्य र राजकुमार कार्कीका ताता कविताहरूले मलाई पनि निकै तताए,जागृत गराए । नवीन सुब्बा,रमेश के.सी. स्व.विमल गुरुङ र सविता श्रेष्ठ ‘बेहोसी’लाई पनि यतिबेला म सम्झिरहेछु । आरसी,संसार र सप्तकोसी जस्ता स्थानीय साप्ताहिक पत्रिकाले आफ्ना कविता प्रकाशित गर्दा म औधी रोमाञ्चित हुन्थेँ । मधुपर्क र गरिमाको नियमित पाठक भएर सम्यक् अध्ययन गर्दै पाठक प्रतिक्रिया पठाइरहँन्थेँ,छापिइरहन्थे । त्यही पाठक प्रतिक्रिया आउँदा पनि अधिक खुसी भइन्थ्यो त्यो बेला । तिनै पाठक प्रतिक्रियाहरूले मभित्र समीक्षात्मक चेत पलाएको हो ।
दुई वर्षसम्म कविता पठाउँदा,पठाउँदा गरेपछि २०४४ साल चैतको मधुपर्कमा बल्ल मेरो पहिलो कविता आएको थियो । शार्दूलबिक्रीडित छन्दको मेरो ‘माटोको माया’ कविता मधुपर्कको आँकुरा स्तम्भमा छापियो ।फोटो र परिचयसहितको त्यो कविता छापिँदाको खुसीलाई म यहाँ कुनै शव्दमा व्यक्त गर्न असमर्थ छु । अबचाहिँ आफू साँच्चैको कवि भएको अनुभूत गरेँ । मधुपर्कको अन्तिम पानातिर प्रकाशित त्यो कवितालाई पटकपटक हेर्दै र पुलकित हुँदै सम्पादक कृष्णभक्त श्रेष्ठलाई मनमनै निकै मुरी धन्यवाद दिएँ । त्यो मधुपर्क पाएको दिन बेलुकी सीमाहीन खुसीले मलाई खाना नै रूचेन । त्यो खुसी झण्डै एक महिनासम्म मभित्र सञ्चार भइरह्यो । त्यसपछि, २०४५ पुसको मधुपर्कमा उपेन्द्रबज्रा छन्दको ‘म’ कविता आउँदा पहिलाभन्दा अलिक कम खुसी भएको कुरा अहिले पनि मलाई प्रष्टै थाहा छ ।
हात्तीसार क्याम्पस धरानमा २०४५ सालमा भएको सिसास—जेसिज कवि गोष्ठीले पनि मलाई निकै उत्साही बनायो । आफूले कविता वाचन गर्ने अवसर नपाए पनि केदारमान व्यथित,उपेन्द्र श्रेष्ठ, केशवराज पिँडाली,बेञ्जु शर्मा,मञ्जु काँचुली,सरुभक्त, गुमानसिंह चामलिङ, कुन्ता शर्मा आदिका कविता श्रवणले मलाई मनग्यै ऊर्जा प्रदान भयो । स्थापित कवि भएर भविष्यमा म पनि यसरी नै ठूला गोष्ठीहरूमा कविता सुनाउँछु भन्ने प्रण गरेँ । डराउँदै भएपनि गुमानसिंह चामलिङ र सरुभक्तसित साहित्यिक अन्तर्वार्ता लिएर पत्रिकामा छपाएँ ।कविवर व्यथित र व्यङ्ग्यकार पिँडालीसित अन्तर्वार्ता लिने मेरो आँट पुगेन,प्रयास मात्र गरेँ । पठाउँनासाथ पहिलो कविता स्वाट्टै छापिएको मेरो कविता भनेको एकेडेमीको ‘कविता’मा हो । २०४५ पुसको अङ्कमा शार्दूलबिक्रीडित छन्दको ‘शुभकामना’ कविता राजा वीरेन्द्रप्रति समर्पित थियो । चर्चित कवि भूपि शेरचन प्रधान सम्पादक रहेको ‘कविता’मा आफ्नो पहिलो कविता आउँदा मलाई निकै गौरव लागेको थियो । पछि गएर त्यो कविताको विषय–वस्तुप्रति स्वयम्मा वितृष्णा जागेर आफ्नो कविता–सङ्ग्रहमा त्यो कवितालाई समावेश पनि गरिनँ ।
२०४२ सालदेखि कविता पठाउँन थालेको ‘गरिमा’ले २०४६ साल बैशाखमा बल्ल मेरो कविता छाप्यो । मन्दाक्रान्ता छन्दको ‘नव वर्ष’ कविता ‘गरिमा’ को अग्र पृष्ठमै छापिएर आएको देख्दा भने तेञ्जिङ शेर्पाले सगरमाथा आरोहण गरेको आकारमै हर्षविभोर भएको थिएँ म ।बहुप्रतिक्षित गरिमा प्रवेशको मेरो सपना पूर्ण भएको त्यो क्षण राष्ट्रकै स्थापित कवि भएको अनुभूतिमा थिएँ म । तर आज बुझ्दा त्यो त मेरो प्रारम्भिक पाइला पो रहेछ । तर त्यतिबेला म आकाशमा उड्दो चरा नै भएको थिएँ । मेरो कवितामा चित्र पनि उडिरहेका चराहरू नै थिए । अगाडिको पहिलो पानामा मेरो कविता र त्यसको पछाडि मेरा प्रिय निबन्धकार डा. तारानाथ शर्माको निबन्ध (रिट्ठू गाई ?) । अहा ! क्या रमाइलो र आनन्ददायक त्यो सर्जकीय परिवेश । ‘ ढिलो भए पनि आखिर छोरै भयो ’–प्रा.डा. माधवप्रसाद पोखरेलल(भारतको पूनामा विद्यावारिधीरत)ले पत्र लेखेर मलाई बधाई दिनुभएको थियो ।
यसरी, छन्दका कविताले धेरै पत्रपत्रिकाहरूमा मलाई प्रवेश गराए र उत्साहित भएर म यो क्षेत्रमा अडिएँ । अतः छन्दका कविता र गोरखापत्र संस्थान मेरा लागि विशेष प्रेरणाप्रदायक भए । मधुपर्क र गरिमाले मेरा रचना (कविता,गजल,लघुकथा र निबन्ध) बेलाबखत छापिरहे । खोटाङको विकट गाउँका हुलाकबाट प्रेषित् मेरा काँचा–कचिला रचनाहरू अरु स्वनामधन्य पत्रपत्रिकाहरूले पनि प्रकाशित गरिरहे । २०५५ सालमा पहिलो कृति ‘पात्रहरू’(लघुकथा–सङ्ग्रह) निकाल्दा पनि मेरो खुसीको पारो बढेको थियो । २०५६मा ‘छरिएका कविता’ र २०६४मा ‘बालपोष’(बालकविता–सङ्ग्रह)मैले आफ्ना दोस्रो र तेस्रो सन्तान जन्माउँदाको खुसीयाली पनि भव्य नै थिए । अरू सन्तान जन्माउँने तीब्र मोह पालेर अहिले म भोकले छटपटाइरहेको अवस्था छ । आर्थिक अभाव र मेरो अल्छेपन तगारा भएर मेरा अगाडि खडा छन् ।
एकेडेमीको ‘समकालीन साहित्य’मा रचना छपाउँने मेरो अधुरो सपना पूरा भएन । केही लघुकथा र निबन्ध पठाउँदा ‘समकालीन साहित्य’ले मलाई पत्याएन । आफू आख्यानमा कम कलम चलाउँने मान्छे ।अविनाश र भाउपन्थीले मलाई त्यो ढोका खोलिदिनु भएन । एक किसिमको पीडाबोध भयो मलाई । यसले मेरो छाप्दैन भन्दै धेरै वर्ष कुनै रचना पठाइनँ मैले ।सम्पादक मण्डलकै एकजना शुभेच्छुक मित्रले फोनमा मलाई भन्नु भो –‘समकालीन साहित्यलाई राम्रा लघुकथा पठाउँनुस् !’ आशङ्काको दोधारे मनस्थितिमा केही लघुकथा पठाएँ । नभन्दै, ‘समकालीन साहित्य’ को पूर्णाङ्क–७२ (मङ्सिर–माघ २०७१)मा मेरो लघुकथा छापिएछ । दीर्घ प्रतीक्षाको प्राप्ति अनमोल र सुखद हुँदो रहेछ । यो उमेरमा आएर त्यो पत्रिकामा स्थान(सानै भए पनि) पाउँदा आफ्नो धोको पूरा भएको अनुभूति भयो ।
ऐरावती र आठराई प्रकाशनका बोर्डिङका नेपाली पाठ्यपुस्तकमा आफ्ना बालकविता रहनुले पनि बालकवितामा मलाई थप ऊर्जा प्रदान गरेका छन् । वाणी प्रकाशन, प्रहरी प्रधान कार्यालय र रावासावा प्राज्ञिक समाज आदिका पुरस्कार र सम्मानले पनि मेरो साहित्यिक यात्राको कदर गरेकोमा आनन्दानुभूति भइरहन्छ । विकट पहाडी जिल्लाको दुर्गम गाउँमा बस्दो यो बबुरो कलमले योभन्दा बढी मसी खोज्नु पनि अस्वाभाविक जस्तै लाग्छ । पहिले धेरै लेखिन्थ्यो तर छाप्न गाह्रो हुन्थ्यो । अहिले फुटकर रचना छाप्न केही सहज भएको अवस्थामा लेखन साह्रै न्यून छ । आक्कल–झुक्कल फुटकर रचना पत्रिकाहरूमा छापिन्छन् ।२–३ वर्षमा राजधानी गएको बेला बाटो खर्च(पारिश्रमिक) पनि थोरबहुत पाइन्छ । सानोतिनो भएपनि लेखकीय पहिचान बनेकोमा यतातिर समय लगानी गरेर ठिकै पो गरिएछ जस्तो पनि लाग्छ,आज ।
रामविक्रम थापा
लामीडाँडा स्रोतकेन्द्र, खोटाङ
मो.नं. ९७५३००४३६०
